आज साउन ३१ गते कसरी भुल्न सक्छु र बाबा हजुरले यो धर्तीबाट बिदा हुनुभएको पूरा दुइ बर्ष भएको छ । आज हजुरको सम्झनामा हजुरको लागि दइ शब्द कोरेकी छु.... ।
जुन हजुरले साथमा हुँदा सधैँ भनिरहनु भएको थियो - लेख्नु पड्नु र केही गर्नु भनिरहनु हुन्थ्यो । जुन मैले कहिले हजुरको खुसीको लागि गर्न सकिन। २०७९ साउन ३१ गते हजुरले शारीरिक रूपबाट हामी सबैलाई छाड्नु भएको दिन कसै गरे पनि बिर्सिन नसकिने रहेछ ।
सकारात्मक बिचारहरू बिचारमा अडिक विश्वासहरूको जति कुरा गरे पनि कमै हुन्छ । जीवनमा कति दुख गर्नुभयो, कति दुख भोग्नुभयो, त्यसको त कतै लेखाजोखा नै छैन ।
देशका लागि गरेको सङ्घर्ष राष्ट्रका लागि गरेको समर्पणको त झन् कुरै नगरौँ ।
आफ्नो जीवन रहुन्जेल पत्रकारितामा लेख रचनाको आधारमा कापी/कलमसँग रातदिन लडाइँ गर्दै देशको स्वतन्त्रताका लागि सूचना प्रवाह गरेको र आजीवन कम्युनिस्ट बिचार धारालाई आत्मसाथ गरेर रातदिन कलम कापीकै मार्फतबाट मौन लडाइ लड्नुभएको इतिहास साक्षी छ । बाबा हजुरले गरेको योगदानले आज हजुर जीवित र अमर हुनुहुन्छ र सधैँ रहिरहनुहुनेछ ।
एक न एक दिन यो भौतिक शरीर माटोमा बिलाएर जानै पर्ने विज्ञानको नियमलाई कसैले नकार्न सक्दो रहेछ बाबा ।
आज पूरा दुई बर्षभयो हामीमाझ नहुनुभएको नहुनुभएको पनि कसरी भनूँ...।
कैयौँ पटक सपनामा आउनुभयो बाउ छोरी कुराकानी गरिरह्यौ... ।
कैयौंपटक तेरी आमाले दुख पाउँछे होला रोगी छे भन्दै मलाई सुनाउनुभयो ... ।
कहिले तेरा भाइहरूले आमाको भावना अलि बुज्दैनन तैँले ख्याल गर है भाइहरू सानै छन भनेर गुनासो गर्नुभयो, त कहिले मलाई सन्चो छैन छोरी एक छिन आराम गर्न देहै भनेर मेरै घरको भुईँमा लुटुपुटु पनि गर्नुभयो ।
कहिले मैले सिकाउँदा केही मानिनस् केही सिक भनेको सिकिनेस् अब म बिजी भए सिकाउन भ्याउन्न भनेर पनि भन्नुभयो ।
यस कारणले पनि म बाबासँग टाढिएको थिइन । सपनामै भए पनि बाउछोरि गफ गरिरह्यौ।
बाचुन्जेल हामी कसैलाई बाबा आमासँग बस्ने दुख बिसाउने, मनका कुरा पोख्ने के खान्छन् के लाउँछन् स्वास्थ्य सुरक्षा के छ भनेर बुझ्दैनौ र फुर्सद पनि हुँदैन जहिले सुकै आफ्नै काममा बिजी भइरहन्छौ जब धर्तीबाट बिस्तारै बिदाइका हात हल्लाउँदै गइन्छ अनि पछुताउँछौ ।
यो गर्न पाइन, त्यो गर्न पाइन भनेर टाउकोमा हात लाउँछौ ।मैले पनि बाबा रहुन्जेल भुल गरेकै हो जुन आज पछुताइरहेको छु ।
बाबाको मन छोराछोरी सबैमा एकै भए पनि म बाट बाबाले अलिक धेरै नै आसा राख्नुभएको थियो जुन मैले पूरा गर्न सकिन ।
पढ्ने लेख्ने बाबाको ठुलो सोख नै थियो या भनूँ बाबाको अगाडि हामी सबैले हातमा किताब कापी लिएर बसेको बाबालाई सारै राम्रो लाग्दथ्यो ।
जुन हामी कसैले गर्न सकेनौ लेख रचना कथा कविता जे भए पनि कोरिरहनुपर्छ भनेर सम्झाइरहनु हुन्थ्यो त्यो हामीले कहिले गरेनौ ।
छोरी तलाइ त लेख्न आउँछ अरूले भन्दा तैँले अलि कुरा बुझेकि छस् केही न केही लेख्ने बानी बसाल भन्नुहुन्थ्यो । कहिले त हातमा डाइरि र कलम थमाइदिनु हुन्थ्यो र जबरजस्ती ल लेख भनेर कुनै( विषय) शब्द दिएर यसको बारेमा व्याख्या गर भन्नुहुन्थ्यो ।
मलाई पनि साहित्य सिर्जना मन नपर्ने त होइन तर सुरुवात गर्ने कोसिसै गरिन आज पछुतो लागिरहेको छ, जुन कुरा बाबाले जानेर भन्नुभएको थियो आज गलामा अड्केझै भएको छ ( बाबा लभ यु सो मच) ।
हजुर कति अन्तरयामी हनुहुदो रहेछ... आज बुझेकी छु। बाबा कास आज म सँगसँगै हजुर भइदिएको भए...। कास... आज लेख्न सिक्ने थिएझै लाग्छ । के गर्नु समयले एक दिन हामीलाई पनि तेहि पुराउने छ भन्ने बुझ्दा बुज्दैपनि हजुरको कमी भइहाल्दो रहेछ ।
बाबा हजुरको अभावमा सधैँ रहनुपर्ने भयो सारै एक्लो महसुल हुदो रहेछ अब बाबा यो जुनिमा कहाँ पाउन सकिन्छ ।हुन त भाइ बुहारी आमा सबै छन् तर हजुरको कमी यो मनमा भइरहनेछ । जानी नजानी एक दुई अक्षर जबरजस्ती कोरेकै हुन्छु तर पनि केही जानेर कोर्न पाए वा हजुरको सामुन्ने लेख्न कोर्न पाएको भए भन्ने यो मनमा लागिरहन्छ ।
बाबाको लगानी र हाम्रो बाबाप्रतिको लगाव त कहिले खतम हुने छैन तै पनि आज हजुरको सम्झनामा यी दुई अक्षर कोरेर हजुरलाई श्रद्वन्जली व्यक्त गर्न चाहेको छु ।
हजुर जहाँ भए पनि हजुरको आशीर्वाद सदा सर्वदा पाइराखूँ । घरमा दुई भाइ दुई बुहारीको साथमा आमा र हजुरको नातिनातिना रहेका छन् । उनीहरूलाई पनि आशीर्वाद दिनुहोस् हजुरको आत्माले शान्ति पाओस् बाबा प्रति हार्दिक श्रद्वन्जलि भन्दै मेरा दुई शब्द बाबाप्रति टक्राउँदछु । हार्दिक नमन... ।
- लेखक पोखरेल स्व. पोखरेलकी छोरी हुन् । उनी हाल नेपालगन्ज छन् ।




