बढ्दो उत्पादन लागतका कारण व्यवसायमा नाफा कम हुँदै गएपछि पाल्पाका रैथाने उत्पादनमा कमी आएको छ ।
तानसेन । २०४१ सालतिर तानसेन १ ध्रुवघाटका हरिकृष्ण कार्कीले ढाका कपडा उद्योग खोलेका थिए । पाँच बर्षमै उनको कार्की धागो कपडा उद्योगले फड्को मा¥यो । ढाकाको कपडा बुन्न ५६ वटा तान टाँगेका थिए । दुई सय कामदारले काम गर्थे । तर अहिले उनको उद्योगमा कपडा बन्ने तानको आवाज बज्न छाडेको छ । उद्योग सात वटा तानमा सिमित भएको छ । कामदार पनि सात जना मात्रै छन् । कार्की भन्छन्, ‘ति पनि कहिले आउँछन्, कहिले आउँदैनन् । यहाँको ढाका उद्योग त सकिनै आट्यो ।’
परम्परागत प्रविधि र रैथाने सीपको प्रयोग गरी मौलिक उत्पादन गर्ने थलोको रुपमा चिनिएको जिल्ला हो, पाल्पा । ढाका मात्रै होइन, राणाकालमा प्रशासनिक केन्द्र हुँदादेखि नै पाल्पाली बजारमा मौलिक प्रविधिको प्रयोगबाट उत्पादित काँसको करुवा, माटोको भाँडा र फलामका औजारहरु बेचिन्थे । तर पुस्ताण्तरण नहुँदा यस्ता प्रविधि र ज्ञान हराउँदै गएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यमविकास सहजकर्ता मनोज घिमिरे बताउँछन् । उनी भन्छन्, ‘पाल्पामा कुुनैबेला जीविकोपार्जनका लागि नभई नहुने रैथाने प्रविधि अहिले देखिन छाडेका छन् । एउटा पुस्ताबाट अर्को पुस्तामा प्रविधि र सीपको पुस्तान्तरण नहुँदा यस्तो भएको हो ।’
त्यसरी हराउँदै गएको रैथाने प्रविधिमध्येको एक ढाका उद्योग हो । उद्योगी हरिकृष्ण कार्कीका अनुसार पाल्पामा २०६२ सालसम्म ढाका उद्योगको रौनक निकै थियो । घरमै काठबाट बनाउन सकिने हाते तानमा ढाका बुनिन्थ्यो । कामदारहरु मनग्गे पाइन्थे । लागतअनुसारको आम्दानी पनि पाइन्थ्यो । उनी भन्छन्, ‘पाल्पाको ढाका उद्योग बुटवलसम्म विस्तार भएको थियो । पाल्पामै ३०÷३५ वटा उद्योग थपिएका थिए ।’
तर २० बर्षयता पाल्पामा ढाकाको तान चलाउन जान्ने मान्छे पाइन छाडेका छन् । तान बनाउन जान्ने मान्छे भारतबाट ल्याउनुपर्छ । धागो पनि भारतबाटै ल्याउनुपर्छ । २०६४ सालदेखि बुटवल धागो कारखानाले बन्द भएपछि सस्तो र गुणस्तरीय धागो पाइन छाडेको छ । त्यतिमात्रै कहाँ हो र ! वनले साल र सिसौ काट्न नदिने भएकाले तान बनाउन चाहिने काठ पनि भारतबाट नै ल्याउनुपर्छ । उद्योगी कार्की भन्छन्, ‘सबै कुरा उतैबाट ल्याएर ढाका बनाएर बेच्ने बेलासम्म महँगो हुन जान्छ । अनि बेच्न समस्या हुन्छ ।’
पाल्पाका पुराना पत्रकार कर्णबहादुर कार्कीका अनुसार जेलमा कैदीबन्दीलाई उत्पादनमूलक काममा लगाउने योजनाअनुसार पाल्पामा पहिलो पटक ढाका बुन्ने तान भित्रिएको थियो । उनका भनाईमा पाल्पा जेलमा रहेका कैदीबन्दीलाई खाली नराख्ने, ढाकाको काम सिकाउने भनेर काठमाडौंंबाट शुब्बा गणेशमान महर्जनलाई झिकाइयो । महर्जनले जेलमा तान राखेर कैदीबन्दीको श्रम प्रयोग गरी ढाका उत्पादन गरेर बेच्न थाले । ‘पछि सेवानिवृत्त भएपछि महर्जनले आफैंले पाल्पामा ढाका उद्योग खोले । पाल्पामा ढाका उद्योगको सुरुआत यसरी भएको थियो,’ पत्रकार कार्की भन्छन् ।
