बुटवल । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लि.ले सातै प्रदेशका उच्च तहका कर्मचारीलाई धितो मूल्यांकन तथा परियोजना विश्लेषण सम्बन्धी तालिम दिएको छ । संस्थाले सातै वटा प्रदेशमा कार्यरत १३५ जना शाखा प्रमुख तथा १८ जना कार्यक्रम अधिकृतहरुको लागि यस्तो तालिम दिएको हो ।
सवै प्रदेशहरुको तालिमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले संस्थामा कार्यरत कर्मचारीहरु सक्षम भएमा मात्र संस्था वलियो हुने भएकोले यस वर्ष सवै कर्मचारीहरुको वृत्तिविकासका लागि आन्तरीक तथा वाह्य तालिम आयोजना गरिने बताए । विगतमा कर्जा विश्लेषण गलत भएकोले लगानी भएका कर्जा असुलीमा समस्या आएको बताउँदै अब लगानी हुने कर्जाहरु शत्प्रतिशत असुली ग्यारेन्टी हुनुपर्नेमा उनले जोड दिए ।
उनले क्षमता अभिवृद्धि गरी लघुउद्यम कर्जाको गुणस्तरीय लगानी हुने अपेक्षा राखेको वताउंदै शाखामा कार्यरत सहकर्मीहरुलाई तालिममा सिकेका कुराहरु सिकाएर सवैजना सक्षम हुन निर्देशन दिए । यस आर्थिक वर्षमा कुल लगानी गर्ने कर्जा मध्ये ७५ प्रतिशत् धितो कर्जा लगानी गरी
कुल लगानीमा रहेको कर्जाको ३३ प्रतिशत् हिस्सा धितोमा आधारित कर्जा हुनुपर्ने ज्ञवालीले बताए ।

कर्जाको सही सदुपयोग गरी आम्दानी बढाउन सक्ने र सावाँ किस्ता नियमित भुक्तानी गर्न सक्ने गरी ऋणी र धनजमानिलाई अभिमुखीकरण गरी मात्र कर्जा लगानी गर्नुपर्ने,ऋणीलाई कर्जा रकम भुक्तानी गर्दा किस्ता भुक्तानी तालिका पनि साथमा दिनुपर्ने र सोको एक प्रति सदस्यको कर्जा फाइलमा संलग्न गर्नुपर्ने र ऋण लगानी गरेको एक महिनाभित्र ऋण सदुपयोगिता जाँच गरी सोको रेकर्ड अनिवार्य रुपमा सम्बन्धित सदस्यको कर्जा फाइलमा राख्नु पर्नेमा सिईओ ज्ञवालीले कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।
तालिममा विषेश गरी शाखाहरुले लघुउद्यम कर्जा वृद्धि गराउन धितो मूल्यांकनलाई कसरी प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ, घर जग्गा धितो लिंदा के के विषयमा ध्यान दिने, तराई र पहाडमा रहेका बाटो भएको घडेरीयोग्य जग्गाहरु तथा खेतीयोग्य जग्गाहरु कति क्षेत्रफल सम्मको
धितो लिने, खोलानाला, हाईटेन्सन लाईननजिक, अन्तराष्ट्रिय बोर्डर नजिक, भिरपाखोका जग्गाहरु लिंदा कति दुरी टाढा र कस्ता किसीमको जग्गा धितो लिने, जग्गाको नापजांच कसरी गर्ने, नक्सा तथा लालपुर्जाको निरीक्षण गर्ने विधी वारेमा ईटहरीमा ईन्जिनियर आमोदराम आचार्य, सौराहामा ईन्जिनियर गोविन्द वानिया, बुटवलमा ईन्जिनियर अमित खनाल र नेपालगञ्जमा ईन्जिनियर विवेक लामिछानेले प्रशिक्षण दिएका थिए ।
