झपेन्द्र जि.सी.
१. कस्तो कोट सिलाउने । कस्तो दौरा सिलाउने, कस्तो सुरुवाल सिलाउने, कस्तो टोपी सिलाउने, सिलाउनेले भन्दा कपडा काँटछाँट गर्ने वा डिजाइन गर्नेले जान्नुपर्छ । अथवा डिजाइन गर्नेले आफ्नो लक्ष्य उद्देश्यका साथ आफ्नो सीप प्रदर्शन गर्न पाउनु पर्छ ।
२. डिजाइन ठीक भयो भने सिलाउनेले सहज ढंगले कपडा भने जस्तो गरी सिलाइ हाल्छ । अनि त शरीरमा ट्याक्क मिल्छ, देख्नेले पनि आहा ! कस्तो राम्रो, कति मिलेको । कसले सिलाएको होला भनी हाइ ! हाइ गर्छन् । सबै चुङ्गिन्छन् । लोभिन्छन् ।
३. धेरै दर्शन नछाटौं वा गन्गन् पनि नगरौं होला । विषय प्रसङ्ग यहाँ कोट्याउन खोजेको वर्तमान हाम्रो सरकार । सत्ता पक्ष र प्रतिपक्षको नै हो ।
४. हरेक पदार्थ, हरेक समाजमा पक्ष र प्रतिपक्ष हुन्छन् । पक्ष र प्रतिपक्षको द्वन्द्व संंघर्षमा नै पदार्थ वा समाजको अस्तित्व रहन्छ । पक्ष र प्रतिपक्षको द्वन्द्व वा संघर्षमा एउटा पक्ष बढी सवल र अर्काे पक्ष बढी दुर्वल भयो भने सवल पक्षले दुर्वल पक्षलाई समाप्त गर्छ । त्यस्तो अवस्थामा त्यो समाज, त्यो वस्तु, त्यो पदार्थ पहिलेकै स्वरुपमा कदापि रहन सक्तैन । फेर बदल भई छाड्छ । कार्लमाक्र्स, एगंलेल्स यही कुरालाई द्वन्द्वात्मक भौतिकवाद भनेका छन् ।
५. हाम्रो देश नेपालमा राजा महेन्द्रले २०१७ सालमा बहुदलीय प्रणालीलाई खारेज गरी वर्ग समन्वयको आधारमा राज्य सञ्चालन गर्ने भनेर निर्दलीय पञ्चायती व्यवस्था लागू गरे । तर त्यही निर्दलीय भनिएको व्यवस्थामा क्रमशः सुवेदी गुट मरिचान गुट, सूर्यबहादुर थापा गुट, लोकेन्द्र चन्द गुट, अघोषित रुपमा भित्रभित्रै क्रियाशील भए, किनकि समाजमा वर्ग थिए र वर्ग छन् । वर्ग भनेको विपरीत स्वार्थ भएका समूह नै हुन् ।
६. लामो समयको आन्दोलन, संघर्ष, विद्रोहपछि नेपालमा पछिल्लो पटक २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनपछि बनेको संविधान अहिले कार्यान्वयनमा छ । संविधानका महत्वपूर्ण विशेषता भन्दै यो संविधानमा संघीयता, समावेशिता, जातीय पहिचान, लैङ्गिक पहिचान र तिनै पहिचानको आधारमा राज्यका चार तह (केन्द्र) संघीय तह, प्रदेश तह, जिल्ला तह, स्थानीय तह छन् । समाविष्ट हुँदा मजदुर, किसान, श्रमजीवी, सर्वहारा हुने कि मालिक (माडे) टाइपका हुने कुनै ध्यान छैन । त्यसैले जुनसुकै तहमा समाविष्ट हुँदा उनै खातापिता परेको छर्लङ्गै देखिन्छ । यो त एउटा पाटो हो, संवैधानिक रुपमै आधारभूत वर्गलाई हेरिएन । लोकप्रिय मत प्राप्त गर्ने दलहरुले आफ्नो मत भार शक्तिका आधारमा पठाउने प्रतिनिधि विशेषतः संघीय तह र प्रदेश तहमा पुग्दा खास कुनै दलको बहुमत प्राप्त हुन सकेन । सक्दैन । जसले गर्दा स्थिर सरकार बन्न सकेन, सक्दैन । जसले गर्दा सत्ता टिकाउन वा सरकार बनाउन नै सानातिना जुन कुनै चरित्र भएको (गलत चरित्र भ्रष्ट) भए पनि सरकारमा समावेश गर्न बाध्यकारी अवस्था छ ।
