गाउँको उत्पादन सहर पुर्याउन युवाको एउटा समूहले खोलेको कम्पनी हो पैैंचो पसल प्रालि । पैचो पसल प्रालिले बजारीकरणमा सघाएपछि गुल्मीमा व्यवसायिक तरकारी खेती फस्टाएको छ । बुटवल र आसपासको सहरमा बस्ने उपभोक्ताले पहाडी उत्पादन खान पाइरहेका छन् । पैंचो पसलका अबकायोजना र कामका बारेमा पैंचो पसल प्रालिका सिईओ केशव न्यौपानेसँग दैनिक लुम्बिनीका लागि आचार्य प्रदीपले गरेको कुराकानी ।
पैंचो पसल प्रालिले स्थापनाको छोटो समयमै बुटवलमा उपभोक्तालाई आर्कषित गर्न सफल भएको छ, आगामी योजना के के छन् ?
पैचो पसलले आफ्नो स्थापना संगसंगै धेरै छिटो आफ्नो पहिचान बनाउन सफल भएको छ । खासगरी बुटवलको तरकारी बजारको रुपमा पैँचो पसल अत्याधिक लोकप्रिय रहेको छ ।
यसको पहिलो कारण भनेको बुटवल आसपासमा गुल्मी, अर्घाखाँची, पाल्पा लगाययतका जिल्लाहरुबाट आएर बसेका उपभोक्ताले आफू जन्मे हुर्केको ठाउँका र सो स्थानमा रहँदा प्रयोग गरेका तरकारी फलफूलहरु खान पाएका छन् ।
पहाडका उत्पादन थातथलो छाडेर आउँदा यहाँ पाउँदाखेरी बालापन फर्केर आएजस्तो, माईतीगाउँ पुगेजस्तो, आफ्नै घरमा भएजस्तो भएको हुनाले यसले स्थापनाको छाटो समयमा नै उपभोक्ताहरुको मन जित्न सफल भएको छ ।
उपभोक्ताको रुची छिटो—छिटो फेरिएको हो ?अहिलेसम्मको अनुभवले उपभोक्ताको रुची के पाउनुभयो ?
पछिल्लो समयमा उपभोक्ताहरुको खाद्यप्रतिको रुचिमा क्रमिक रुपमा परिवर्तन भईरहेको छ । प्रविधिमा भईरहेको परिवर्तन र बाह्य संस्कृतिको प्रभाव तथा परम्परागत नेपाली उत्पादनहरुको महत्व बुझेका कारणले उपभोक्ताहरुले फरक रुची देखाइरहेका छन् । युवा उपभोक्ताहरुले बिभिन्न क्षेत्रबाट हेरेर केही नयाँ प्रयोग गर्ने र त्यसमा तरकारी तथा फलफुलको प्रयोग बढाएका छन् ।
परम्परागत रुपमा हाम्रो पुर्खाले प्रयोग गर्दै आएको तर हाल प्रयोग नभएका चिजहरुको महत्व बुुझेर उपभोक्ताहरुले रुचि देखाएको देखिन्छ । खासगरी कोभिड पछाडि आम उपभोक्ताहरु स्वास्थ्य प्रति अलि बढि चनाखो भएको कारणले स्वास्थ्यबद्र्धक खानाहरुको उपभोग बढेको छ । पछिल्लो समय स्वादको लागि भन्दापनि स्वास्थ्यको लागि सामाग्रीहरु खरिद गर्ने र उपभोग गर्ने प्रचलन बढेको छ ।
कम्पनीले विभिन्न वस्तु उत्पादन गरेर ब्राण्डिङ गरिरहेको छ, के—के उत्पादन छन् ?
