जगिलाल थापा ‘जेल संघर्ष’
नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनको रौनक यतिबेला गाउँ–गाउँ, वडा–वडा हुँदै पालिका र निर्वाचन क्षेत्रसम्म पुगेको छ । असोज १६ देखि १९ गतेसम्म हुने केन्द्रीय महाधिवेशनअघि विभिन्न तहका अधिवेशन तथा निर्वाचन प्रक्रिया अघि बढिरहेका छन् । यो लेख तयार गर्दासम्म प्राय स्थानहरुमा वडा र पालिका तहको अधिबेशन सम्पन्न भइसकेको छ । अव क्षेत्र, जिल्ला र प्रदेश अधिवेशन प्रक्रिया अघि बढेको नेपाली कांग्रेसको आधिकारिक विवरणले जनाएको छ ।
पछिल्लो समय जेन–जी आन्दोलनपछि पुराना राजनीतिक दलहरूको जनसम्बन्ध, नेतृत्वशैली र राजनीतिक औचित्यमाथि विभिन्न प्रश्न उठिरहेका बेला कांग्रेसको महाधिवेशनले भने पार्टी संगठनभित्रको राजनीतिक सक्रियता र आस्थाको एउटा चित्र प्रस्तुत गरेको छ । उही झण्डा, उही राजनीतिक विचारसँग जोडिएका कार्यकर्ता र नेतृत्वका आकांक्षीहरूको सक्रियताले कांग्रेसको संगठनात्मक जीवन अझै चलायमान रहेको देखाउँछ । पार्टीभित्रको यो सक्रियतालाई नयाँ पुस्ताको उत्साहसँग जोडेर हेर्न सकिन्छ ।
नयाँ पुस्तामा नेतृत्वको आकर्षण
वडा, पालिका हुँदै क्षेत्रीय तहसम्मको अधिवेशनमा युवाहरूको सक्रिय सहभागिता उल्लेखनीय देखिएको छ । नेतृत्व लिन र नेतृत्व चयन गर्न युवाहरूबीच देखिएको प्रतिस्पर्धाले कांग्रेसभित्र नयाँ पुस्ताको राजनीतिक आकांक्षा बढ्दै गएको संकेत गर्छ ।
पुराना पुस्ताले निर्माण गरेको राजनीतिक अनुभव, संगठनात्मक अभ्यास, पार्टीको विचार र सिद्धान्तलाई नयाँ पुस्ताले समयअनुकूल ढंगले आत्मसात् गर्न सके त्यसले संगठनलाई थप गतिशील बनाउन सक्छ । नेतृत्वमा पुस्तान्तरण केवल उमेरको परिवर्तन होइन, विचार, कार्यशैली, जवाफदेहिता, संगठनप्रतिको प्रतिबद्धता र समसामयिक विषय बुझ्ने क्षमताको विकास पनि हो । त्यसैले अहिले देखिएको युवाको उत्साहलाई केवल पद प्राप्तिको प्रतिस्पर्धाका रूपमा नभई राजनीतिक चेतना, अध्ययन र संगठन निर्माणसँग जोड्न आवश्यक छ ।
संघर्षको इतिहास र आजको कांग्रेस
कांग्रेसको वर्तमान अवस्था कुनै एक दिनको राजनीतिक उपलब्धि होइन। नेपालको लोकतान्त्रिक आन्दोलन, राणा शासनविरुद्धको संघर्ष, पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन, जनआन्दोलन तथा विभिन्न राजनीतिक उतारचढाव पार गर्दै नेपाली कांग्रेस आजको अवस्थामा आइपुगेको हो ।
त्यसैले कांग्रेसको इतिहासलाई केवल चुनाव र अधिवेशनको प्रक्रियाबाट मात्र बुझ्न सकिँदैन । नेपालको राजनीतिक परिवर्तनका विभिन्न चरणमा कांग्रेससहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत विभिन्न राजनीतिक दलले आ–आफ्ना राजनीतिक विचार, आन्दोलन र संघर्षमार्फत् नेपाली राजनीतिमा आफ्नो स्थान बनाएका छन् ।
राजनीतिक दलहरूको इतिहासलाई बुझ्नु भनेको तिनका उपलब्धि मात्र होइन, कमजोरी र विवादित अभ्यासलाई समेत आलोचनात्मक ढंगले अध्ययन गर्नु हो । विगतका अनुभवबाट सिक्दै वर्तमानलाई सुधार्ने र भविष्यका लागि स्पष्ट राजनीतिक दृष्टिकोण निर्माण गर्ने जिम्मेवारी नयाँ पुस्ताको काँधमा पनि छ ।
