बुटवल । बुटवल उपमहानगरपालिका ८ मा रहेको क्यानन माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रबाट स्मार्ट बोर्ड मार्फत शिक्षण सिकाई हुने भएको छ । कक्षा २ देखी १२ सम्मका कक्षाहरूमा स्मार्ट बोर्ड मार्फत अध्ययन शुभारम्भ भएको विद्यालयका प्राचार्य शंकर भण्डारीले जानकारी दिए ।
यसैबिच चालू शैक्षिक सत्र देखि सुरु भएको यसको अध्ययनको लागि प्रभावकारी ढंगले प्रयोग गर्न शिक्षकहरूलाई अभिमुखीकरण प्रदान गरिएको छ । शनिवार विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै विद्यालयमा अध्यापन गराइरहेका ६० जना शिक्षकहरूलाई अभिमुखीकरण सहित प्रशिक्षण प्रदान गरिएको उनले जानकारी दिए ।
अभिमुखीकरणमा बोल्दै प्राचार्य भण्डारीले प्रोजेक्टरमा अध्ययन गर्ने समय सकिएको बताउँदै पढाउँदै गर्दा पनि विषयवस्तु तयार गरेर सिकाउने समय आएकोले स्मार्ट बोर्ड राखिएको जानकारी दिए ।
स्मार्ट बोर्ड थपिए पनि थप शुल्क नलिने प्राचार्य भण्डारीले प्रस्ट पारे । उनले आईसिटिको पहिले देखी नै लिँदै आएको शुल्क निरन्तर रहेको बताउँदै सिस्टम अपग्रेड गर्दैमा क्याननले अतिरिक्त शुल्क नलिने बताए । उनले क्याननले स्पोर्ट्स म्युजिक लगायतमा क्षेत्रहरूमा पनि अतिरिक्त शुल्क नलिएको बताए ।
स्मार्ट आइटी सोलुसनका लेखनाथ पन्तले सहजीकरण गरेका थिए । उनले स्मार्ट बोर्डमा गर्न सकिने कामहरूको बारेमा जानकारी गराएका थिए ।
विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक मीनराज गिरिले विद्यालयमा प्ले ग्रुप देखी कक्षा १२ सम्म ११ सय बिद्यार्थीहरु अध्ययनरत रहेको उल्लेख गरे । उनले सुनेको कुरा भन्दा देखेको कुरा दीर्घकालीन हुने भएकोले विद्यालयले स्मार्ट बोर्ड ल्याएको उल्लेख गरे ।




