बुटवल । सडकमा साँढे आतंक । गौशालामा गाई । साउन २४ गते सडकमा छाडेको साँढेले रेसुङ्गा नगरपालिका—४ अर्खलेकी ४५ वर्षीया सीता पाण्डेको निधन भएपछि गौशालामा साँढे किन नराखेको भन्ने प्रश्न उठेको छ ।
केही वर्षदेखि बुटवल पुल्चोकमा खाजा पसल चलाएर बालबच्चा हुर्काउँदै आएकी सीता २२ गते साँझ दूध किन्न पसल जाँदै थिइन्,दुई साँढे जुधिरहेका थिए, त्यही बेला किनारा लाग्दालाग्दै साँढेले कुल्चे पछि गंभीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गर्दागर्दै तीन दिनपछि निधन भयो ।
बुटवल उपमहानगरपालिकाले चलाएको गौशालामा ४ सय गाई पुग्दा साँढे जति सडकमा छन् । उपमहानगरपालिकाका पशु प्राविधिक झविन्द्र बञ्जाडेका अनुसार साँढे नियन्त्रणमा लिन र गौशालामा राख्न समस्या भएको छ ।
बुटवलमा छाडा चौपायाको आक्रमणमा पर्ने सीता मात्रै एक होइनन् ।
मोटरसाइकल र स्कुटी चलाइरहेका उनीहरुको आक्रमणमा पर्दा वा उनीहरुबाट जोगिन खोज्दा दुर्घटनामा परेका छन् । छाडा चौपायाको आक्रमणबाट घाईते भएका र मृत्यु भएकाको रेकर्ड प्रहरी कहाँ छैन् ।
पत्रकार मधुसुदन पन्थीले दस वर्र्ष अघि आमा गुमाए । आमाको घर्कदो उमेरमा कुनै रोग थिएन् । सबै कुराले ठिकठाक आमा धेरै वर्ष बाँच्नुहुन्छ भन्ने लाग्थ्यो । बुटवल-८ सुख्खानगर घर अगाडि बाटोमा हिड्दै गरेकी आमालाई छाडा गाईले हान्यो, घाइते भएकी आमाको यहाँ उपचार हुन नसकेपछि काठमाडौं पुर्याइयो । त्यहाँ उपचार भयो, निको भएन् ।
तीन वर्ष अघि कालिकानगरमा मोटरसाइकल चलाइरहेका एक युवालाई छाडा गाईले हान्यो । घाइते ती युवालाई काठमाडौं पुर्याएर उपचार भयो । छाडा गाईवस्तुको जोखिम बुटवलमा बढिरहेको छ । पैदलयात्री र दुई पाङ्ग्रे चलाउनेले ज्यान जोगाउन हम्मे हम्मे भएको छ ।
छाडा गाईवस्तुले सडकमा यातायातका साधन कुदाइरहेका र सडकमा पैदल हिड्दै गरेकालाई हानेर घाईते बनाइरहँदा समाधानको ठोस कार्ययोजना नबन्नु नागरिकप्रतिको गैरजिम्मेवारी हो । घाइते र मृत्यु भएका नागरिकको बारेमा न कुनै निकायमा तथ्याङ्क उपलब्ध छ । न त प्रभावित व्यक्तिको कुनै उजुरी । संवैधानिक प्रबन्ध अनुसार छाडा गाईवस्तु व्यवस्थापन गर्ने स्थानीय तहको हो । अहिले स्थानीय तहको काम हो नि भनेर गोठमा बाँधेका गाई सडकमा छाड्ने प्रवृति मौलाउँदा स्थानीय तहलाई पनि हम्मे—हम्मे भएको छ । दूध दिउञ्जेल बाँध्ने तर दूध दिन छाडेपछि छाडा छाड्ने प्रवृति ठीक होइन् ।
सडकमा कुनै यातायातको साधनले हानेर घाइते भएमा वा ज्यान गएमा प्रहरीकहाँ तथ्याङ्क हुन्छ । छाडा गाईवस्तुको समस्या दिनप्रतिदिन भयावह बनिरहेका बेला त्यसबाट प्रभावितको छुट्टै तथ्याङ्क नहुनु समस्याप्रति गंभीर नबन्नु हो ।
कुनैबेला बुटवलमा छाडा गाईवस्तुको लस्कर देख्दा अन्यत्रका मान्छे अचम्म मान्थे । पूर्व-पश्चिम चल्ने बसमा यात्रा गर्दै गरेका यात्रु सडकमा छाडा गाईवस्तुको लस्कर झ्यालबाट टाउको निकालेर आश्चर्य मान्दै हेर्थे । डेढ दशक अघि एउटा कार्यक्रममा सहभागी हुन यहाँ आएकी भुटानी राजकुमारीले सडकमा छाडा गाईवस्तु देखेर सोधिछन्-के यहाँ गाई सडकमै पाल्ने चलन छ ? उनले सडकमा गाईको लस्कर देखेर गरेको प्रश्न हाम्रा लागि चोटिलो प्रहार थियो । हामी सडकमै गाई पालेझैं यो समस्यालाई नजरअन्दाज गरिरहेका छौं । त्यसो त अहिले गौशाला बनाएर समस्या समाधानको पहल भएको छ । तर गौशाला बनाएर छाडा गाईवस्तुको दीर्घकालीन व्यवस्थापन गर्न संभव छैन् ।