घरेलु तथा साना उद्योग कार्यालय, पाल्पाको तथ्याङ्क अनुसार पाल्पामा २० वटा ढाका उद्योग छन् । तीमध्ये अधिकांशले परम्परागत प्रविधि गर्दैनन् । कार्यालयका अधिकृत थम्मन सारुका अनुसार पाल्पामा ढाका उद्योगको अवस्था धेरै नाजुक छ । परम्परागत प्रविधिअनुसार उत्पादन भएको ढाकाको लागत धेरै लाग्ने, कामदार नपाइने भएकाले ढाका उद्योग आधुनिकतातर्फ गइरहेको छ । काठको म्यानुअल तानलाई फलामका विद्युतीय तानले विथापन गर्दै छन् । धागो होइन, ढाकाको कपडा नै आयात हुन थालेको छ । उनी भन्छन्, ‘ढाकाबजार अहिले भारत र चीनबाट आएका ढाकाले लिइरहेका छन् । ट्रकले विहान ढाकाको कपडाको ठूला ठूला भारी लिएर आउँछन् । व्यापारीले त्यसलाई पाल्पामा उत्पादन भएको भनेर बेच्छन् ।’
पत्रकार कार्की पनि पाल्पाली ढाका भनेर बेचिने कपडाहरु अधिकांश नक्कली भएको दावी गर्छन्, ‘पाल्पाली ढाका भनेर बेचिने ९० प्रतिशत ढाका पाल्पाको होइन, कि पूर्वेली ढाका हो कि भारतीय हो ।’
पाल्पाली ढाका संघकी अध्यक्ष पुर्णमाया महर्जनका अनुसार पाल्पामा ढाका उद्योग खस्कनुको मूख्य कारण रैथाने उत्पादनको लागत बढ्नु र भारतबाट आयात हुनु हो । ‘धागोको भाउ बढेको छ । सस्तोमा कामदारहरु पनि पाइँदैनन् । त्यसैले हातले बुनेका ढाकाको मूल्य धेरै पर्न जान्छ । बजारमा आयात गरिएका ढाकाहरु सस्तोमा पाउन थालेका छन् । हाम्रो ढाका कसले किन्ने ?’ उनी भन्छिन् ।
रैथाने प्रविधिप्रति घट्दो आकर्षण
ढाका उद्योगको मात्रै होइन, पाल्पामा परम्परागत प्रविधिको प्रयोग हुने कांशको करुवा र माटोको भाँडा उद्योगको अवस्था पनि उसैगरी धरसायी बन्दै गएको छ ।
१९ औँ शताब्दीको उत्तरार्धमा नेपाल खाल्डोबाट पाल्पा आएका राणाहरुले भक्तपुरका सिपालु नेवारहरुलाई आफूसँगसँगै ल्याएका थिए । त्यसमध्येका एक थिए, प्रदीप बज्राचार्यका हजुरवुजा । पाल्पा टक्सारमा आएर करुवा बनाउने पुख्र्यौली पेसालाई निरन्तरता दिए । अहिले प्रदीप र उनकी पत्नी सपना बज्राचार्य पुख्र्यौली पेसालाई निरन्तरता दिने अन्तिम पुस्ता हुन् । पाल्पाली करुवा उद्योगका प्रोप्राइटर प्रदीप भन्छन्, ‘छोराले अब विदेश जाने सोच बनाएको छ । विदेश गएन भनेपनि साइकल पसल चलाउने भनेर मनस्थिती बनाइसकेको छ । बा, अब यो दुखको काम कसले गर्छ भनेर सुनाउँछ ।’
करुवा बनाउन सजितो त कहाँ छ र ! प्रदीपका अनुसार तामा र राङ मिलाएर बनाइन एउटा करुवा बनाउन एक महिना लाग्छ । मैनमार्फत् फर्मा बनाउने, तामा र राङलाई भट्टीमा पगाल्न अधिक श्रम लाग्छ । ‘त्यसपछि फर्माअनुसारको आकार दिन घंटौं समय लाग्छ । नयाँ पुस्ताले त्यो झन्झट लिन चाहँदैनन् ।’
त्यसैगरी, पाल्पा चिलाङ्दीमा नयाँ पुस्ताले सीप नसिकेकै कारण माटोको भाँडा उद्योग नै सकिएको छ । उद्योग चलाइरहेका कुमाल समुदाय वैकल्पिक आयआर्जनतिर लागिसकेकाले एउटा उद्योग पनि अस्तित्वमा छैन ।
घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत सारुका अनुसार यस्ता परम्परागत रैथाने प्रविधिलाई जोगाउँदै त्यसको व्यवसायिकरण गर्न भनेर सरकारले अनुदानका कार्यक्रम ल्याएको छ । तर त्यो अनुदान रकम खर्च हुन सकेको छैन । त्यसको कारण यस्ता उद्योगमा नयाँ पुस्ताको आकर्षण नहुनु हो । उनी भन्छन्, ‘लागत धेरै पर्ने, बजारमा महँगो पर्ने र नाफा कम हुने भएपछि पछिल्लो पूस्तामा आकर्षण देखिएको छैन ।’




