धार्मिक तथा पर्यटकीय सम्भावनाले भरिपूर्ण सन्धिखर्क नगरपालिका–७ पछिल्लो समय पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन र औद्योगिक गतिविधिका कारण चर्चामा छ । प्रसिद्ध सुपा देउराली मन्दिर, ऐतिहासिक खाँचीकोट दरबार, प्रस्तावित सुपा देउराली केबलकार तथा चुनढुङ्गा खानीलाई वडाको आर्थिक विकाससँग जोड्ने प्रयास भइरहेको वडा अध्यक्ष चुराबहादुर केसी बताउँछन् ।
स्थानीय तहको नेतृत्व सम्हालेपछि भएका विकास निर्माण, पर्यटन पूर्वाधार, औद्योगिकीकरण, स्थानीय सरकारका चुनौती तथा आगामी योजनाबारे नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष चुराबहादुर केसीसँग दैनिक लुम्बिनीले गरेको कुराकानीको सम्पादित अंश:
चुनावका क्रममा जनतासामु गरिएका प्रतिबद्धताहरू कत्तिको पूरा भए ? यो अवधिमा वडामा कस्तो परिवर्तन आएको छ ?
निर्वाचित भएर आउँदा हामीले जनतासामु गरेका अधिकांश प्रतिबद्धता पूरा गरेका छौँ । प्रतिबद्धता गरेभन्दा पनि उल्लेखनीय रूपमा थप काम गर्न सफल भएका छौँ । चुनावका बेला गरेका वाचा कार्यान्वयन भएका छन् र त्यसको प्रत्यक्ष अनुभूति वडावासीले गर्नुभएको छ । चार वर्षअघिको वडा नम्बर ७ को अवस्था र अहिलेको अवस्थालाई स्थलगत रूपमा हेरेर तथा जनतासँग बुझेर तुलना गर्ने हो भने परिवर्तन आफैँ स्पष्ट हुन्छ ।
समाजमा ‘३५ वर्षमा केही भएन’ भन्ने खालको निराशाजनक भाष्य पनि सुनिन्छ । जनप्रतिनिधिका रूपमा यसलाई कसरी हेर्नुहुन्छ ?
काम गर्ने मान्छेले जस र अपजस दुवै व्यहोर्नुपर्छ । विगत ३५ वर्षको राजनीतिक अवस्थालाई हेर्दा निरन्तर राजनीतिक उतारचढाव र सरकार परिवर्तन भइरहे । कुनै पनि सरकारले स्थायी रूपमा पाँच वर्ष ढुक्कसँग काम गर्ने वातावरण नपाउँदा विकासको गतिमा असर परेको हो । त्यसैले ३५ वर्षको अवधिलाई एकमुष्ट रूपमा नकारात्मक ढङ्गले हेर्नुभन्दा देश कुन परिस्थितिबाट गुज्रिरहेको थियो र आज कुन अवस्थामा आइपुगेको छ भन्ने विषयलाई समग्रतामा हेर्नु आवश्यक हुन्छ ।
वडा नम्बर ७ धार्मिक तथा पर्यटकीय हिसाबले निकै समृद्ध छ । सुपा देउराली र खाँचीकोट दरबारलाई स्थानीय समृद्धिसँग कसरी जोड्नुभएको छ ?
प्रसिद्ध सुपा देउराली मन्दिर नेपाल भ्रमण वर्ष २०२० का प्रमुख गन्तव्यहरूमध्ये परेको थियो । मन्दिरमा दैनिक ठूलो संख्यामा श्रद्धालु तथा पर्यटक आउने भएकाले होटल, फूल–प्रसादलगायतका व्यवसाय विस्तार भएका छन् । यसबाट स्थानीय आर्थिक गतिविधि पनि बढेको छ ।
सुपा देउराली मन्दिरको सहयोग तथा तीनै तहका सरकारको पहलमा ऐतिहासिक खाँचीकोट दरबार, विभिन्न मन्दिर तथा खाँचीकोट हिल स्टेसनको निर्माण, संरक्षण र प्रवद्र्धनका काम अघि बढिरहेका छन् । यी गतिविधिले सिङ्गो जिल्लाको पहिचानसँगै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन योगदान पु¥याएका छन् ।
नयाँ प्रस्ताव गरिएको ‘सुपा देउराली केबलकार’ आयोजनाबारे केही जानकारी गराइदिनुहोस् न ?
सुपा देउराली आउने भक्तजन तथा पर्यटकका लागि थप गन्तव्य निर्माण गर्ने उद्देश्यले केबलकारको योजना अघि सारिएको हो । यससम्बन्धी प्रक्रिया नेपाल सरकारको मन्त्रिपरिषद्बाट निर्णय भई अगाडि बढेको छ । प्रस्तावअनुसार खाँची खोला क्षेत्रको बटम स्टेसनदेखि मसिने लेक–भुर्से पहाडको टप स्टेसनसम्म करिब १ हजार ८ सय मिटर लम्बाइको केबलकार सञ्चालन गर्ने योजना छ । यसमा १५ वटा डब्बा (गोन्डोला) रहने प्रस्ताव गरिएको छ । टप स्टेसनबाट धौलागिरि, माछापुच्छ«े, अन्नपूर्ण र गणेश हिमालका साथै तराईका फाँटहरू समेत अवलोकन गर्न सकिने भएकाले यो आयोजना सञ्चालनमा आएमा क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सुपा देउराली मन्दिर अगाडिको सडक र पूर्वाधार सुधारको अवस्था कस्तो छ ?
