बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरु फेरि आन्दोलित भएका छन् । उक्त सहकारीमा एक अर्ब बढी रकम जम्मा गरेका झण्डै दुई हजार वचतकर्ताहरू वचत फिर्ता र दोषीमाथि कारवाहीको माग गर्दै बुटवलबाट बसमा चढेर प्रदेश राजधानी दाङ पुगेर मुख्यमन्त्री कार्यालय सहित विभागीय मन्त्रालयमा ज्ञापनपत्र बुझाउंदै मन्त्रालय घेराउ र नाराबाजी गरेका छन् ।
उक्त सहकारीमा वचत रकम डुब्नेमा सार्वजनिक शौचालय सफा गर्ने, हातमा फलफूल लिएर बसमा चढेर बेच्ने, ठेलामा व्यवसाय गर्ने, साना तथा मझौला व्यवसाय गर्नेहरु छन् । दुख गरेर कमाएको रकम वचत होला र घर चलाउन सहज होला भनेर सहकारीमा जम्मा गरेको तर उल्टै डुबेपछि वचतकर्ताहरु आर्थिक समस्यामा फसेका छन् । रकम डुबेपछि कतिपयको घरबार बिग्रने अवस्था छ भने कतिपय डिपे्रसनको शिकार बनेका छन् ।
उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा ज्ञापनपत्र बुझाउनुका साथै ती मन्त्रालय र कार्यालय घेराउ र नाराबाजी गरेका छन् । सहकारीका वचतकर्ताहरु यसअघि बैशाखमा पनि आन्दोलनमा उत्रिएका थिए ।
‘बैशाखदेखि हामी आन्दोलनमै थियौं,हाम्रो वचत फिर्ताको लागि राजनीतिक दल, सांसद र मन्त्रीहरुलाई पनि जानकारी गरायौं, तर कुनै सुनुवाई नभएपछि फेरि आन्दोलनमा उत्रिन वाध्य भयौं’–संघर्ष समितिका संयोजक विजय नेपालले भने–‘अब हामी वचत फिर्ताको सुनिश्चित नभएसम्म चरणवद्ध आन्दोलन गर्छौं ।’
संयोजक नेपालका अनुसार सुप्रिम सहकारीमा एउटै व्यक्तिको तीन करोड सम्म वचत छ ।
अर्की पीडित चिना थापाले छोरालाई विदेश पठाउने उद्देश्यले व्यवसाय धितो राखेर लिएको ऋण र बैंकमा भएको रकम निकालेर ४५ लाख जम्मा गरेको रकम डुब्दा छोराको भविष्य अन्योलमा परेको र आफू डिप्रेसनको शिकार भएको गुनासो गरिन् ।
मुख्य राजनीतिक दल र तिनका नेताहरु प्रतिपक्षमा हुंदा सहकारी पीडितका पक्षमा चर्का कुरा गर्ने तर सरकारमा गएपछि चुप लाग्ने परिपाटीले आफूहरु डुबेको रकम फिर्ता हुनेमा ढुक्क हुन नसकेको थापाले बताइन् ।
एमाले र कांग्रेसको सरकार बनेपछि सहकारी पीडितको पक्षमा आवाज उठ्न छाडेको उनको दुखेसो छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सहकारीका १८ सय ३१ जनाले आफूहरुको ८६ करोड १८ लाख २३ हजार अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । अरु ठूलो संख्याका साना वचतकर्ताले उजुरी दिएका छैनन् ।
सहकारीका १९ हजार ३५ जना सदस्यको कूल वचत रकम एक अर्ब २ करोड १४ लाख २ सय ५३ रुपैयां देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टले जानकारी दिए ।
सहकारीको रकम विभिन्न व्यक्ति र कम्पनीका नाममा पठाउने मुख्य आरोपी पुर्व अध्यक्ष जीबी राई र बुटवलस्थित मुख्य कार्यालयका व्यवस्थापक सागर केसी सहित १९ जना फरार छन् । राई समूहले सहकारीको १४ करोड भन्दा धेरै रकम गोरखा मिडिया नेटवर्कमा लगानी गरेको अभियोग पत्रमा उल्लेख छ ।
भूपेन्द्र बाबु राईको नाममा कर्जा बनाएर ३ करोड ३० लाख सो मिडियाको नामको पेस्की सेटल गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । भूपेन्द्रभन्दा बाहेक थप १० लाख ९९ लाख ३६ हजार सहित कुल १४ करोड २९ लाख रकम सो मिडियामा लगानी गरेको देखिएको जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ । सरकारी वकिल कार्यालयले सहकारी को रकम हिनामिना गरेको आरोपमा २८ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।
सो सहकारीबाट विभिन्न व्यक्ति र कम्पनीहरूको नाममा सहकारी ऐन विपरित करोडौैं रकम ऋण लगानी भएको छ । त्यो रकम नउठेपछि सहकारी डुबेको हो । बिनाधितोको ऋण लैजानेमा संस्थापक अध्यक्ष जीबी राईदेखि पुर्व गृहमन्त्री रवि लामिछाने आवद्ध भएको (पछि छाडेका) गोर्खा मिडिया नेटवर्क समेत छ । प्रहरीको प्रतिवेदनमा गृहमन्त्री रवि लामिछानेको नाममा पनि रकम ऋण लगानी भएको कागजपत्रमा देखिएको छ । प्रहरीले लामिछानेलाई भने प्रतिवादी बनाएको छैन । लामिछानेले आफूले ऋण माग नगरेको, कतै हस्ताक्षर पनि नगरेको तर्क गर्दै आइरहेका छन् ।
सहकारीका अध्यक्ष बुटवलका ओमप्रकाश गुरुङ थुनामा छन् । अन्य ६ जनालाई जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश गरे अनुसार रिहा भएका छन् । पूर्वपदाधिकारी दीपेश पुन चार लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । अर्का प्रतिवादी नवीन अछामी १० लाख, भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं पाण्डे १८ लाख, नीता थापामगर २ लाख, दीपक न्यौपाने ४ लाख ४५ हजार र रोशनी गुरुङ २ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
रकम हिनामिना भएको भन्दै बचतकर्ताले उजुरी गरेपछि प्रहरीले गत फागुन ३ गते सुप्रिम सहकारीका अध्यक्ष गुरुङ र भैरहवा शाखा व्यवस्थापक चापागाईंलाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय बुटवलले करिब दुई महिना लामो अनुसन्धानपछि गत वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
रकम हिनामिना भएको भन्दै बचतकर्ताले उजुरी गरेपछि प्रहरीले गत फागुन ३ गते सुप्रिम सहकारीका अध्यक्ष गुरुङ र भैरहवा शाखा व्यवस्थापक चापागाईंलाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय बुटवलले करिब दुई महिना लामो अनुसन्धानपछि गत वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
‘वित्तीय साक्षरताको अभाव’
वचत रकम डुब्नेमा सार्वजनिक शौचालय सफा गर्ने, हातमा फलफूल लिएर बसमा चढेर बेच्ने, ठेलामा व्यवसाय गर्ने, साना तथा मझौला व्यवसाय गर्नेहरु धेरै छन् । दैनिक श्रम नगरी घरको गुजारा नटर्ने भएकाले काम छोडेर आफू ठगिएको विषयमा प्रहरीमा उजुरी समेत दिन गएका छैनन् । १९ हजार बढी बचतकर्तामा १८ सय ३१ जनाको मात्र उजुरी परेकोले सहकारीका वहुसंख्यक साना वचतकर्तालाई वित्तीय साक्षरताको अभाव खड्केको देखिन्छ ।




