गोबिन्द घर्ती-देवदह ।
देवदह नगरपालिकाको कार्यालय रहेको क्षेत्रमा वायु प्रदूषण बढेको वायु प्रदूषण मापन परिणक्षणले देखाएको छ । छिमेकी पालिका नवलपरासीको सुनवल-७, सिसानीमा रहेको पाल्पा सिमेन्ट र लक्ष्मी स्टील कम्पनी तथा अन्य उद्योगबाट निस्केका धुँवा र धुलोका कारण वायु प्रदूषण बढेको हो ।
देवदह नगरपालिकाले गरेको वातावरणीय प्रदूषण निगरानीको प्रतिवेदनअनुसार मापदण्डभन्दा बढी प्रदूषण भएको देखिएको छ । लुम्बिनी एग्रो इन्भाइरोमेण्ट ल्याव प्रालिले गरेको वायु प्रदूषण मापनले मानिसको स्वास्थ्यमा असर पुर्याउने गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । हावामा धुलोको मात्रा अधिक रहेको प्रतिवेदनमा देखाइएपछि प्रदूषणका कारण फोक्सोको क्यान्सर हुने खतरा रहेको देवदह नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक गिरी तरामुले बताए । हावामा अत्याधिक मात्रामा धुलोका कण मिसिएपछि त्यसले मानिसको स्वास्थ्यमा असर गर्ने तरामुले बताए ।
प्रतिवेदनले देवदह नगरपालिका क्षेत्रमा हावामा धुलोको मात्रा अत्याधिक बढेको कारण सिधँै मानव स्वास्थ्यमा असर गर्ने उल्लेख गरेको छ । प्रतिवेदनले एलर्जी, स्वासप्रवासमा समस्या देखिन उल्लेख गरेको छ । प्रतिवेदनले नगरपालिका क्षेत्रमा हावामा धुलोको मात्रा बढिभएका कारण अनिवार्य माक्स प्रयोग गर्नुपर्ने उल्लेख गरेको छ । प्रतिवेदनमा पार्टीकलर म्याटर (पिए) २ं.५ मा ४० हुनु पर्नेमा ५३ रहेको र पार्टीकलर म्याटर (पिए) १० मा १२० हुनु पर्नेमा १२६ रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनमा आवाज र पानीमा समेत प्रदूषण बढेको देखाइएको छ ।
प्रतिवेदन प्राप्तपछि देवदह नगरपालिका क्षेत्रमा वायु प्रदूषण धेरै देखिएको नगरप्रमुख धु्रवप्रसाद खरेलले बताए । प्रदूषणको कारण मानव स्वास्थ्यमा नकरात्मक असर पुर्याउने भएकोले प्रदूषण गर्नेहरुलाई बोलाएर छलफल गर्ने प्रमुख खरेलको भनाइ रहेको छ । प्रदूषण घटाउन निर्देशन दिने र निर्देशन अनुसार प्रदूषण नघटेमा कानुनी कार्बाहीमा जाने नगरप्रमुख खरेलले बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले कम्पनीहरुले वातावरणीय मापदण्ड पालना गर्न आवश्यक रहेको बताए । उनले वातावरणीय मापदण्ड पालना गर्न आग्रह गर्ने र वेवास्ता गरेमा कानुनी कार्बाहीको प्रक्रिया अगाडि बढाउने जनाए । पटक/पटक प्रदूषणको कारण समस्या झेल्नु परेको भन्दै नगरपालिका र पाल्पा सिमेन्ट उद्योगलाई सचेत गराए पनि प्रदूषण न्यूनीकरणको काम हुन नसकेको स्थनीयवासी विजय चौधरीले बताए ।
किसानले लगाएको बालीनालीको पातमा धुलो टासिने, कपडा सुकाएर राख्दा धुलो टासिने, घर भित्र धुलो जम्ने जस्ता समस्या रहेको चौधरीले बताए । यस्तो समस्या समाधान गर्न पटक/पटक आग्रह गरे पनि समस्या समाधान नभएको स्थानीयवासीको भनाइ रहेको छ ।
नागरिकको खेतीपाती र कपडामा मात्र होइन देवदह नगरपालिकाको मुख्य केन्द्र कायपालिकाको कार्यालयमा समेत धुलो टासिएर समस्या बढ्दै गएपछि नगरपालिकाले वातावरणीय प्रदूषण मापन गराएको हो । वातावरणीय प्रदूषण मापनले वायुमण्डलमा अत्याधिक धुलो र धुँवा मिसिएको प्रतिवेदन दिएपछि न्यूनीकरणको लागि काम अगाडि बढाउने पाल्पा सिमेन्ट उद्योगका प्रतिनिधि जीवन निरौलाको भनाइ रहेको छ । उद्योगलाई मापदण्डभित्र ल्याएर सञ्चालन गर्न आफूहरु तयार रहेको निरौलाको भनाइ रहेको छ । उद्योगबाट निस्केको धँुवा र धुलोको कारण प्रदूषण बढिरहेकोले यसको न्यूनीकरणको लागि सम्बन्धित निकायले पहल गर्न आवश्यक देखिन्छ ।
यसैबिच देवदहको बुद्ध सामुदायिक वनले डम्पिङ्ग साइडमा फोहोर फाल्न नदिएपछि देवदह नगरपालिका र बुद्ध सामुदायिक वनको संयुक्त टोलीले अनुगमन गरेको छ । देवदह नगरपालिकाले डम्पिङ्ग साइड व्यवस्थापन नगरेको भन्दै बुद्ध सामुदायिक वनले फोहोर फाल्न रोकेको थियोे ।
डम्पिङ्ग साइडमा फोहोर फाल्न नदिएपछि नगरपालिका र बुद्ध सामुदायिक वनले संयुक्त रुपमा अनुगमन गरेको हो । डम्पिङ्ग साइडको व्यवस्थापन गर्न नगरपालिकालाई पटक/पटक आग्रह गरे पनि वेबास्ता गरेपछि डम्पिङ्ग साइडमा फोहोर फाल्न नदिएको बुद्ध सामुदायिक वनका अ्रध्यक्ष टेकबहादुर रानाले बताए ।
डम्पिङ्ग साईड व्यवस्थापन नगर्दा दुर्गन्ध फैलिएको र दुर्गन्धका कारण स्थानीयवासीले समस्या झेल्न बाध्य भएपछि फोहोर फाल्न नदिएको अध्यक्ष रानाले जनाए । नगरपालिका क्षेत्रबाट निस्केको फोहोर डम्पिङ्ग साइडमा लगेर फाल्ने, तर व्यवस्थित गर्दा दुर्गन्ध फैलिएका कारण आफूहरुले बाध्य भएर फोहोर रोक्नु परेको अध्यक्ष रानाले बताए । डम्पिङ्ग साइडको अनुगमन गरेपछि सञ्चारकर्मीहरुसँग बोल्दै नगर प्रमुख धु्रवप्रसाद खरेलले तारवार गरेर डम्पिङ्ग साइडलाई व्यवस्थित गर्ने बताए । उनले समस्या समाधानको लागि विकल्पहरु खोज्दै अगाडि बढ्नेमा आफूहरु तयार रहेको बताए ।
नगर प्रमुख खरेलले घर/घरबाट निकस्को फोहोरलाई वर्गीकरण गर्ने हो भने समस्या समाधान गर्न सहज हुनेमा जोड दिए । उनले डम्पिङ्ग साइडलाई तत्काल व्यवस्थित गरेर फोहोर व्यवस्थापन गर्ने बताए ।




