पछिल्लो समय रूपन्देहीमा निजी क्याम्पसहरूले स्नातकोत्तर तहमा एमबीए अर्थात् मास्टर्स अफ बिजनेस एडमिनिस्टे«सन कार्यक्रम सञ्चालन गर्ने होडबाजी जस्तै छ । अहिले रूपन्देहीका आधा दर्जन बढी निजी क्याम्पसमा एमबीए पढाइका लागि भर्ना आह्वान भएको छ । यसै सन्दर्भमा २८ वर्षदेखि रूपन्देहीको शैक्षिक क्षेत्रमा विज्ञान र व्यवस्थापन संकायको पढाइमा छुट्टै पहिचानसहित सञ्चालन भइरहेको तिलोत्तमा क्याम्पसका प्राचार्य प्रा.डा. रामचन्द्र (आरसी) आचार्यसँग एमबीए कार्यक्रमको महत्व, सम्भावना र अवसरका विषयमा दैनिक लुम्बिनीले गरेको कुराकानी :
तिलोत्तमा क्याम्पसले एमबीए कार्यक्रम ल्याउनुको आवश्यकता र उद्देश्य के हो ?
यस क्षेत्रका धेरैलाई अवगतनै छ तिलोत्तमा क्याम्पस २०५३ सालमा स्थापित भई यस क्षेत्र तथा राष्ट्रमै फरक पहिचान बनाउन सफल एक अग्रणी शैक्षिक संस्था हो । २८ वर्षको लामो इतिहास बोकेको यस संस्थाले प्रारम्भदेखि नै विज्ञान र व्यवस्थापन सङ्कायतर्फका कक्षाहरू सञ्चालन गर्दै आएको छ । यस संस्थाको स्थापनाकोे दुई वर्षपछि नै पोखरा विश्वविद्यालयको स्थापनासँगसँगै नारायणी पश्चिममा निजी क्षेत्रबाट सञ्चालन भएको पहिलो बीबीए कार्यक्रम भित्राउने एक मात्र शैक्षिक संस्था हो । यसले नै गौरवपूर्ण ऐतिहासिक विरासत बोकेको संस्थाकारूपमा तपाईंहरूले चिन्नु भएको छ । वर्तमानमा यस सस्ंथाले प्राप्त गरेको उच्च शैक्षिक सफलता नै हाम्रो शैक्षिक जगको बलियो आधार हो । विगत र वर्तमानको यही गर्विलो इतिहास देशको वर्तमान आवश्यकता र अवस्थालाई मध्यनजर गरी सीपमूलक, दक्ष र उद्यमशील जनशक्तिको निर्माण गर्न स्वदेशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बोकेका देशभक्त नागरिक निर्माण गरी केही हदसम्म भए पनि राष्ट्रलाई योगदान दिने उद्देश्यले नै हामीले एमबीए कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हौँ । विगत १२ वर्षदेखि विद्यार्थी तथा अभिभावको एमबीएको माग साथै हाम्रो प्रयास अहिले आएर सार्थक भएको छ ।
एमबीए पढ्न विद्यार्थीले तिलोत्तमा नै किन रोज्ने ?
कहिले काहीँ ठीक समयमा उचित निर्णय लिन नसके पछि पश्चातापमा परेका कैयाँै उदाहरण तपाईं हामीले हाम्रै अघि भेटेका छौँ । एमबीए पढ्ने विद्यार्थी आफैँ पनि अपरिपक्क हुँदैनन् । उनीहरूलाई म के आह्वान गर्न चाहन्छु भने यस कलेजमा भर्ना हँुदा तपाईंहरू पछुताउन पर्ने छैन, किनकि हामीसँग एउटा बलियो र अनुभवी टिम छ । आमन्त्रित प्रोफेसरहरू, पूर्णकालीन तथा आंशिक विशेषज्ञ प्राध्यापकहरू एवम् विद्यावारिधि उपाधि प्राप्त प्रोफेसनल फ्याकल्टी उपलब्ध छ, जुन अन्य कलेजहरूमा छैनन् । त्यसैगरी यसै क्याम्पसबाट बीबीए उत्तीर्ण गरेका विद्यार्थीहरूमा यस संस्थाप्रतिको गौरव र अपनत्व, हाम्रा शुभचिन्तक तथा अभिभावकहरूको माया पर्याप्त विद्यार्थीमैत्री तथा वातानुकूलित भौतिक सुविधा, चुस्त दुरूस्त तथा कुशल नेतृत्व, अध्ययनमैत्री पर्याप्त स्रोतसाधन तथा अनुभवी प्राध्यापकहरूको उपस्थिति, विभिन्न व्यापारिक तथा औद्योगिक घरानासँगको साझेदारी, प्रविधिमैत्री वातावरण आदि तिलोत्तमा रोजाइका लागि विद्यार्थीको मुख्य आधार हो । सबैभन्दा मुख्य कुरा हामीले हाम्रो प्रडक्टलाई जागिर खाने मानसिकताबाट माथि उठेर अरूलाई जागिर दिने, उद्यमी बन्ने जनशक्ति उत्पादन गर्ने गरी हाम्रो पूरै प्रयास गर्छौं । कक्षा १२ को नतिजा र बीबीएको नतिजामा पटक–पटक बोर्ड फस्ट भएको गौरवमय इतिहास पनि हाम्रो विरासत छ । त्यो विश्वासले पनि विद्यार्थीले तिलोत्तमालाई रोज्नेछन् । विगतमा दिएको उत्कृष्ट नतिजा एमबीएमा पनि दिन्छौं ।
पहिलो पटक यो कार्यक्रम ल्याउनुभएको छ, विद्यार्थीलाई कसरी आश्वस्त बनाउनुहुन्छ ?
