तिनाउ नदी कटान र ज्योतिनगरको पहिरोले समस्यामा पर्दै आएका बुटवलवासी अहिले डुबान समस्याबाट प्रभावित भएका छन् । नदी कटानले तटीय क्षेत्रका बासिन्दा प्रभावित भएका र ज्योतिनगरको पहिरोले त्यस क्षेत्रका बासिन्दा प्रभावित हुँदै आएका थिए । अहिले शहरको मध्यभाग डुबानमा पर्न थालेको छ । बुटवलको अमरपथ बुटवलको व्यापारिक क्षेत्र हो, यही क्षेत्र डुबानमा पर्न थालेको छ ।
सामान्य वर्षा भयो कि बुटवलमा डुबानको समस्या देखिन थालेको छ । गएको असारको दोस्रो साता अविरल वर्षापछि नाली थुनिदा पश्चिम नेपाल बस व्यवसायी संघ, रुपन्देही उद्योग संघलगायत संघसंस्थाका कार्यालय डुबानमा परे, केही व्यवसायिक प्रतिष्ठान डुबानमा पर्दा लाखौंको नोक्सानी भयो । मंगलबार दिउँसो अमरपथमा भेल बाढी आयो । गएको असारमा कालिकानगर राजमार्गमा भेलबाढी बग्यो । आखिर किन बुटवलमा डुबानको समस्या देखिन थाल्यो ? अहिले देखिएको यो समस्या एकैपल्ट देखा परेको नभई अव्यस्थित शहरीकरण, सार्वजनिक खोल्सा खाल्सी अतिक्रमण गर्ने प्रवृत्तिलाई निरुत्साहित नगर्दा समस्या भएको हो ।
बुटवलमा दुई खोल्सी छन् । तीमध्ये एउटा गोलपार्कबाट अमरपथ हुँदै तिनाउमा मिसिन्छ । अर्को लक्ष्मीनगरबाट सुरु भएर चाँदबारी हुँदै बुटवल धागो कारखाना मिसिन्छ, जसलाई सुखौरा खोला भनिन्छ । यी दुई खोल्सीलाई सरसफाइ गर्ने र वर्षातको बेला सहजै पानी बग्ने बनाउन बुटवल उप–महानगरपालिकाले ध्यान दिएको छैन । स्थानीय बासिन्दाको पनि सफाइ गर्न चासो छैन । घरबाट निस्केको फोहर व्यवस्थापन सही ढंगले नगरी यिनै खोल्सीमा फाल्ने प्रवृत्ति मौलाएको छ । त्यही नकुहिने फोहर जम्मा भएर खोल्सी थुनिदा समस्या भएको हो । अमरपथमा आएको भेल बाढी र असारको दोस्रो साताको बाढीले केही संघसंस्थाका कार्यालयको डुबान खोल्सी थुनिदा हो । ठूलो वर्षाले डुबान भएको होइन ।
शहरीकरण योजनाबद्ध छैन । अहिले बुटवलमा खुला ठाउँको अभाव छ । गोलपार्कबाट बग्ने पानी नाली व्यवस्थित नहुँदा राजमार्ग चौराहा पुग्दा ठूलो भेल बाढी आएझैँ हुन्छ । ज्योतिनगरको पहिरोबाट बग्ने भलपानी पनि अमरपथ हुँदै बग्दा व्यापारिक केन्द्र डुबानमा परिरहँदा व्यवसायी विस्थापित हुने जोखिम छ । अमरपथलाई डुबानबाट जोगाउन इलाका प्रहरी कार्यालय हुँदै तिनाउ नदीमा खसाइएको नाली चलाउन आवश्यक छ । ज्योतिनगरबाट बग्ने पानीलाई अमरपथ तिर होइन, आदर्शनगर हुँदै सुखौरा खोलामा मिसाउनुपर्छ । पहिले पनि सुखौरा खोलामा मिसिन्थ्यो, तर छ लेन सडक विस्तार हुँदा अमरपथतिर खसाल्दा पनि अहिले समस्या देखिएको हो । उप–महानगरपालिकाले सरोकारवाला कार्यालयलाई साथमा लिएर तत्काल गर्नुपर्ने काम र दीर्घकालमा गर्नुपर्ने कामको सूची बनाउन सक्दा बुटवलका विभिन्न ठाउँ डुबान हुने समस्याबाट मुक्त हुन सक्छन् ।




