बुटवल । बुटवल–११ कालिकानगरमा रहेको इन्टलेक्च्युअल एकेडेमीले सचेतनामूलक गीत सार्वजनिक गरेको छ । गीतमा विद्यार्थीहरुलाई पढाइसँगै घरको काम पनि सिकाउनु पर्नेलगायतका विषयवस्तुहरु समेटिएको छ । यस्तै विद्यार्थीहरुले गृहकार्य गर्दा अभिभावक पनि सँगै बस्नु पर्ने र विद्यार्थीले गृहकार्य गर्दा मोबाइल फोनको प्रयोग गर्न नहुने विषयलाई पनि देखाइएको छ । सो गीत सार्वजनिक कार्यक्रममा बोल्दै संचालक समितिका अध्यक्ष गोविन्दप्रसाद मरासीनीले गीतले अभिभावकहरुले के–के गर्नुपर्छ भन्ने विषयमा स्पष्ट पारेको बताए ।
यस्तै विद्यालयका संस्थापक अध्यक्ष डा. कृष्ण खरेलले गीतमा तीजको भाका रहेता पनि तीज गीत भने नरहेको बताए । पछिल्लो सयमका गीतहरु परिवार सबैसँगै बसेर हेर्न र सुन्न सक्ने खालका नभएको बताउँदै यस्ता गीतहरुले विद्यार्थीहरुको मनोविज्ञानमा असर गर्ने बताए । विद्यालयका प्रबन्ध निर्देशक रामराज पोखरेलले इन्टलेक्च्युअल १४ वर्ष अघि स्थापना भएको बताउँदै सुरुदेखि नै आफुहरुले फरक कार्य गर्दै आइरहेको बताए ।
विद्यालयले विद्यार्थीहरुलाई किताबी ज्ञान घोकाएर मात्रै हुन्छ भन्ने पक्षमा नरहेको बताउँदै उनले आफुहरु व्यवहारिक सिकाईमा पनि विशेष ध्यान दिएर शिक्षण सिकाई क्रियाकलापहरु गरिरहेको बताए । सो गीतको परिकल्पनाकारमा विद्यालयका प्रबन्ध निर्देशक रामराज पोखरेल र कोर्डिनेटर माया पौडेलले गरेका हुन् । गीतमा स्वर पुष्पा ज्ञावली, माया पौडेल र विना आचार्यको रहेको छ भने गीतकोे शब्द ज्ञवाली, पौडेल र मेघराज पोखरेलले गरेका हुन् । गितको कोरियोग्राफर शिक्षिका नविना पाण्डेले गरेकी हुन् ।




