बुटवल । बुटवल उपमहानगरपालिकामा रहेको बुटवल टेक्निकल कलेज बिटिआईमा काठमाडौँ विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा सञ्चालन हुँदै स्नातक अध्ययन सुरु गर्नको लागि प्रारम्भिक छलफल सुरु भएको छ ।
अर्थ मन्त्रालय काठमाण्डौमा अर्थमन्त्री विष्णु पौडेल सहितको टोलीले बिटिआईलाई काठमाडौँ बिश्वबिद्यालयको इन्जिनियरिङ तर्फको आङ्गिक क्याम्पस बनाउने गरि छलफल भएको बिटिआईका अध्यक्ष एवं बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।
उनले आज अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहित पूर्व मन्त्री हरि पाण्डेय, काठमाडौँ विश्वविद्यालय उपकुलपति डा. भोला थापा सहित आवश्यक छलफल भएको बताउँदै पहिलो पटक दुई तर्फी समिति बस्दै छलफल भएको र छलफलबाट आफू उत्साहित भएको बताए ।
छलफलका क्रममा काठमाडौँ विश्वविद्यालय उपकुलपति डा. भोला थापा आङ्गिक क्याम्पसको रूपमा बिटिआईलाई दिन सकारात्मक रहेको बताउँदै उनले छलफलले बिटिआईलाई आगामी दिनमा नयाँ ढङ्गबाट अगाडि बढ्ने विश्वास लिएको प्रतिक्रिया दिएका छन् ।
उनले यो विषय छलफलकै क्रममा रहेको बताउँदै सबैको सहयोगले सार्थकता पाउनेमा आफू आशावादी रहेको बताए । उनले बुटवलमा शिक्षा र प्रविधिको क्षेत्रमा एक अध्याय थपिने आफूले विश्वास लिएको बताए ।




