बुटवल । बुटवल-७, शिवनगरस्थित आवर पीसल्याण्ड एकेडेमीमा गाइजात्रा पर्वको पूर्व सन्ध्यामा सिनियर र जुनियर तहमा गठित सदनहरुबीच सधैका बर्षहरुमा जस्तै हर्षोउल्लासकासाथ अन्तरसदनात्मक हाँस्यव्यङ्ग प्रतियोगिता सम्पन्न भएको छ ।
समाज तथा देशमा रहेका तथा बढ्दै गएका विभिन्न प्रकारका विकृति तथा विसङ्गतिहरु जस्तै सामाजिक कुरीति, राजनैतिक विकृति, विदेशी संस्कृतिको नक्कल, विदेश पलायन, आफ्ना छोराछोरीप्रतिको अभिभावकको गैर जिम्मेवारीपन, प्रविधिको दुरुपयोग, पत्रु खानाको प्रभाव, विद्यार्थीहरु पढाइमा कमजोर हुने कारण आदि प्रति व्यङ्ग्य प्रहार गर्दै अत्यन्त रोचक र प्रभावकारी रूपमा प्रदर्शन गरेका थिए ।
जुनियरतर्फ चार वटा सदन र सिनियर तर्फ चार वटा सदन बीच भएको अन्तर सदनात्मक हाँस्यव्यङ्ग्य अभिनय प्रतियोगितामा सहभागी ग्रीन, रेड, ह्वाइट र एल्लो हाउस मध्ये जुनियर तर्फ ग्रीन हाउसका आरोही क्षत्री, साया कार्की, हिमान्सी भट्टराई, अनुस्का पोख्रेल, काब्या जि.सी., प्रतिक कुँवर, संकल्प थापा, सविन गाहा, निर्मला खनाल र सुजल अर्यालको समुह प्रथम भयो भने सिनियरतर्फ रेड हाउसका मनित राना, आयुष भण्डारी, रितिका श्रेष्ठ, मनकान्त राना, ससम्मान मल्ल, निधि सेवा, समी मल्ल, श्यामु केवट, अजय शाही र सोहन जोशीको समुह प्रथम हुन सफल भएको थियो ।
हरेक सदनको विषयवस्तु, भेषभूषा, ब्यङ्ग्य, अभिनय, सम्बाद आदि उत्कृष्ट भएकोले सर्वोत्कृष्ट छुट्टाउन गाह्रो परेको निर्णायक मध्येका एक रोमञ्च पुनले बताए । विजयी सदनका कलाकारहरु तथा सदन संरक्षक हरुलाई हौसला स्वरूप पुरस्कार वितरण गर्दै विद्यालयका अध्यक्ष कुलानन्द पाण्डेले कतिपय विद्यार्थी कलाकारहरु अत्यन्तै सक्षम भएका र प्रयास गर्दै गएमा राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त गर्न सक्ने र विद्यार्थीका प्रतिभा उजागर गर्न विद्यालयले कुनै कसुर बाँकी नराख्ने बताए ।
प्रतियोगिता विद्यालयका प्राचार्य गंगा भण्डारीको सभापतित्व, जुनियर तहमा रिता नेपाल र सिनियर तहमा अतिरिक्त क्रियाकलाप प्रमुख सुदिप चौधरीको स्वागत तथा निता भण्डारी र हिमाल पछाइको सञ्चालनमा सम्पन्न भएको थियो ।




