बुटवल । २०८१ साल असार २१ गते भैरहवाबाट जनकपुर जांदै गरेको लु १ ख ८८४८ नम्बरको बस र सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको भारतीय मालवाहक ट्रकमा ठोक्किंदा रुपन्देहीका दर्शक कहार, रामशरण केबट र हरिबहादुर चौधरीको मृत्यु भयो । पूर्व-राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका-१, रायमाझी चोकमा असार २१ गते बिहान बिहान सडक छेउमा रोकिराखेको भारतीय ट्रकमा उक्त बस ठोक्किँदा तीन जनाको मृत्यु संगै १७ जना घाइते भए ।
०००
२०८० सालको भदौ २१ गते बाँकेको शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा दाङबाट जांदै गरेको ना ७ ख २३२१ नम्बरको बस ठोक्किंदा ७ जनाको मृत्यु भयो । २५ जना घाइते भए ।
०००
तीन वर्षअघि बुटवलको तामनगरमा सडकमा रोकिराखेको पराल बोकेको ट्रकमा कार ठोक्किंदा कारमा सवार तीन जनाको मृत्यु भयो ।
पूर्व-पश्चिम राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार बिहानै ठोक्किंदा तीनजनाको ज्यान गयो भने कारमा सवार २ जना गम्भीर घाइते भए ।
०००
माथिका यी तीन यी दुर्घटना प्रतिनिधि घटनाहरु मात्रै हुन् । वर्षेनी सडक किनारामा रोकिराखिएका ट्रक/टिपरमा अरु सवारी ठोक्किएर हुने दुर्घटनाको संख्या र क्षति ठूलो छ । यसको मुख्य कारण ट्रक र टिपरका लागि व्यवस्थित पार्किङ स्थल नहुनु हो ।
ट्रक व्यवसायी महासंघका अनुसार देशभर दैनिक करिब ५ हजार मालबाहक ट्रक देशभरका राजमार्ग र सडकहरुमा आवत-जावत गर्छन् ।
सरकारले हालसम्म देशभर कतै पनि ट्रक पार्क बनाएको छैन । राजमार्गमा कतै पनि ट्रक पार्किङका लागि ठाउँ पनि तोकेको छैन । नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलका अनुसार नेपालमा ट्रक र टिपरको संख्या करिब ५० हजार छ । ठूलो संख्यामा ट्रक र टिप्पर भएपनि यिनलाई पार्किङ गरेर राख्ने पुर्वाधार बनेको छैन ।
बसहरु निश्चित ठाउंमा राख्न देशभर बसपार्क बनेका छन् । तर ट्रक पार्क र टिप्पर पार्क नबन्दा सडकमै र सडक छेउछाउमा रोक्नुपर्ने वाध्यता हुंदा दुर्घटना हुने गरेका वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए ।
‘हामीले १३ वर्षदेखि सरकारसँग एकीकृत गोदामसहित ट्रक पार्किङ बनाइदिन आग्रह गरे पनि चासो नै दिइएको छैन’- पोखरेल भन्छन्-‘ट्रक पार्क नहुंदा ट्रक र टिप्परहरु सडक किनारमै राख्नुपर्ने बाध्यता छ, जसले दुर्घटना भइरहने र कैयौंले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ ।’ आफूहरुले वर्षौंदेखि पुर्व पश्चिम राजमार्गका कम्तीमा दुई ठाउं रुपन्देही र मकवानपुर तथा काठमाडौं आसपास एउटा गरी तीनवटा सुविधासम्पन्न ट्रक पार्क बनाउनुपर्छ भनेर सम्बन्धित निकायमा माग गरेपनि सुनुवाई नभएको गुनासो गरे ।