आर्थिक वर्ष २०८२÷८३ को बजेटअन्तर्गत सुपा देउराली पार्किङ तथा मन्दिर अगाडिको सडक स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ विनियोजन भएको छ । चनौटा सडक कार्यालयमार्फत ठेक्का प्रक्रिया पनि अघि बढिसकेको छ ।
निर्माण व्यवसायीले पेस्की लिएर करिब ५–१० प्रतिशत काम सुरु गरेका थिए । तर महँगी तथा जिल्ला विपद् व्यवस्थापन समितिले ढुङ्गा–गिट्टीको व्यवस्थापनमा लगाएको रोकका कारण केही समय काम प्रभावित भयो। निर्माण व्यवसायीले असोजको पहिलो सातादेखि पुनः काम सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसपछि सडकको जीर्ण अवस्थाबाट उत्पन्न समस्या समाधान हुने अपेक्षा गरेका छौँ ।
वडामा रहेको चुनढुंगा खानी सञ्चालन र यसको उपयोगबारे तपाईंको धारणा के छ ?
प्राकृतिक स्रोत–साधनको सही र व्यवस्थित परिचालन नगरी समृद्धि हासिल गर्न कठिन हुन्छ । २०६९ सालदेखि सञ्चालनमा रहेको चुनढुङ्गा खानीले स्थानीय युवालाई रोजगारी दिएको छ भने नगरपालिकालाई वार्षिक करिब ६० देखि ७० लाख रुपैयाँसम्म राजस्व प्राप्त भइरहेको छ ।
सरकारी मापदण्ड तथा वातावरणीय प्रभाव मूल्याङ्कन (भ्क्ष्ब्) लगायतका कानुनी प्रक्रिया पालना गरेर उद्योग सञ्चालन हुने हो भने प्राकृतिक स्रोतको उपयोगबाट स्थानीय अर्थतन्त्रलाई फाइदा पुग्न सक्छ । हाम्रो वडा एकातिर पर्यटन उद्योग र अर्कातिर चुनढुङ्गा खानीजस्ता औद्योगिक गतिविधिलाई समायोजन गर्दै अघि बढ्ने प्रयासमा छ ।
जनप्रतिनिधिका रूपमा काम गर्दा कस्ता नीतिगत तथा कानुनी जटिलता भोग्नुपरेको छ ?
मुख्य समस्या तीन तहका सरकार—स्थानीय, प्रदेश र सङ्घबिचका ऐन तथा कानुनमा देखिने अस्पष्टता र कतिपय अवस्थामा हुने बाझिनु हो । यसले नीतिगत निर्णय लिन तथा कामको स्वामित्व लिन जनप्रतिनिधिलाई केही हदसम्म अलमलमा पार्ने गरेको छ ।
अर्कोतर्फ, जनताले खानेपानी, स्वास्थ्य, बीउबिजनजस्ता आधारभूत सेवाका लागि स्थानीय सरकारलाई नै सम्झनुहुन्छ । तर स्थानीय सरकारसँग त्यसअनुसार पर्याप्त बजेट र स्रोत–साधन छैन । विकास र सुशासनलाई प्रभावकारी बनाउन स्थानीय सरकारलाई कानुनी रूपमा स्पष्ट अधिकार तथा पर्याप्त बजेटसहित थप मजबुत बनाउन आवश्यक छ ।
आगामी चुनावमा पुनः दोहोरिने वा माथिल्लो तहको नेतृत्व लिनेबारे तपाईंको सोंच के छ ?
राजनीति र समाजसेवा भनेको जनताको सेवा गर्ने माध्यम हो । पार्टी र दलले मूल्याङ्कन गरेर युवाहरूलाई जहाँ उपयुक्त ठान्छ, त्यही जिम्मेवारी स्वीकार गर्ने हो ।
पद प्राप्तिका लागि आन्तरिक द्वन्द्व गर्ने वा मरिहत्ते गर्ने मेरो चाहना छैन । तर पार्टीले जिम्मेवारी दिएको अवस्थामा जुनसुकै तहको सरकारको नेतृत्व गर्न सक्ने आँट र क्षमता ममा छ भन्ने विश्वास छ ।
अन्त्यमा, वडावासी तथा समग्र पालिकावासीलाई के सन्देश दिन चाहनुहुन्छ ?
विकास र समृद्धि एकाएक हासिल हुने कुरा होइन । यसका लागि दीर्घकालीन सोंच, निरन्तर प्रयास र जनताको सहकार्य आवश्यक हुन्छ ।
जनताले व्यक्तिगत लाभका विषयमा मात्र नभई सामाजिक लाभ र समग्र सामाजिक विकासका विषयमा माग राख्न जरुरी छ । जनप्रतिनिधि भनेको जनताको ऐना हो। वडावासीले अहिलेसम्म दिनुभएको साथ, सहयोग र विश्वासप्रति म आभारी छु ।
अब बाँकी रहेको कार्यकालमा पनि जनताका अपेक्षाअनुसार अधुरा काम पूरा गर्न प्रतिबद्ध रहनेछौँ । वडाको विकास र समृद्धिका लागि सबैको साथ र सहकार्य आवश्यक छ ।