कुनै बेला बुटवलको यो समस्या अहिले देशका प्रमुख शहरमा विस्तार भएको छ । अब छाडागाई वस्तु कुनै शहर विशेषको रहेन् । यो मुलुककै साझा र ठूलो समस्याको रूपमा अगाडि तेर्सिएको छ । लुम्बिनी प्रदेशकै कुरा गर्ने हो भने बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही र नवलपरासी जिल्लाका राजमार्ग क्षेत्र र यसैसंग जोडिएका शहरमा छाडा गाईवस्तुले ट्राफिक व्यवस्थापनमा चुनौती थपेका छन् ।
हिन्दु समाजमा गाईको पूजा गरिन्छ । गाई काट्नु जघन्य अपराध मानिन्छ । गाई राष्ट्रिय जनावर पनि हो । गाईप्रतिको सामाजिक र धार्मिक मान्यताले व्यवस्थापन चुनौतीपूणर् छ । नेपाली हिन्दु समाजको मान्यताले नै गोठबाट सडकमा गाई छाड्ने प्रवृति मौलाएको हो ।
रूपन्देहीमा व्यवसायिक गाईपालन हुन थालेको चार दसक नाघ्यो । भारतको आसाममा रोजगारीका लागि पुगेका गुल्मी, अर्घाखाँची लगायतबाट पुगेका नेपाली गाईपालनमा लागे । गाई फर्ममा काम गर्न गएकाहरु पछि आफै त्यहा गाई फर्म चलाए । त्यहाँ बस्ने वातावरण धुमिलिएपछि र अरु पारिवारिक व्यवस्थापनको कारणले पुख्र्यौली थातथलो खोज्दै आए । आउँदा उनीहरुले दूधालु गाई समेत ल्याए । ती गाई बोकेर पहाड उक्लने संभावना थिएन् । किनकि पहाडमा दूधको बजार विकसित भइसकेको थिएन् । तीब्र शहरीकरणमा अघि बढिरहेको रूपन्देही नै आसामबाट फर्केकाहरुको आर्कषण भयो ।
शंकरनगर,आनन्दवन,मक्रहर, सेमलार र मोतीपुर लगायतमा जग्गा जमिन किनेर बसे । जग्गाजमिनको बन्तोवस्त भएपछि उनीहरु गाईपालनमा लागे । व्यवसायिक गाईपालनको विकासले यहाँको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्यो । गाउँले शहरलाई दूध आपूर्ति गर्यो । शहरले गाउँलाई पैसा दियो । गाउँ र शहरबीचको सम्बन्ध स्थापित भयो । दुधालु जर्सी गाई ल्याएर यहाँको पशुपालन व्यवसायलाई उकासेका आसामी नेपाली दाजुभाइको प्रयास निकै प्रशंसनी रह्यो । अहिले व्यवसायिक गाईपालनले फड्को मारेको छ । करोडौं लगानीका गाई फर्म खुलेका छन् । करोडौं लगानी गरेर खुलेका गाईफर्मले दूध दिन छाडेका गाईको दीगो व्यवस्थापनबारे सोचेका छैनन् । न त राज्यले नै सोचेको छ । अब गोठबाट गौशालामा गाई लैजाने योजना बनाउन ढिलाई गर्न हुन्न ।
पहिले नगरपालिकाले छाडा गाईवस्तु संकलन गरेर काञ्जी हाउसमा थुनेर राख्ने चलन थियो । काञ्जी हाउसमा थुनेका गाई लिलामी गर्ने गरिन्थ्यो । बुटवल उपमहानगरपालिकाले काञ्जी हाउसमा थुनेका गाई लिलामी नभएपछि ठूलो जंगल क्षेत्रमा लगेर छाडेको थियो । कहिले धानखोलाको जंगल त कहिले स्वर्गद्वारी र रेसुङ्गामा लगेर गाई छाडिएको थियो । जंगलमा छाडेका गाई बस्तीमा पसेर खेतीबाली नष्ट गर्न थालेपछि त्यसरी छाड्न स्थानीयले अवरोध गरे । स्वगद्वारी र रेसुङ्गा गौशालामा यहाँका प्लाष्टिक खाएका गाई मर्न थालेपछि उनीहरुले पनि लिन मानेनन् । बुटवलको सडकका छाडा गाई स्वर्गद्वारी र रेसुङ्गा पुर्याउने काम पनि दीगो हुन सकेन् ।
