गणेश खनाल / अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ मा रहेको मह उद्योग स्थापना भए पनि सञ्चालनमा आउन सकेको छैन ।
०६३/६४ को बजेट वक्तव्यमार्फत् सरकारले घोषणा गरेको ‘एक जिल्ला एक उत्पादन कार्यक्रम’ अन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ सानागाउँमा रहेको अर्घाखाँची मह उद्योग प्रा.लि आठ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसक्दा भवन पूर्ण रुपमा जीणर् बन्दै गएको छ ।
अर्घाखाँचीमा मह उद्योग सञ्चालनको लागि कृषि मन्त्रालय, उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रको आर्थिक सहयोगमा १ करोड ५ लाखको लगानीमा भवन इक्युमेन्ट खरिद गरेपनि सञ्चालनमा नआउँदै उद्योग जिर्ण अवस्थामा पुगेको छ । मह उत्पादन कम्पनीको संरचना बनाउन बजेट छुट्टिए पनि अहिलेसम्म भवन मात्रै छ ।
करोडौं लगानीमा निर्माण गरिएको अर्घाखाँची मह उद्योग प्रा.लि. अहिले लथालिङ्ग अवस्थामा छ । तत्कालिन समयमा उद्योग वाणिज्य संघ अर्घाखाँचीमार्फत् सञ्चालन गर्ने गरी योजना सुरु गरी सर्वसाधारणमार्फत् सेयर सदस्य बापत रकम उठाए पनि त्यसको अहिले कुनै हिसाब किताब समेत खोज्दा उपलब्ध हुन सकेको छैन ।
तत्कालिन समयका मह उद्योग प्रा.लि.उपभोक्ता समितिका अध्यक्ष तथा तत्कालिन उद्योग वाणिज्य संघ अर्घाखाँचीका सचिवालय सदस्य लक्ष्मण कँडेलले जिल्लामा कच्चा पदार्थको अभावले मह उत्पादन हुन नसकेको, सञ्चालनमा ल्याउनको लागि स्थानीय सरकारसँग समन्वय गरी सञ्चालनमा ल्याउन प्रयत्न भइरहेको दाबी गरे । जिल्लाको धनचौर, धारापानी, जुकेना, जलुकेलगायतका वडाहरुमा उल्लेखनीय रुपमा किसानहरु मौरी पालन गरिरहेका छन् ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष चुराबहादुर केसीले उद्योग स्थापना भए पनि भवन बनाउने निकायले सरकारलाई हस्तान्तरण नगर्नु तथा निर्माण गर्ने निकायले सञ्चालनमा ल्याउन नसक्नु कारण खोज्नु पर्ने बताए ।
तत्कालिन अवस्थामा भवन निर्माण गर्दा ४८ लाख ५६ हजार ५ सय ६२ रुपैयाँ बराबरको भवन निर्माण भएको उद्योग नजिक राखिएको सूचना बोर्डमा लेखिएको छ । १ करोड ८ लाख ४३ हजार ४ सय ३८ रुपैयाँ मेसिनरी औजार र अन्य कामका लागि रकम खर्च भएको देखिन्छ ।
उद्योगभित्र मेसिनरी औजार, केही खाली बोतल र मौरीघार यत्रतत्र बेवारिसे अवस्थामा रहेका छन् अर्घाखाँची जिल्ला मौरीपालक किसानहरुका लागि अति उत्तम जिल्लाको रुपमा लिने गरिन्छ । यस जिल्लाका धेरै ठाउँहरुमा मौरी चरण क्षेत्र भएकोले पनि मह उत्पादन गर्ने जिल्लाको रुपमा परिचित छ ।