पैचो पसल प्रालिले गुल्मीको रिडिमा नेपालकै अत्याधुनिक पैचो प्रशोधन केन्द्र स्थापना गरेर बिभिन्न किसिमका जामहरु, क्याचप, अचारहरु, चुक तथा छोपहरु, सोयासस, भिनेगर, आटो, कोदोको पिठो, फापरको पिठो, सिंकि मस्यौरा , लगायत ६३ प्रकारका पैचो उत्पालदन गरि ती उत्पादनहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा बिक्रिबितरण तथा ब्राण्डिङ गरिरहेको छ ।
बस्तुको ब्राण्डिङको लागि धेरैजसो डिजिटल मिडियाको प्रयोग गरिरहेका छाँै । कम्पनीको फेसबुक, युट्युब, ईन्स्टाग्राम लगायतका माध्यमबाट कम्पनीको उत्पादनहरुलाई डिजिटल ब्राण्डिङ गर्दै आईरहेका छाँै ।नेपालको हरेक कुना कन्दरामा पैचोका सामाग्री पाईराख्नु भएको छ । हामीले परम्परागत चुक,सिंकी, मस्यौरा,टमाटर क्याचप, छोप सहितका सामाग्रीहरु अमेरिका, जापान,अस्ट्रलिया, दुबई सहितका देशहरुमा पुर्याएका छाँै ।
पैचो पसल प्रालिले किसानसँग कसरी सहकार्य गरिरहेको छ ?
पैंचोको स्थापना ग्रामिण किसानहरुको उत्पादित बस्तुको बजारीकरणको सुनिश्चितता गर्नको लागि स्थापना भएको हो । यसको प्रमुख उदेश्य नै नेपालको उच्च पहाडी भुभागमा भएका कृषि उपजहरुको बजारीकरण गर्ने भएको हुनाले पैचो पसलले किसान संग प्रत्यक्ष समन्वय गरेर आफ्ना व्यवसायीक गतिबिधिहरु सञ्चालन गरिरहेको छ । हामिले किसानहरुलाई आवश्यक परे बिउ बिजनहरु र प्राविधिक सुविधाहरु समेत प्रदान गर्दछौँ ।
हामीले सम्बन्धीतको खेतबारी सम्म नै पुगेर रोगब्याधीको उपचार गर्ने गर्दछौँ । यसको लागि बिभिन्न जेटि जेटिएहरु र कृषि प्राविधिकहरु निःशुल्क रुपमा उनीहरुलाई उपलब्ध गराउँदै आएका छौँ । उनीहरुले जति उत्पादन गरेका छन् त्योसम्पूणर् बिक्री बितरण गरिदिने ग्यारेन्टी समेत गरेका छौँ । त्यो हिसाबले चाहिँ पैचो र किसानहरुका बिचमा अनोन्याश्रीत सम्बन्ध रहेको छ । पैचोको सफलताका सुचकहरु र पैचोकै खुसी भनेकै किसानहरु हो ।
अहिले कम्पनीले नै गुल्मीका विभिन्न ठाउँमा जग्गा लिजमा लिएर तरकारी खेती गरिरहेको छ भनिन्छ नि ?, यसो गर्दा किसान भड्किने त हुँदैन ?
हामीले पछिल्लो ७/८ वर्ष कृषिमा काम गर्दा खासगरी पहाडी भुभागमा ठुलो क्षेत्रमा किसानहरुले खेती गर्न नक्ने भएकोले उत्पादन लागत बृद्धि हुने अवस्था आएको थियो । यहि कुरालाई ध्यानमा राखेर पैँचो पसलले यो वर्षदेखी गुल्मीको ३ स्थान , गुल्मीको दरबार गाउँपालिका, मुसिकोट गाउँपालिका र छत्रकोट गाउँपालिकामा यो शुरु गरेका छौँ ।
यी तीन पालिकाका आँपचौर, पुर्खे र खज्र्याङमा हामीले ठूलो प्लट डमोस्ट्रेसन भनेर शुरु गरेका छौँ । यी क्षेत्रफलमा हामीले बिभिन्न किसिमका खेतीहरु गरेका छौँ । खज्र्याङमा १ सय रोपनी रहेको छ , आँपचौरमा १५० रोपनीमा खेती गरिरहेका छाँै भने पुर्खेमा करिब ६० रोपनीमा खेती गरिरहेका छौँ । अन्य स्थानहरुमा पनि ठूलो मात्रामा खेती गर्न सकिने क्षेत्रको बारेमा हामीले अध्ययन गरिरहेका छौँै । यो वर्षबाट पाल्पा जिल्लामा २ वटा डोमेस्ट्रेसन प्लट निर्माण गर्ने सोचमा रहेका छौँ ।
