सरकार भनेको नागरिकको आशा, भरोसा र विश्वास गर्ने निकाय हो । नागरिकले अपनत्व लिँदा मात्रै सरकार र राज्य बलियो हुन्छ । राष्ट्र भएमा सरकार हुने हो । राष्ट्र हुनका लागि जमिन, नागरिक र सार्वभौमसत्ता हुनुपर्छ । राष्ट्रको भूगोलभित्र बस्ने नागरिकले सरकार हुनुको अनुभूति पाउन सक्दा मात्रै राष्ट्रियता बलियो हुन्छ ।
नवलपरासीको सुस्ताका बारेमा धेरै चर्का कुरा भए । भारतले अतिक्रमण गरेको नेपाली भूमिका बारेमा चर्का भाषण गरेर राजनीति चलाएका दल र नेताहरूले नागरिकका समस्या समाधान गर्न लामो समय चासो दिएनन् । पछिल्ला वर्ष सरकारले सुस्तावासीको हितका लागि गरेको काम प्रशंसनीय छ । खासगरी २०७२ सालमा केपी ओली प्रधानमन्त्री भएपछि सुस्ताका बासिन्दाका समस्या समाधानको सुरुवात भएको थियो । २०७४ सालमा पुनः ओली प्रधानमन्त्री भएपछि योजनाबद्ध काम अघि बढे । अहिले सुस्तावासीले राज्यप्रति अपनत्वबोध गर्न पाएका छन् ।
नारायणी नदी पारिको सुस्ता अहिले पूर्वाधार विकासले सुगम भएको छ । सुस्तावासीको दैनिकी सहज भएको छ । सोलारबाट बिजुली पुगेको छ । सडक पक्की भएको छ । विद्यालयमा आवश्यक जनशक्तिको व्यवस्थापन गरिएको छ । स्वास्थ्य चौकीमा जनशक्ति व्यवस्थापन भएको छ । विपन्न नागरिकलाई सरकारले घर बनाइदिएको छ । नारायणीमा झोलुङ्गे पुल बनेपछि सुस्तावासीको दैनिकी सहज मात्रै भएको छैन, नेपालको लामो पुल हेर्न आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । नारायणी नदीमा पुल नहँुदा सुस्तावासी डुङ्गाबाट नारायणी तर्थे । अर्को विकल्प भारतीय बाटो थियो । त्यसबेला भारतीय सीमा सुरक्षा फौज एसएसबीको गाली खानुपर्दाको दुःख र पीडा बेग्लै छ । करिब २३ करोड लागतमा पुल बनेपछि सुस्ता राज्यको मुलप्रवाहमा जोडिएको छ ।
सुस्तावासीले लामो समय संघर्ष गरेर देशको भूमि जोगाए । तिनै साहसी र राष्ट्रवादी नागरिकको हितको लागि राज्यले आधारभूत सुविधा पु¥याएको छ । अब यी कामले मात्रै सुस्ताका बासिन्दा सन्तुष्ट हुँदैनन् । उनीहरूलाई जोतभोग गर्दै आएको जग्गाको लालपूर्जा चाहिएको छ । कतिपय बाहेक धेरैको नागरिकता छैन । सुस्ताका बासिन्दाले सशस्त्र प्रहरी बेसक्याम्प बसेपछि सुरक्षाको अनुभूति गर्न थालेका हुन्, अझँै भारतीय थिचोमिचो हटेको छैन । उनीहरू पूर्णतःसुरक्षाको अनुभूति गर्न सकिरहेका छैनन् । उनीहरूले पूर्णतः सुरक्षाको अनुभूति पाउनुपर्छ । राज्यले गर्ने व्यवहार र सञ्चालन गर्ने कार्यक्रमबाट नै नागरिकले अपनत्व महसुश गर्न सक्छन् ।




