बुटवल । बुटवलका उद्योगी महेश थैव अन्तर्राष्ट्रियस्तरको अवार्डका लागि छनोट भएका छन् ।
मुलुकको औद्योगिक विकासमा टेवा पु-याउंदै संस्थागत सामाजिक उत्तरदायित्वमा योगदान गरेवापत ‘एशियाज् सर्भिसेज क्वालिटी एक्सिलेन्सी अवार्ड फर बेस्ट सिएसआर प्राक्टिस’ शिर्षकको अवार्डमा थैव छनोटमा परेका हुन् ।
यो अवार्ड एशिया अवार्ड्स ब्राण्ड अफ रिसर्च कंग्रेस लण्डनले वितरण गर्दै आएको छ ।
महेश र उनका दाजु यज्ञश्वर थैवको संयुक्त लगानीमा आवास ग्रुप अन्तर्गत रुपन्देहीमा १५ वटा र काठमाडौंमा एउटा गरी १६ वटा उद्योग सञ्चालनमा छन् ।
ती उद्योगमा ३ हजार बढीले रोजगारी पाएका छन् । उनका उद्योगहरु आयात प्रतिस्थापन गर्न टेवा पुराउने प्रकृतिका समेत छन् । विभिन्न ६ चरणमा गरिएको छनोटमा उत्कृष्ट हुंदै नेपालबाट थैव मनोनयनमा परेका हुन् ।
छनोटमा परेपछि आगामी डिसेम्बर २३ तारिखमा मलेशियामा हुने सो अवार्ड वितरण समारोहमा सहभागी हुन आयोजकले आफूलाई औपचारिक निम्ता दिएको थैवले बताए । उक्त समारोहमा २० बढी देशका उद्योगी सहभागी हुने आयोजकले जानकारी गराएको समेत थैवले बताए ।
औद्योगिक उत्पादन तथा ब्यापारका विभिन्न पक्षहरुको उत्कृष्टता, उद्यम र उद्यमशिलताबाट देशको आर्थिक विकासमा प्रभावशाली योगदान गरी संस्थागत सामाजिक उत्तरदायित्वमा पनि महत्वपूर्ण टेवा पु-याएको मूल्याङकन गरी अवार्डमा आयोजकले छनोट गर्दा खुशी लागेको थैवले बताए ।