सन्दर्भ कांग्रेस महाधिवेशनकै
अहिले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया वडा र पालिका हुँदै प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ अघि बढिरहेको छ । आधिकारिक कार्यतालिकाअनुसार प्रदेश सभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया पनि अघि बढाइएको छ ।
रुपन्देही क्षेत्र नं. ५ (क) मा यसअघि नेपाली कांग्रेसको क्षेत्रीय सचिवको जिम्मेवारी सम्हालिसकेका चित्रलाल तुलाचनले सभापति पदमा उम्मेदवारी घोषणा गरेको सन्दर्भ पनि चर्चामा छ । तुलाचनको समूहबाट उपसभापति पदमा सर्वजित बरई, सचिवमा हिमलाल अर्याल, सहसचिवमा रेखा पुन र कृष्ण ज्ञवालीले उमेद्वारी दिएका छन् । त्यस्तै क्षेत्र नं. ५ मा सभापति पदका लागि निराजन घिमिरेको उम्मेदवारी र क्षेत्र नं. ५(क) मा कृष्णप्रसाद पोखरेलको नेतृत्वमा उपसभापतिमा सन्दिपकुमार डुवे, सचिवमा हिमाल थापा तथा सहसचिवमा निरमाया बोहरा र नेत्रप्रसाद लामिछानेसहितको समूह निर्माण भएको चर्चा छ ।
यसरी हेर्दा नेतृत्व लिन र नेतृत्व चयन गर्न नयाँ पुस्तामा देखिएको सक्रियता उल्लेखनीय छ । यद्यपि यी उम्मेदवारी तथा समूहगत दाबीहरूको अन्तिम टुङ्गो त निर्वाचन समितिले लाउने छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा जिल्ला, प्रदेश तथा केन्द्रीय प्रतिनिधि र विभिन्न पदमा युवाहरूको उम्मेदवारी बढ्दै जानु नेपाली राजनीतिमा पुस्तान्तरणको बहससँग जोडिएको विषय हो । तर नेतृत्वको मूल्याङ्कन केवल ‘पुरानो’ र ‘नयाँ’ भन्ने आधारमा मात्र गरिनु पर्याप्त हुँदैन । विचार, सिद्धान्त, संगठनप्रतिको प्रतिबद्धता, कार्यशैली, राजनीतिक अनुभव, सार्वजनिक जवाफदेहिता र समसामयिक विषयको ज्ञान पनि नेतृत्व चयनका महत्वपूर्ण आधार हुन सक्छन् ।
हल्लाभन्दा अध्ययन र आलोचनात्मक चेत आवश्यक
राजनीतिमा हल्ला, सामाजिक सञ्जालका अपुष्ट सूचना र क्षणिक लोकप्रियताले ठूलो प्रभाव पार्न थालेको छ । ‘कौवाले कान लग्यो’ भन्ने हल्लाको पछि लागेर दौडिनुभन्दा आफ्नो कान छामेर वास्तविकता बुझ्नु आवश्यक हुन्छ ।
देशभित्र र बाहिर भइरहेका राजनीतिक, आर्थिक तथा सामाजिक घटनाले नेपालमा पार्ने प्रभावबारे अध्ययन, अनुसन्धान, बहस र छलफल गर्ने संस्कार नयाँ पुस्तामा विकास हुनु आवश्यक छ । सामाजिक सञ्जालमा देखिएको एउटा सूचना वा प्रचारलाई नै सम्पूर्ण सत्य ठान्ने प्रवृत्तिले राजनीतिक निर्णयलाई कमजोर बनाउन सक्छ ।
त्यसैले युवाहरूले आफ्नो पार्टीको सिद्धान्त, विचार, नीति, कार्यक्रम र कार्यदिशाको गहन अध्ययन गर्नुपर्छ । पार्टीभित्र नियमित अध्ययन, अन्तरक्रिया, बहस र आलोचनात्मक विमर्शको वातावरण निर्माण गर्न सके मात्र अहिले देखिएको राजनीतिक उत्साह दीर्घकालीन संगठनात्मक ऊर्जामा रूपान्तरण हुन सक्छ ।
राजनीतिक शिक्षा र पठन संस्कृतिको आवश्यकता
