रोल्पा । स्थानीय तहको कर वृद्धिविरुद्ध विभिन्न ठाउँमा व्यवसायीले आन्दोलन सुरु गरेका छन् । शुक्रबार हेटौंडामा व्यवसायीले आफ्ना सबै व्यवसाय बन्द गरेर सटरको चाबी मेयरलाई बुझाएका छन् भने रोल्पामा आन्दोलनमा उत्रिने व्यवसायीले घोषणा गरेका छन् । व्यवसायीहरुले तेहेरो करको मारमा परेको गुनासो समेत गरेका छन् ।
पछिल्लो समय रोल्पा नगरपालिकाले कर संकलनका लागि बनाएको नियम तथा त्यसको कार्यान्वयनको सन्दर्भमा असन्तुष्ट बनेका उद्योगी व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले विरोधका कार्यक्रमलाई थप पेचिलो बनाउँदै लगेका छन् । रोल्पा उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायी आन्दोलित भएका हुन् ।
रोल्पा नगरपालिकाले गरिरहेको कर संकलन व्यवसायीलाई निरुत्साहित गर्ने तवरबाट आएको भन्दै उनीहरुले यस्तो अव्यवहारिक र अवैज्ञानिक कर प्रणालीलाई बहिष्कार गर्ने बताएका छन् । नगरपालिकाको कर प्रणालीविरुद्ध संघर्ष/परामर्श समिति गठन गरी विरोधमा उत्रिएका व्यवसायीले शुक्रबार पत्रकार सम्मेलन गरी नीति र विधिको ख्यालै नगरी आफूखुसी कर लागू गर्न खोजेको भन्दै कडा प्रतिवाद गरका छन् ।
संघर्ष समितिका संयोजक तथा रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशवकुमार आचार्यले भर्खर नगरपालिकामा दर्ता प्रक्रियामा गएका व्यवसायीलाई पनि २०७५ सालदेखिको कर लगाएर नगरपालिकाले आफूहरुलाई ठूलो अन्याय गरेको दाबी गरे । रोल्पा नगरपालिकाले आफ्नै मातहतको राजस्व परामर्श समितिमा समेत कुनै छलफल नगरी एकपक्षीय करवृद्धि गरेको भन्दै अध्यक्ष आचार्यले त्यसलाई तुरुन्त सच्याउन माग गरेका छन् ।
‘हामीले करलाई व्यवसायीमैत्री बनाऔं भनेर नगरपालिकामा धेरैपटक आग्रह गर्यौं, तर छलफलको वातावरण त कुरै छोडौं कुरा समेत सुन्न छोडेर एकोहोरो कर लाद््न थालिएको छ,’ आचार्यले भने-‘कुन कुराले उहाँहरुलाई यति निर्मम बनाएको छ, थाहा छैन । यो विषय नटुंग्याउने हो भने नगरपालिकाप्रतिको व्यवसायीको धारणा नकारात्मक र असहयोगी पनि बन्न सक्छ भन्ने कुरा उहाँहरुले समयमै बुझ्न जरुरी छ ।’
रोल्पा नगरपालिकालाई व्यवसायीहरुले सधँै सहयोग गर्दै आएको बताउँदै उनीहरुले नगरपालिकाले अभिभावकत्व ग्रहण गर्नेभन्दा पनि तानाशाही शैलीमा चल्न थालेकोमा आफूहरु दुःखी भएको गुनासो गरे । नगरमा दर्ताको मितिलाईभन्दा पनि पान नम्बर लिएको मितिलाई आधार मानेर जरिवानासहित एकाएक करको भार थोपरेर व्यवसायीलाई आतंकित बनाएको उनीहरुको आरोप छ ।
नीति-विधिमा टेकेर प्रक्रियागत ढंगबाट ल्याइने कर तिर्न भने आफूहरु सधैँ तयार रहेको रोल्पा उद्योग वाणिज्य संघका कानूनी सल्लाहकार तुलसी जिसीले स्पष्ट पारे । उद्योगी व्यवसायीहरुले रोल्पा नगरपालिका, जिल्ला प्रशासन कार्यालयलगायतमा ज्ञापनपत्र पेश गरिसकेका छन् ।
कुनै व्यवसाय चलाउन आन्तरिक राजस्व कार्यालयमा दर्ता भएर कर तिरे पुग्नेमा स्थानीय तहमा पनि दर्ता गरेर कर तिर्नुपर्ने, वाणिज्य कार्यालयमा पनि तिर्नुपर्दा तेहेरो करको मारमा परेको व्यवसायीको तर्क छ । व्यवसायको कर चुक्ता प्रमाणपत्र वा अन्य सरकारी कामकाजका लागि आन्तरिक राजस्व कार्यालयको कागजात भए पुग्नेमा आवश्यक नै नपर्ने स्थानीय तह र वाणिज्य कार्यालयको कर थोपरेर व्यवसायीलाई मारमा पार्ने काम मात्रै भएको उनीहरुको भनाइ छ ।
व्यवसायीले तीन तहका सरकारलाई कर तिर्ने, व्यवसायीको करबाट जनप्रतिनिधि र कर्मचारीले तलब-सुविधा खाने तर सरकारबाट व्यवसायीलाई राहत, सहुलियत, नीतिगत सुधार र संरक्षण नभएको उद्योगी व्यवसायीको गुनासो छ । तीनै तहका सरकारले उद्योगी व्यवसायीका जायज माग सम्बोधन गरी व्यवसायमैत्री वातावरण बनाउन जरुरी छ ।
यता रोल्पा नगरपालिकाले भने कर तिर्नु सबै नागरिकको दायित्व भएको बताउँदै व्यवसायीले आफूले सञ्चालन गरेको व्यवसायिक कर तिर्नुपर्ने स्वभाविक कार्यलाई अस्वभाविक बनाइएको बताएको छ ।
पसल बन्द, सटरको साँचो मेयरलाई
उता कर वृद्धिको विरोधमा हेटौंडा उपमहानगरका व्यवसायीले आफ्ना व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भइरहेको कर वृद्धिविरुद्धको आन्दोलनलाई साथ दिँदै व्यवसायीहरूले शुक्रबार आफ्ना व्यवसाय बन्द गरेर उपमहानगर कार्यालयमा धर्ना दिएका हुन् ।
व्यवसायीहरूले व्यवसायिक सटरको साँचो उपमहानगरपालिकाकी मेयर मिना लामालाई बुझाएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा निर्माण व्यवसायी संघ, जिल्ला सहकारी संघसहित जिल्लास्थित १६ वटा विषयगत व्यवसायिक संस्थाका व्यवसायी कर वृद्धिको विरोधमा आन्दोलनमा छन् ।




