बुटवल । रुपन्देहीको तिलोत्तमा क्याम्पसले पहिलोपटक एमबीएको पढाई शुरु गर्ने भएको छ । २९ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्न कटिवद्ध संस्थाले पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको मास्टर्स इन बिजनेश एडमिन्स्ट्रेसन (एमबीए) को पठन–पाठन सुरू गर्न लागेको क्याम्पसले जानकारी गराएको हो ।
एमबीए कार्यक्रमको शुभारम्भ गर्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र ढकालले विद्यार्थी र अभिभावकको माग र स्थानीय आवश्यकता अनुसार लामो समयको प्रयासपछि एमबीए कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।
क्याम्पसका प्राचार्य प्रा.डा. रामचन्द्र आचार्यले आफ्नै देशमा स्रोत र साधनको खोजी गर्न सक्ने क्षमता सहितको उद्यमशिल जनशक्ति उत्पादन गर्न १५ वर्षदेखिको प्रयास स्वरुप हाल एमबीए कार्यक्रम ल्याउन सफल भएको बताए । २०५३ सालमा विज्ञान र व्यवस्थापनमा कक्षा ११ र १२ पढाउने गरी स्थापना भएको तिलोत्तमा कलेजले २०५६ सालमा बीबीए कार्यक्रमको एउटा सेक्सन सुरु गरेको र २०६६ सालदेखि थप एक सेक्सन थपेको प्राचार्य आचार्यले बताए ।
जुनसुकै विषयबाट स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले अध्ययन गर्न पाउन एमबीए कार्यक्रमलाई पूर्णरुपमा अनुसन्धानमा आधारिक बनाइने उनले बताए । दुई वर्षे यो कोर्ष पढ्न ४ लाख ३० हजार रुपैंया शुल्क निर्धारण गरिएको र तिलोत्तमा कलेजबाट स्नातक उत्तिर्ण गरेकालाई विशेष छुट दिइने उनले बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले तिलोत्तमा क्याम्पसले उत्कृष्ट नतिजाका कारण जिल्लामा मात्र नभई देशमै छुट्टै पहिचान स्थापित गर्न सफल भएको बताए ।
प्राध्यापक सन्तोष ज्ञवालीले यो कार्यक्रम विद्यार्थीलाई उद्यामी र स्वरोजगार बनाउन सक्ने बताए । तिलोत्तमा क्याम्पसले कक्षा १२ र स्नातक तहमा गरेर प्रति वर्ष करिव सय विद्यार्थी उत्पादन गरिरहेको छ ।