राजनीतिक चेतना विद्यालय तहबाटै विकास हुनु आवश्यक छ । राजनीति भनेको केवल चुनाव, पार्टी वा पदको विषय मात्र होइन, यसले राज्यव्यवस्था, शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, रोजगारी, सामाजिक न्याय र नागरिक अधिकारसँग प्रत्यक्ष सम्बन्ध राख्छ भन्ने कुरा नयाँ पुस्ताले बुझ्न आवश्यक छ ।
विगतमा राजनीतिक गतिविधिका नाममा विद्यालय बन्द गर्ने, टायर बाल्ने, विद्यालय तथा सार्वजनिक संरचनामा क्षति पु¥याउने वा विद्यार्थीलाई अस्वस्थ राजनीतिक प्रतिस्पर्धामा तान्ने अभ्यास गर्न लगाएकै कारण आज विद्यालय तहमा विद्यार्थीहरुले राजनैतिक संस्कार र शिक्षाबाट बञ्चित हुनुपरेको छ । त्यसबाट नयाँ पुस्ताले सिक्नुपर्छ ।
राजनीतिको उद्देश्य नागरिकलाई विभाजित गर्नु होइन, सार्वजनिक जीवनका प्रश्नमाथि जिम्मेवार ढंगले बहस गर्ने संस्कार विकास गर्नु पनि हो । त्यसैले राजनीतिक दलका युवा संगठनहरूले नाराभन्दा अध्ययन, बहस, नीति निर्माण र सामाजिक सेवामा आफ्नो सक्रियता बढाउन सके राजनीतिक संस्कारको विकासमा सकारात्मक योगदान पुग्न सक्छ ।
महाधिवेशनले एकताको सन्देश दिन सकोस्
नेपाली कांग्रेसको १५औँ महाधिवेशन केवल नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया मात्र नबनोस, यसले पार्टीभित्र विचार, नीति र संगठनात्मक एकताको बहसलाई पनि अगाडि बढाओ, भन्ने अपेक्षा आम कांग्रेसीहरुमा छ । गुटगत प्रतिस्पर्धाभन्दा स्वस्थ राजनीतिक प्रतिस्पर्धा, व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा नीतिगत बहस र पदको आकांक्षाभन्दा संगठन तथा जनताप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिने वातावरण निर्माण हुनु आवश्यक छ ।
नेपाली कांग्रेसको १५औं महाधिवेशन भव्य, सभ्य र गुटगतरहित बनोस् । महाधिवेशनको पूर्वसन्ध्यामा देखिएको अनेकथरी कांग्रेसलाई महाधिबेशन पछि एकथरी कांग्रेसको रुपमा देख्न पाइयोस् । विभिन्न समूह, धार र आकांक्षालाई निर्वाचन प्रक्रियापछि लोकतान्त्रिक विधिबाट एउटै संगठनात्मक संरचनामा रूपान्तरण गर्न सक्नु नै नेतृत्वको महत्वपूर्ण चुनौती हुनेछ । समाचारमा आएको जस्तो अनेकथरी कांग्रेसीहरुको समानान्तर महाधिबेशन हुने हल्ला महाधिबेशनको दैलो नउघारिदै बन्द होस र एकद्वारबाट महाधिबेशन स्थल प्रवेश गर्ने प्रतिीनिधहरुबाटै अवको सवल कांग्रेसको नेतृत्व गर्ने एकथरी कांग्रेसको निर्माण होस । समानान्तर गतिविधि र विभाजनका सम्भावनाभन्दा संवाद, सहमति र स्वस्थ प्रतिस्पर्धाको संस्कारले पार्टीलाई संस्थागत बनाउन सहयोग गर्न सक्छ ।
अन्ततः कांग्रेसको १५औँ महाधिवेशनबाट को नेतृत्वमा आउँछ भन्ने प्रश्नसँगै कस्तो विचार, कस्तो कार्यशैली र कस्तो राजनीतिक संस्कार स्थापित हुन्छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । नयाँ पुस्ताको उत्साह, पुरानो पुस्ताको अनुभव र समसामयिक राजनीतिक चेतबिचको सन्तुलन कायम गर्न सके महाधिवेशनले नेपाली कांग्रेसको आगामी यात्राका लागि नयाँ बहसको आधार तयार गर्न सक्छ ।




