देशका विभिन्न शहरमा व्यवस्थित बसपार्क छन् । कतिपय शहरमा जीप, ट्याक्सी पार्क पनि सञ्चालनमा आएका छन् । कतिपय शहरका बसपार्कमा स्नान घर र शौचालयको समेत प्रबन्ध छ । यात्रु ओसारपसार गर्ने बस राख्न बसपार्क सञ्चालन गरिएझैँ मालसमान ढुवानी गर्ने ट्रक पार्क बनाउन ध्यान दिइएको छैन । ट्रक पार्कको व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढेको छ ।
बसपार्कमा बस पार्किङ् हुने भएकाले राजमार्गसहितको सडकमा बस पार्किङ् भएको देखिंदैन । तर ट्रक मनपरी पार्किङ् भएको देखिन्छ । राजमार्ग र भित्री सडक छेउमा ट्रक पार्किङ् भइरहेका छन् । ट्रक पार्कको व्यवस्था नहुँदा सडक छेउमा पार्किङ् गर्नुपर्ने बाध्यता रहेको व्यवसायीहरुको भनाइ छ ।
सडक छेउमा पार्किङ् गर्नु व्यवसायीको सम्पत्तिको सुरक्षाको जोखिम छँदैछ, दुर्घटनाको जोखिम पनि उत्तिकै छ । सडकमा पार्क गरेको ट्रकमा ठक्कर हुँदा धेरै दुर्घटना भएका छन् । पार्क भइराखेको ट्रकसँग ठोक्किदा दुई पाङ्ग्रे सवारीसाधन दुर्घटनामा धेरै परेका छन् । पार्क भइराखेका ट्रकसँग ठोक्किएर दुर्घटना भएका सवारीसाधन र क्षतीको छुट्टै तथ्याङ्क प्रहरीले नराख्ने भएकाले यकिन नभए पनि सडक दुर्घटना हुने एउटा प्रमुख कारण भएको प्रहरीको भनाइ छ । नेपाल ट्रक व्यवसायी महासंघका अनुसार, देशभर ५० हजार ट्रक र टिप्पर छन् । ती ट्रक पार्किङ्को लागि पूर्व पश्चिम राजमार्गको रुपन्देही र मकवानपुर तथा काठमाडौंमा गरी तीन ठाउँमा ट्रक पार्क बनाउन माग गर्दै आए पनि सरकारले बेवास्ता गर्दै आएको व्यवसायीको गुनासो छ । सरकारले ट्रक पार्क बनाउन बेवास्ता गरेपछि पश्चिमाञ्चल यातायात व्यवसायी संघले केही वर्ष अघि रुपन्देहीको पडसरीमा चार बिघा जग्गा भाडामा लिएर ट्रक पार्क बनाएको थियो । मासिक दुई लाख भाडा तिर्न कठिनाइ भएपछि बन्द भयो । व्यवसायीले चलाउन खोजे तर भाडा तिर्न सकेनन् । एकातिर भारतीय ट्रकसँग प्रतिस्पर्धा गर्नुपर्दा नेपाली ट्रक व्यवसायी मारमा छन् । निर्वाध ओभरलोड बोकेर गुड्ने भारतीय ट्रकले नेपाली व्यवसायीलाई विस्थापित गर्ने जोखिम बढेको छ । यस्तो बेला व्यवसायीले पैसा तिरेर पार्किङ् गर्न सक्तैनन् । व्यवसायीको साथ लिएर गर्ने सरकारले हो ।
अहिलेसम्म ट्रक पार्क बनाउन चासो नहुनु कमजोरी हो । यो कमजोरीबाट पाठ सिक्दै अब ट्रक पार्कका लागि सरकार अग्रसर हुनुपर्छ । पहिलो चरणमा मोडलको रुपमा केही ट्रक पार्क बनाएर प्रयोगमा ल्याउन सकिन्छ । त्यसपछि आवश्यकताअनुसार ट्रक पार्क बनाउन सरकारको प्राथमिकता हुनुपर्छ । यसो गर्दा सडक सुरक्षित बनाउन सघाउ पुग्छ, व्यवसायीले पनि ट्रक सुरक्षित भएको अनुभूति गर्न सक्छन् ।