खज्र्याङमा हामीले टमाटर खेती गर्यौं, राम्रै भयो । अहिले काउली र सिमि खेती गरेका छौँ । आँपचौरमा क्याप्सीकम, कांक्रोे उत्पादन गरेका छाँै भने पुर्खेमा टमाटर उत्पादन गरिरहेका छौँ ।
एकिकृत रुपमा जग्गाको विकास गर्ने र कृषकहरुलाई पनि एकिकृत रुपमा ठूलो क्षेत्रफलमा खेतीगर्नको लागि हामीले पहल गरेका हौँ । ठुलो क्षेत्रमा उत्पादन गर्दा उत्पादन लागत घट्ने र रोगब्याधीको आक्रमण पनि सजिलैसंग निवारण गर्न सकिने खालको हुन्छ । एउटै जनशक्तिले धेरै काम गर्न पाउने भएकोले पनि यसको प्रभावकारीता बढेको छ । केन्द्रकृत रुपमा काम गर्दा बन्यजन्तुको समेत समस्या समाधान हुने हुन्छ । किसानहरुलाई पनि फाईदा नै छ । ठुलो मात्रामा उत्पादन गर्दा पैचो मात्रै होईन् अन्य बजारका ब्यक्तिहरुको सहभागिता र पुहँच हुन्छ ।
पैँचोले आफैले खेती गरेर किसानहरुको अवमूल्यन गरेको भाने हुँदै होईन्। किसानको सम्मान गरेको हो। अहिले जग्गा टुक्रने र खण्डीकरण हुँदै गईरहने भएको छ । पहाडमा जग्गा बाँझिदै जाने अवस्था आएको छ । यस्तो अवस्थामा पहाडमा संभावना छ है, भन्ने उदाहरण दिनको लागि हामीले काम गरेर देखाउन खोजेका मात्रै हौँ । पैचो र किसान बिचको सम्बन्ध कमजोर हुन सक्दैन् । पैँचोका कारणले किसान होईन् कि किसानका कारणले पैँचो स्थापना भएको छ ।
अझै धेरै किसानलाई व्यवसायिक खेतीमा लगाएर बजारसँग जोड्न कसरी सकिएला ?
आयआर्जनमा जोड्नको लागि किसाले सबैभन्दा पहिले कृषकले बजारमा के बिक्छ र कहिले बिक्छ भन्ने कुरामा ध्यान राख्नुपर्दछ । सामान्यतया कृषि उत्पादन गर्दा बालि पात्रोको पालना गर्नु पर्दछ । कहिले रोप्ने र त्यसलाई बजारमा कहिले पुराउने भन्ने कुरामा ध्यान दिनुपर्छ ।
सिजन भन्दा केही दिन अगाडी उत्पादीत सामाग्री बजारमा पुराउन सकेमा सिजनको तुलनामा त्यसको भाउ बढि पाईन्छ । आयअर्जनमा जोडिन योजनाबद्ध तरिकाले जोडिनुपर्यो । बन्यजन्तुको समस्या छ भने बन्यजजन्तुले समस्या नपार्ने खालका खेतीहरु गर्नुपर्यो । कागती, अमिलो, भोगटे , खुर्सानी, बेसार, अम्रिसो लगायतको उत्पादन गर्दा बन्यजन्तुको समस्या कम हुने देखिन्छ ।
परम्परगता तरिकाले कृषि नगर्ने र जे उत्पादन गरेपनि ठुलो मात्रामा उत्पादन गर्ने गर्नुपर्दछ । यसो गर्दा क्षमता बिकास हुन्छ । हरेक वर्ष बाली परिवर्तन नगर्ने गर्नुपर्दछ । एउटै खेती गरेमा त्यो खेतीम आएको परिवर्तन तथा रोगको उपचारमा आफै परिपक्क हुन सकिन्छ । ठाउँ परिवर्तन गर्ने तर बालि परिवर्तन नगर्ने गुर्नपर्छ ।




