बुटवल । नोटको सही प्रयोगबारे सचेतना जगाउने गरि एम्स कलेज र स्कलर्स होम बोर्डिङ स्कुलले नोट सचेतना कार्यक्रम गरेको छ । नेपाल राष्ट्र बैक भैरहवाको सहयोगमा कलेज र स्कूलका विद्यार्थीहरुले सिद्धबाबा धाम मन्दिर पाल्पा, स्वामीनारायण मुक्तिनाथ धाम नयागाउ, श्रृगेश्वर धाम मन्दिर तिलोत्तमा र सैनामैनाको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ बोलबम धाम मन्दिरमा पुगेका दर्शनार्थी भक्तजनहरुलाई नोट सुरक्षाबारे बुझाए ।
कलेजका बिबिएस र प्लस टु मा अध्ययरत ६५ जना विद्यार्थीहरु चार समुह बनाएर मन्दिरमा पुगेर नोट राष्ट्रको सम्पति, नोटको हिफाजत गरौं,नोटलाई पानीमा नडुवाऔ, नोटमा अबिर नलगाऔं, नोटमा केरमेट नगरौं लगायतका विषयमा भक्तजनहरुलाई जानकारी गराएका थिए । विद्यार्थीहरुले नोट छपाईमा लाग्ने लागत कम गरौ, नया अथवा सुकिला दुबै किसिमका नोटको मुल्य एउटै हुने भएकाले सकेसम्म सुकिला नोटको प्रयोग गरौ, पुजाआजा गर्दा रंग लागेका हातले नोट नछोऔ, नोटको हिफाजत आफुले पनि गरौ, अरुलाई सिकाऔ लगायतका नारा लेखिएका प्ले कार्डमार्फत जनचेतना फैलाएका विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले बताए ।
नेपाल राष्ट्र बैक भैरहवा शाखाका निर्देशक विज्ञान सुवेदीले नोटको हिफाजत सबैको दायित्व भएको बताए । प्रत्येक वर्ष नया नोट छाप्न लाग्ने ठुलो रकम रोक्न पनि आम नागरिकमा सचेतना जगाउन जरुरी रहेको उनले बताए । सरसामान किनमेल गर्दा क्युआर, मोबाईल बैकिङ जस्ता डिजिटल माध्यमको प्रयोग गरेमा नक्कली नोटको जोखिमबाट बच्न सकिने उनको तर्क छ । मुुलुकी अपराध संहिता, २०७४ को दफा २६३ मा नोटमा लेख्ने, कोर्ने, च्यात्ने, वा जलाउने कसुर गर्ने वा गराउने ब्यक्तिलाई तीन महिनासम्म कैद र पाच हजार रुपैयासम्म जरिवाना हुने प्रावधान रहेको उनले बताए ।
कलेजका प्रमुख दिपक ढकालले ब्यवस्थापन विषय अध्यापनमा आफनो पहिचान बनाएको कलेज निरन्तर किताबी ज्ञानसंगै ब्यवहारिक ज्ञानमा जोड दिदै आएको दाबी गरे ।
राष्ट्र बैंकका अनुसार नोट छपाइका लागि हरेक वर्ष औसतमा करिब साढे २ अर्ब खर्च हुने गरेको छ । यो बाध्यताले राज्यलाई वर्षको ५० करोडको नोक्सानी भइरहेको छ ।