तीन वर्ष अगाडि बुटवलमा गाई संकलन गरेर पूर्वतिरको गौशालालाई जिम्मा लगाउन थालेपछि बुटवल उपमहानगरपालिकाले हलुका महशुस गर्न थाल्दाथाल्दै अर्को तनाव थपियो । बुटवल उपमहानगरपालिकाले गाई बेचेको आरोप लगाएर मिलनचोकमा गौ संरक्षण भन्दै साधुसन्तहरु अनसन बस्न थाले । उनीहरुको अनसनले विषयवस्तुलाई अन्यत्र मोड्यो । छाडा गाई व्यवस्थापनका लागि अप्ठारो अवस्था आयो । केही महिना अघि बुटवल उपमहानगरपालिकाले शिवनगरमा गौशाला स्थापना गरेको छ । तिलोत्तमाको शंकरनगरपमा पनि गौशाला छ ।
देवदहको भलुहीमा पनि गौशाला छ । अहिले छाडा गाईवस्तुको व्यवस्थापनको लागि नगरपालिकाहरुले अरुले खोलेका गौशालालाई बजेट विनियोजन गर्न थालेका छन् । र , आफैं पनि गौशाला स्थापनाको कामलाई अघि बढाइरहेका छन् । के गौशाला स्थापना र सञ्चालन नै छाडा गाईवस्तुको दीगो व्यवस्थापन हो त ? छाडा गाईवस्तुको व्यवस्थापन गौशाला स्थापना र सञ्चालनले मात्रै पटक्कै हुनसक्तैन् ।
गौशाला स्थापना र सञ्चालनले गाई पाल्नेहरुलाई छाडा छाड्न प्रेरित गर्छ । स्थानीय तह मिलेर साझा अभियान थाल्दा छाडा गाईवस्तुको दीगो व्यवस्थापन गर्न संभव छ ।
चार वर्ष अघि बर्दियाका सिडियो रामबहादुर कुरुम्वाङले छाडा गाईवस्तु व्यवस्थापनका लागि गरेको प्रयासलाई एउटा मोडलको रुपमा लिएर काम गर्न सकिन्छ । बर्दियामा छाडा गाईवस्तु बढेर खेतीबाली नोक्सान हुने र दुर्घटना बढेपछि श्रृजनशिल सिडियोले प्रहरी र समुदायको सहयोगमा छाडा सबै गाई संकलन गरेर गौशालामा राखे । त्यसपछि पालिकाको कृषि तथा पशु शाखाले किसानको गोठमा रहेका गाईको रेकर्ड राखेर ट्याग लगाइदियो ।
कसको गोठमा कति गाई छन् र कसको गाईको कति नम्बर हो भन्ने जानकारी पालिकाको कृषि शाखामा रहेपछि समस्या समाधानको ढोका खुल्यो । सिडियोले अब ट्याग लागेको गाई छाडा छाडे जरिवाना र जेल समेतको सजायको व्यवस्थालाई कार्यान्वयन गरे । कुरुम्वाङले गाई छाडा छाड्न बानी परेका चार जनालाई मुद्दा चलाएर जेल पठाएपछि छाडा गाईवस्तु नियन्त्रणमा बल पुगेको सम्झन्छन् ।
रूपन्देहीमा पनि यो मोडल प्रभावकारी हुनसक्छ । बुटवल उपमहानगरपालिकाको अगुवाईमा सबै स्थानीय तह मिलेर एउटा कोष खडा गर्ने । त्यो कोषबाट आएको ब्याजले गौशाला सञ्चालन गर्ने । हरेकको गोठमा भएका गाईमा ट्याग लगाएर तथ्याङ्ग राख्ने जिम्मा पालिकाको कृषि शाखालाई दिने । गाईवस्तुको जन्म, मृत्यु, बेचविखनको रेकर्ड राख्ने । अनुगमनका लागि एउटा संयन्त्र बनाउने । दूध दिन छाडेका गाई गौशालामा राख्ने प्रबन्ध मिलाउने ।
गौशालामा गाई राख्दा किसानबाट पनि निश्चित प्रतिशत पैसा लिने व्यवस्था मिलाउने । यी काम योजनाबद्ध गर्ने हो भने छाडागाईवस्तुको व्यवस्थापन दीगो हुनसक्छ । बुढ्यौली लागेका गाई गौशालाबाट गिद्ध संरक्षणका लागि खोलिएका जटायु रेष्टुरेष्टमा दिन सकिन्छ । जटायु रेष्टुरेष्ट भनेको गिद्धका लागि आहारा राख्ने ठाउँ हो । अहिले गिद्ध संरक्षण अभियान प्रभावकारी बनाउन बुढ्यौली लागेका गाईवस्तुलाई आहारा बनाइएको छ ।
छाडा गाईवस्तुको व्यवस्थापनका लागि गौशालाको मात्रै भर पर्ने हो भने गौशालाले थेग्न सक्ने देखिदैन् । स्थानीय तहको ठूलो बजेट गौशाला व्यवस्थापनमै खर्चिनुपर्ने हुन्छ । दीगो व्यवस्थापनका लागि पहलकदमी लिने काम बुटवल उपमहानगरपालिकाको हो । उपमहानगरपालिकाको अगुवाईमा रुपन्देहीका सबै पालिका सगैं हिड्न सक्छन् ।