७. दोस्रो निर्वाचन भएको डेढ वर्ष भन्दा बढी बित्दैछ । सरकार निर्माण र पतन भइरहेका छन् । सरकार निर्माण नगरे शून्यता आउने हुँदा जो कोहीलाई समेट्नु पर्ने संवैधानिक बाध्यता छ ।
८. माओवादी र नेकपा समेत मिलेर सरकार चलाए र फेरि ढलाए । ढलाएपछि एमालेको साथमा माओवादी पार्टीका नेता उनै प्रचण्डले निरन्तर सरकार चलाउँदै छन् ।
९. रवि लामिछाने नयाँ पार्टीका नेता । उनलाई सरकारमा समावेश नगरे सरकार नबन्ने । बनाउँदा यही चाल । काँचो कटर नखाँदै........ यही चाल भएको छ ।
१०. आफू सत्तामा निरन्तर रहन रहिरहन नेकाले उनै रवि लामिछानेलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको कुरा स्मरणीय छ । प्रधानमन्त्री बनिहाल्न र बनाएर नचल्ने देखि पुरानो गठबन्धन पछि हेरेर नयाँ एमालेसहितको समीकरण बनेको त प्रष्टै छ ।
रवि लामिछानेको प्रवृत्ति सार्वजनिक नै थियो । प्रधानमन्त्री बनाएर सत्तामा रहिरहने आफ्नो नकसद पूरा नहुँदा अहिले कांग्रेस रनथनिएको छ, सत्ताको भोकले । तिनै गगन थापा छन्, गठबन्धन तोडेर कांग्रेस एक्लै जाने, एक्लै चुनाव लड्ने भनेकै छन् । तर अहिले कांग्रेस र गगनहरुको अरण्यरोदन र गन्गन् छ । अरण्यरोदन पनि किन नहोस्, सत्ता भनेको आफ्नै हो भन्ने बुझेका कांग्रेसहरुले ।
सारमा भन्दा खेरि संविधान निर्माण गर्दा दूरदृष्टि रहेन । विदेशीको लहलहैमा अनेक कुरा संविधानमा रहे । हुँदाहुँदा जिल्ला संरचना ७५ बाट घटाएर ३५÷३६ मा ल्याउनु पर्नेमा संख्या बढाएर ७५ बाट ७७ बनाए । चार तहको सरकार बन्यो भनेर हल्लीखल्ली मच्चाए । जनतालाई छिटोछिटो सेवा प्रवाह कसरी गर्ने त्यो हरायो । कुरा त संरचनामा गयो ।
अञ्चलहरुलाई मिलाएर समन्वयकारी संस्थाका रुपमा प्रदेश बनाए हुनेमा प्रदेशमा मुख्यमन्त्री, मन्त्री जस्ता पद सिर्जना गरिए । खर्च पर्च बढ्यो । स्रोत बढेन । यस्तो हुनुका पछाडि संवैधानिक दोष छ । यो दोष अब कसले हटाउने । बोल्न हुन्न पहिचान भन्नेको स्वर ठूलो हुँदैछ । नेपाली गौरव नेपाली पहिचान कसरी हुने ? सारतः दसैंमा डोरे पिङ खेल्दाझैं सरकार यता र उता हल्लिने अवस्था छ । यो सरकार मात्र होइन कांग्रेसी सरकार बने पनि उस्तै हो । डिजाइन मिलेन, मिल्दै मिलेन यस्तो भन्न हुन्छ कि हुँदैन ।




