भैरहवा ।शनिबार मर्चवारमा तस्करहरुले भन्सारको गस्तीटोलीलाई घेरामा लिई गाडीसहितको तस्करीको सामान भगाएका छन ।
पछिल्लो समय रुपन्देहीको मर्चवार त्रिलोकपुर नाका सबै तस्करहरुको रोजाईको रही नियमित रुपमा दिनरात गाडीमै तस्करी हुने गरेको थियो ।
प्याज, मटर र स्टीम चामल मुख्यरुपमा पिकअपमार्फत नै यो नाकाबाट मुख्यतया तस्करी हुने गरेको छ । भन्सार टोलीले विभिन्न माध्यमबाट सूचनाको आधारमा यो नाकासहित मर्चवारबाट भित्रिएका तस्करका सामान समाउदै आएको थियो ।
भारतीय बजारबाट नजिकै र नेपालमा पनि सहजै केही क्षण्मै गनतव्यमा पुर्याउन सक्ने भएकोले नै तस्करहरु यस्को फाइदा उठाउदै तस्करी गरिरहेका थिए ।
भन्सारले सूचनालाई नै आधार बनाई पटक पटक गाडी सहितको सामान विभिन्न ठाउबाट बरामद गर्दै आएपनि शनिबार पुष्ट सूचनाकै आधारमा त्रिलोकपुर नाकाबाट भित्रिएको सेतो मिनिट्रक पिकअप गाडीसहितको मटर आउदै गरेको सूचना पाएलगतै भन्सारको गस्ती टोली मर्चवार पुगेको थियो ।
सधै सरकारी गाडीमा भन्सारबाट गस्ती टोली निस्कने बेलामै तस्करहरुसँग सूचना चुहावट हुने गरेकोमा भन्सारको टोली शनिबार भारतिय गाडीको प्रयोग गर्दै मर्चवार हानिएको थियो । गस्ती टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारको कर्मचारी रहेका थिए, सूचनाको आधारमा त्यो टोलीले गाडीको खोजी गर्न थालेपछि तस्करहरुले यस्को सुइको पाइसकेका थिए ।
तस्करहरुले भन्सारको गस्ती टोलीले सामानसहितको गाडी खोज्दै छ भन्ने खबर पाएपछि केही बेर त्यो गाडी तस्करहरुले लुकाएर राखेका थिए । भन्सारको टोलीले सामान नपाएपछि फर्किरहेको अवस्थामा तस्करहरुले त्यो गाडीपुनः बनगाई तर्फ पठाउदै गर्दा भन्सार टोलीलाई सूचना पुगेको थियो ।
भन्सार टोलीले नफर्किदै मर्चवार तर्फ फेरी जान लाग्दा उक्त तस्करीको गाडी गैरगट्टी-मकरी क्षेत्रमा फेला पर्यो । भन्सार टोलीले त्यो गाडी नियन्त्रणमा लिन खोज्दा तस्करहरुको समूहले टोलीलाईे घेरा तस्करीको गाडी भगाए ।
स्रोतका अनुसार सबै तस्करहरु एक भई गस्ती टोलीमाथि घेरा हाली आक्रमणको प्रयास गरेका थिए । सिमित साधान र स्रोतका साथ पुगेको गस्ती टोली गाडी फेला नपरेपछि फर्केको थियो ।
भन्सारको गाडि गाउं पसेको सुचना पाउने र तस्कर भाग्ने आशंकामा भारतीय नम्बर प्लेटको गाडि प्रयोग गरेर भन्सारको मर्चवार पुगेकोे भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए ।
“सुचना नचुहियोस् भनेर हामीले भन्सारको सरकारी नम्बर प्लेटको गाडि समेत प्रयोग नगरी त्यहां पुगेका थियौं । तर हाम्रो गाडि देख्नासाथ तस्करहरु जम्मा भएर हामीमाथि प्रहार गर्न थाले सुरक्षाको कारणले कुनै मुडभेड नहोस् भनेर हामी त्यहांबाट निस्किन उचित ठानौं भन्सार प्रमुख गौतमले भने । ” मिसन हाम्रो जारी छ , कहिलेकांही असफल भएपनि तस्करलाई दवावमा राखिरहेका भन्सार प्रमुख गौतमले भने ।
घटना भएपछि भन्सार टोली फर्केपनि त्यो गाडीको तिब्रताका साथ खोजी भइरहेको छ । हालसम्म त्यो गाडी फेला नपरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रंजितसिंह राठौरले बताए ।
स्रोतका अनुसार उक्त तस्करीको सामान विरबहादुर जयसवाल नेतृत्वसमूहको रहेको थियो, प्याजको तस्करीबाट लाखौ रकम भागमा पाएको त्यो समूह अहिले स्टीम चामल र मटरको व्यापक तस्करी गराइरहेको छ । १२-१८ लाख लाइन बाडेको उनीहरुले खुलेआम निर्धक्क तस्करी गराइरहेका छन । शनिबारको घटना पनि सोही समूह मातहत रहेको टोलीहरुले गरेका हुन ।