सरकारी निकायले बेवास्ता गरेपछि आफू पश्चिमाञ्चल यातायात (ट्रक) व्यवसायी समितिको अध्यक्ष भएका बेला रुपन्देहीको पड्सरीमा सिताराम उप्रेतीको ४ बिघा जग्गा लिजमा लिएर पार्किङ स्थल बनाएको तर मासिक २ लाख भाडा तिर्न नसक्ने भएपछि छाडेको पोखरेलले बताए । ‘ट्रक पार्क बनेको भए सडकमा ट्रक रोकिने थिएनन्,अनि दुर्घटना र जनधनको क्षति पनि हुने थिएन’- पोखरेलले भने-‘ निजी क्षेत्रले पार्किङ पूर्वाधारमा लगानी गरेर सम्भव हुँदैन, भयावह बन्दै गएको दुर्घटनालाई हेरेर मात्रै भए पनि सरकारले कदम चाले हुने थियो , हामी त सरकारसंग पटक पटक माग गर्दा सुनुवाई नभएपछि थाकिसक्यौं, दुर्घटना र जनधनको क्षतिको जिम्मेवार सरकार नै हुनुपर्छ ।’
संघीय सरकारले ट्रक पार्क बनाउने विषयमा बेवास्ता गरेको अवस्थामा पछिल्लो वर्ष कोशी र बागमती सरकारले क्रमशः बिराटनगर र हेटौंडामा ट्रक पार्क बनाउन केही वजेट विनियोजन गरेपनि जग्गा उपलब्ध नभएपछि काम अघि नबढेको पोखरेलले बताए ।
पश्चिमाञ्चल यातायात (ट्रक) व्यवसायी समिति बुटवलका अध्यक्ष टिकाराम गौतमले रुपन्देही,नवलपरासी र कपिलवस्तुमा मात्रै ५ हजार बढी ट्रक रहेको तर पार्किङ स्थल नहुंदा राजमार्गमा सडक किनार, पेट्रोल पम्पहरु, मैनाबगर, पड्सरी लगायतका ठाउंमा पार्किङ हुने गरेको बताउंछन् । ‘पार्क नभएपछि जहां खाली ठाउं भेटिन्छ, त्यहीं पार्किङ गर्नुको विकल्प छैन, यसबाट हुने असर र क्षतिबारे सरकारी निकाय नै संवेदनशील हुनुपर्ने हो’-अध्यक्ष गौतमले भने-‘सरकारले बस पार्कहरु बनाउने तर ट्रक पार्क नबनाउने कुरा आफैमा भेदभावपूणर् र गैरजिम्मेवारी हो, बस पार्क जस्तै स्नान गृह, चालकहरु आराम गर्ने बिश्राम गृह, शौचालय सहित व्यवस्थित ट्रक पार्क जरुरी छ, यसतर्फ ढिला गरिनुहुन्न ।’
पश्चिमाञ्चल यातायात (ट्रक) व्यवसायी समितिले भैरहवा- परासी सडक खण्डमा पर्ने नेपाल आयल निगमको डिपो स्थल नजिकै नदीको बगर क्षेत्रमा ट्रक पार्क बनाउन सकिने सुझाव सरकारी निकायलाई दिएको तर कुनै प्रतिक्रिया नआएको बताए ।
ट्रक पार्क बनेको खण्डमा सडकमा रोकिने ट्रकका कारण हुने दुर्घटना रोकिने र आफूहरुले सरकारले तोकेको भाडा दर पाउन पनि सहज हुने अध्यक्ष गौतम औंल्याउंछन् ।
सडक सुरक्षाको क्षेत्रमा काम गर्दै आएका यातायात मजदुर नेता कृष्ण बेल्बासेले गाडी बिग्रिएर सडकमा रोकिनुपर्ने अवस्थामा उक्त गाडीसंग अरु गाडी ठोक्किन नदिन टाढैबाट प्रष्ट देखिने रंगसहितको चिन्ह अनिवार्य राख्नुपर्नेमा त्यसो नगरिंदा दुर्घटना नरोकिएको बताउंछन् ।
‘गाडी बिग्रेर सडकमा राख्नुपरे स-साना ढुंगा र रुखका हांगाले घेरेर राख्ने गरिन्छ,त्यो एकदमै गलत हो, त्यसलाई रातको समय वा अंध्यारोमा गुडिरहेका गाडीका चालकले देख्दैनन्, अनि ठोक्किएर दुर्घटना हुन्छ’-बेल्बासेले भने-‘रोकिएको गाडीलाई अगाडि र पछाडि दुबै दिशाबाट आउने चालकले प्रष्ट संग देख्न सक्ने गरी खतराको चिन्ह राख्न अनिवार्य गरिनुपर्छ, तब मात्र दुघर्टटना कम गर्न सकिन्छ ।’
सडक किनारमा सवारी साधन पार्क गर्न सरकारले निषेध गरेको छ । तर, कतिपय स्थानमा प्रहरीले अवैध असुल गरेर पनि जोखिमपूणर्रुपमा सडक किनारमा ट्रक रोक्न दिने गरेको व्यवसायीहरु बताउँछन् ।