परियोजना विश्लेषण, वजारीकरण कसरी गर्ने, असल ग्राहकको पहिचान कसरी गर्ने, कस्तो व्यावसायलाई कर्जा लगानी गर्ने, व्यावसायिक योजना कसरी तयार गर्ने र आम्दानी अनुसार किस्ता वनाईदिने तरिका, वास्तविक र यथार्थपरक आउने गरी नगद प्रवाह कसरी भर्ने, कर्जा परियोजना तथा धितोको सुक्ष्म विश्लेषण कसरी गर्ने, कागतजातहरु के के लिने, जिपिएस कोड नं किन र कसरी लिने, सदुपयोगीता रेकर्ड निरीक्षणको महत्व, निरिक्षण विधि आदी विषयहरुमा कर्जा विभाग प्रमुख टोप बहादुर रास्कोटीले प्रशिक्षण दिएका थिए ।
उक्त कार्यक्रममा लेखा विभाग प्रमुख मनरुपा पौडेलले सहभागीहरुलाई लेखा सम्वन्धि विषयहरुमा र सामान्य सेवा विभाग प्रमुख ख्यामकान्त अर्यालले कार्यालय संचालन संम्वन्धी विषयमा प्रशिक्षण दिएका थिए ।
लुम्विनी प्रदेशको वुटवलमा आयोजित सभालाई सम्वोधन गर्दै संस्थाका अध्यक्ष विनोद ज्ञवालीले तालिममा सिकेका विषयहरु व्यावाहारमा उतारी संस्थामा अव लगानी हुने कर्जाहरु एउटा पनि भाखा नाघ्न नदिने गरी असल ग्राहक पहिचान गरेर लगानी गर्न र संस्थालाई अन्य संस्थाभन्दा अव्वल सावित गर्न निर्देशन दिए ।
संस्थाले कोशी र मधेश प्रदेशमा कार्यरत ३७ जना शाखा प्रमुख तथा ४ जना कार्यक्रम अधिकृत गरी ४१ जनाको लागि श्रावण २२ र २३ गते कोशी प्रदेशको इटहरीमा, वाग्मती र गण्डकी प्रदेशमा कार्यरत ३२ जना शाखा प्रमुख तथा ४ जना कार्यक्रम अधिकृत गरी ३६ जनाको लागि श्रावण २६ र २७ गते वागमी प्रदेशको सौराहा चितवनमा सम्पन्न गरेको हो ।
यस्तै लुम्विनी प्रदेश पूर्वमा कार्यरत ३१ जना शाखा प्रमुख तथा ४ जना कार्यक्रम अधिकृत गरी ३५ जनाको लागि श्रावण २८ र २९ गते लुम्विनी प्रदेशको वुटवलमा र लुम्विनी प्रदेश पश्चिम र कर्णाली प्रदेशमा कार्यरत ३५ जना शाखा प्रमुख तथा ६ जना कार्यक्रम अधिकृत गरी ४१ जनाको लागि श्रावण ३० र ३१ गते लुम्विनी प्रदेशको नेपालगञ्जमा तालिम सम्पन्न गरेको छ ।
ईटहरीको होटल त्रियुगामा श्रावण २२ गते बाट शुरुवात भएको तालिम श्रावण ३१ गते नेपालगञ्जमा सम्पन्न भएको थियो ।
तालिममा कोशीका नि. प्रदेश प्रमुख विजय कुमार पासवान, वागमतीका प्रदेश प्रमुख श्यामकृष्ण महर्जन, लुम्विनी प्रदेश प्रमुख अमरनाथ सेढाई र कर्णाली प्रदेश प्रमुख सन्तोष चन्द वित्त विभाग प्रमुख मनरुपा पौडेलले आआफ्ना भनाई राखेका थिए ।
सवै प्रदेशमा सहभागीहरुलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली ले प्रमाणपत्र प्रदान गरेका थिए । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ प्रदेश, ५३ जिल्लाहरुमा १३५ शाखा कार्यालयहरु, ६ प्रदेश कार्यालय र केन्द्रीय कार्यालय गरी १४२ कार्यालय सञ्जाल मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आइ रहेको छ ।
संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराइ विना धितोमा तथा धितो कर्जा लगानी गर्नुका साथै व्यावसायिक सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आइ रहेको छ । २०८१ असार मसान्तसम्म ९९ हजार सदस्य, ३५ हजार ऋणीमार्फत १ अर्व ५८ करोड बचत संकलन गरी ४ अर्ब २५ करोड कर्जा लगानी गरेको छ ।




