अर्घाखाँची । किसानका लागि आफूले लगाएको बाली जोगाउन सबैभन्दा सकसको विषय बन्दै गएको छ । आफूले लगाएको अन्नबाली जोगाउन अनेक उपाय अपनाउँदा आफ्नै ज्यान जाने गरेका थुप्रै घटनाहरु छन् ।
यही बुधबार बेलुका भूमिकास्थान नगरपालिका वडा नम्बर १०, धनचौरमा एक जनाको विद्युतीय पासोमा परेर ज्यान गएको छ । धनचौरको पाकुमा आफ्नै घरको बारीमा जंगली जनावरलाई लगाएको विद्युतीय पासोमा करेन्ट लाग्दा ४६ वर्षीय ज्ञानुकला चुँदालीको ज्यान गएको हो ।
साँझ खाना खाएर बाहिर निस्किएकी ज्ञानुकला धेरै अबेरसम्म घरमा नआएपछि परिवारले उनको खोजी गरेको थियो । सोही क्रममा उनी बारीमा मृत फेला परेकी थिइन् । आफ्नो अन्नबाली जोगाउन थापेको विद्युतीय पासोमा परेर उनको मृत्यु भएको वडाध्यक्ष खगेश्वर पन्थीले जानकारी दिए ।
पोष्टमार्टम रिपोर्टका अनुसार पनि उनको मृत्यु करेन्ट लागेर भएको पुष्टी भएको प्रहरीले जनाएको छ । बाँदर, बँदेल र दुम्सीबाट बारीमा लगाएको मकै जोगाउन खोज्दा ज्ञानुकलाले ज्यान नै गुमाउन पर्यो । उनका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
यता आमाको मृत्यु भयो, उता बुवालाई प्रहरीले लगेपछि घरमा छोराछोरीको बिचल्ली भएको छ । पाँच छोरी र एक छोरा रहेका चुँदाली दम्पतीका तीन छोरीहरुको विवाह भइसकेको छ भने तीन सन्तान घरमै छन् । आफ्ना अभिभावकहरु नहुँदा उनीहरु एक्लो जस्तो बनेका छन् । जनावरलाई थापेको पासो आफ्ना र आफन्तलाई ‘गलपासो’ बनेको छ ।
विगत दुई वर्षयता विद्युतीय पासोमा परेर मृत्यु भएको यो चौथो घटना हो । यसअघि तीन जनाको विद्युतीय पासोमा परेर मृत्यु भइसकेको छ । छत्रदेव गाउँपालिका र शीतगंगा नगरपालिकामा विद्युतीय पासोमा परेर तीन जनाको मृत्यु भएको छ ।
२०७९ साल साउनको घटना हो, बाँदरले मकै खाएको देखेपछि अर्घाखाँची छत्रदेव–४ केरुंगाका टंक खनाल धपाउन दौडिएका थिए । अचानक चिप्लिएर लड्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भयो ।
यहाँ एक दशकदेखि बाँदरको बदमासी बढेको छ । बाँदरबाट बाली जोगाएर भित्राउनु किसानलाई ठूलो चुनौती बन्ने गरेको छ । जनावर लखेट्ने क्रममा भिरबाट लड्दा मालारानीमा दुई जनाको मृत्यु भएको छ भने छत्रदेवमा एकजानको मृत्यु भएको छ । भूमिकास्थानमा जनावरलाई मार्न बन्दुक लिएर हिंड्दा पड्किएर आफ्नै ज्यान गएका घटनाहरु समेत भएका छन् ।
गाउँघरमा फल्दै गरेका मकै बाँदरले नोक्सान गरेपछि स्थानीयहरुले अनेक उपायहरु अपनाउँछन् । विद्युतीय पासो थाप्ने, भिड जम्मा भएर लखेट्ने, बन्दुक पड्काएर तर्साउने-मार्ने, कुकुरको प्रयोग गर्ने, गुलेलीले हान्ने जस्ता उपायमार्फत् उनीहरु अन्नपात जोगाउन प्रयासरत रहन्छन् । तर, जनावरलाई भनेर खनेको खाल्डोमा आफँै पर्ने गरेका छन् । जसकारण अकालमा ज्यान गुमाउनु परेको छ ।
कतिपयले जंगली जनावरलाई भगाउन जंगलमा आगो लगाउने गर्दछन् । आगो नियन्त्रण गर्न नसक्दा गाउँबस्तीमा आगो पस्ने र कयौंको ज्यान समेत जाने गरेको छ । जनावरलाई मार्न खोज्दा यहाँका किसान मानवीय क्षती खेप्न बाध्य छन् ।
बाँदरले बारीको बाली खानु र नष्ट बनाउनु दैनिकी जस्तै बने पनि हिजोआज घरभित्रै पसेर चामल–दाल खाने, अन्नपात छर्ने, मान्छेमाथि नै आक्रमण गर्ने गरेर हैरान बनाएको सन्धिखर्क ११ डिभर्नाका विशाल आचार्यले बताए । ‘दिउँसोमा बाँदरले हैरान पार्छ, रातीमा बँदेलले नोक्सानी गर्छ,’ उनले भने–‘किसानले के–के भ्याउनु ? कता कता हेर्नु ?’
यहाँका स्थानीय तहले खेती जोगाउन विभिन्न उपाय अपनाए पनि पूर्णतः सफल भने देखिएका छैनन् । जंगली जनावर लखेट्न हेरालुको व्यवस्था गर्नेदेखि तारजाली बाँड्ने, भोटे कुकुर वितरण गर्ने, बाँदर लखेट्ने यन्त्र (गन) समेत वितरण गरे । तर, किसानको सास्ती भने कम भएको छैन ।




