प्रेम सुनार
गुल्मी
प्रायः वर्षेनी सरकारी कार्यसम्पादन मूल्याङ्कनमा लुम्बिनी प्रदेशमै उत्कृष्ट हुँदै आएको गुल्मीको धुर्कोट गाउँपालिका गत आर्थिक वर्षमा जिल्लाका १२ वटा स्थानीय तहमध्ये उत्कृष्ट पालिकाको मूल्याङ्कनमा परेको छ ।
महालेखा परीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको देशभरका स्थानीय तहको खर्च प्रगति प्रतिवेदनमा धुर्कोट गाउँपालिका जिल्लामा उत्कृष्ट पालिकाको मूल्याङ्कनमा परेको हो ।
धुर्कोटले १२ वटा पालिकामध्ये सरकारबाट आएको बजेटको काम सबैभन्दा बढी गरी कम रकम बजेट फिज पठाएको छ । उसले गत वर्ष जम्मा ८७ लाख २२ हजार अर्थात् कुल बजेटको ०.६२ प्रतिशत मात्रै बरुजुमा परेको छ । धुर्कोटसँगै उत्कृष्ट तीन पालिकाहरुमा मालिका र रुरुक्षेत्र गाउँपालिका परेका छन् । उत्कृष्ट दोश्रोमा परेको मालिका गाउँपालिकाले ८८ लाख ८६ हजार अर्थात् कुल बजेटकको ०.६८ प्रतिशत मात्रै बेरुजु पठाउन सफल भएको छ । उत्कृष्ट तीनमा परेको रुरुक्षेत्र गाउँपालिकाले ९९ लाख २६ हजार अर्थात कुल बजेटको जम्मा ०.७१ प्रतिशत मात्रै बजेट फिरिज पठाएको छ । क्रमशः यी तिन पालिकामा नेकपा माओवादी केन्द्रबाट जितेका पालिका अध्यक्षहरु भुपाल पोखरेल, देवीराम अर्याल र यदु ज्ञवाली रहेका छन् ।
यी तीन वटै युवा नेता हुन् । त्यसो त बुढापाका नेताहरुमा गनिएका मदाने गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा विजयी भएका महेन्द्रबहादुर कुँवरले नेतृत्व गरेको त्यस पालिका युवाहरुले नेतृत्व गरेको पालिका भन्दा कम देखिएको छैन ।
अर्थात् खर्च प्रगतिमा चौथो उत्कृष्ट मदाने गाउँपालिका परेको छ । उसले १ करोड २ लाख २१ हजार अर्थात् ०.७४ प्रतिशत मात्रै फिर्ता पठाएको थियो । त्यस्तै उत्कृष्ट पाँचौमा छत्रकोट गाउँपालिका परेको छ । उसको १ करोड ५२ लाख २१ हजार अर्थात् १.१३ प्रतिशत बेरुज गएको छ ।
यहाँका गाउँपालिकाहरु मध्ये सबैभन्दा बढी रकम बेरुजु अर्थात् काम गर्न नसकी फिर्ता पठाउनेमा कालीगण्डकी गाउँपालिका परेको छ । उसले ५ करोड ३० लाख ३२ हजार अर्थात् कुल बजेटको ४.२१ प्रतिशत फिर्ता पठाएको छ । गत वर्ष खर्च गर्न नसक्ने दोश्रो गाउँपालिकामा चन्द्रकोट गाउँपालिका परेको छ । उसले ३ करोड ४९ लाख २९ हजार अर्थात् २.७६ प्रतिशत रकम फिर्ता पठाएको थियो ।
त्यस्तै खर्च प्रगतिमा तेश्रो असफल पालिका रहेको छ, गुल्मी दरबार गाउँपालिका । जसले ३ करोड ३३ लाख ७५ हजार अर्थात् २.६१ प्रतिशत काम गर्न नसकी फिर्ता पठाएको छ ।
त्यस्तै खर्च प्रगतिमा चौथो असफल पालिका इस्मा गाउँपालिका परेको छ । उसले ३ करोड ३० लाख १२ हजार अर्थात् २.५६ प्रतिशत रकम बेरुजु पठाएको छ । । सत्यवती गाउँपालिका खर्च प्रगतिमा पाँचौ असफल पालिकामा परेको छ । जसको २ करोड १४ लाख १७ हजार अर्थात् १.४९ प्रतिशत बेरुज गएको छ ।
यहाँका दुई नगरपालिकामध्ये खर्च प्रतिशतमा रेसुंगा नगरपालिकाभन्दा मुसिकोट नगरपालिका अगाडि देखिन्छ । मुसिकोटले ३ करोड ३९ लाख अर्थात् १.९३ प्रतिशत र रेसुंगाले ३ करोड ५ लाख ८० हजार अर्थात् कुल बजेटको २.५६ प्रतिशत रकम काम गर्न नसकी बेरुज गएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
सोमबार सदरमुकाम तम्घासमा भ्रष्टचारविरुद्ध नागरिक निगरानी संस्था गुल्मीद्वारा आयोजित भ्रष्टचार नियन्त्रणमा सरोकारवालाको भूमिका विषयक जिल्लास्तरीय अन्तरकृया कार्यक्रममा महालेखाको प्रतिवेदन पेश गर्दै सो संस्थाका अध्यक्ष पदमप्रसाद पाण्डेले यस्तो जानकारी गराएका हुन् । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी उजुरी रेसुंगा नगरपालिकामा बढी परेको प्रतिवेदन पाण्डेले पेश गर्दै बताएका थिए ।
अन्तरकृया कार्यक्रममा सुशासन प्रवद्र्धन र भ्रष्टचार नियन्त्रणमा राजनैतिक दल, सरकारी निकाय, जनप्रतिनिधि, नागरिक समाज , संघ संस्था र आम जनताले साझा प्रतिबद्धता र ऐक्यबद्धता जनाउनु पर्ने कार्यक्रमका प्रमुख अतिथि जिल्ला समव्य प्रमुख दोणबहादुर खत्री , विशेष अतिथि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालगायतका सरोकारवालको जोड रहेको थियो ।