पोखरा विश्वविद्यालयअन्तर्गतको एमबीए कार्यक्रमको पाठ्यक्रम ट्राइमेस्टर आधारमा निर्धारण गरिएको छ । यो सेमेस्टर प्रणालीका कार्यक्रमसँग मेल खाने खालको छ । हाम्रा शैक्षणिक विभागका सदस्यहरू विभिन्न विश्वविद्यालयका मास्टर डिग्री तहमा अध्यापन गराउनुभएका अनुभवी र प्राज्ञिक व्यक्तित्वहरू हुनुहुन्छ । उहाँहरूलाई विश्वविद्यालय तथा क्याम्पसले बेला बेला विभिन्न खालका एफडीपीलगायतका कार्यक्रमहरू सञ्चालन गरी अुनुसन्धानमूलक क्षेत्रमा समेत उत्साहित पार्ने र अग्रसर बनाउने कार्यक्रम गरिने छ । एमबीए सञ्चालनपूर्व नै हामीले यस विषयमा गहन छलफल गरी विभिन्न रणनीतिहरू योजनाबद्ध रूपमा अगाडि सारेका छाँै ।
अनुसन्धानात्मक क्षेत्रमा पोख्त हुनु भएका, समयको मागबमोजिम विषयगत योग्यतामा निखारिनु भएका अध्ययन अध्यापनमा अग्रसरता लिनु भएका, कुशल शिक्षणशैली, उच्चतम अभिरूचि तथा उच्च मनोबल भएका प्रध्यापकहरूको समूह तथा उद्यमशीलता एवम् रोजगारी उन्मुख जनशक्ति उत्पादन गर्ने उद्देश्यले विद्यार्थीहरूलाई विश्वस्त पार्नसक्ने विभिन्न पक्ष तथा सूचकाङ्कहरू हामीसँग छन् । यिनै शक्ति नै हाम्रा विद्यार्थीहरूलाई आश्वस्त पार्ने आधार हुन् ।
अधिकांश प्लस टु पूरा गर्ने बित्तिकै विद्यार्थी विदेश जाने गलत परिपाटी छ, ब्याचलर तहमा विद्यार्थी नेै पाइनै छाडे, यस्तो विषम अवस्थामा एमबीएमा विद्यार्थी कसरी पाउनुहुन्छ ?
विदेश जाने परिपाटीलाई नियन्त्रण गर्ने कुरा एउटा कलेजको सामथ्र्यभित्र कति पर्छ त्यो महत्वपूर्ण बहसको पाटो हो । यस्ता विषयमा यस कलेजले विश्वविद्यालयका विभिन्न निकायहरूसँग गम्भीर परामर्श र समन्वय गरी अगाडि बढाउने योजना रहेको छ भने अर्कातर्फ यो विषय उच्च राजनीतिक तथा नीतिनिर्माण र बौद्धिक तहको समन्वयमा राज्यले लिने नीतिमा अझ बढी भर पर्छ जस्तो मलाई लाग्छ । यसो भनेर सम्पूर्ण जिम्मेवारीबाट हामी उम्कन सक्दैनौ । त्यसैले यसमा हाम्रो पनि दायित्व हुन्छ । आज आम युवामा विदेश पलायनको नराम्रो लत बसेको देखिन्छ । यसको मुख्य कारण राजनीतिक अस्थिरता, नीतिगत मार्गदर्शनको अभाव र आम युवामा स्वदेशमै भविष्य नखोज्ने प्रवृत्तिगत गम्भीर समस्या हो ।
त्यसका लागि शैक्षिक क्यालेन्डरको हुबहु कार्यान्वयन, समयसापेक्ष पाठ्यक्रम, समयमै परीक्षा सञ्चालन र परीक्षाफल प्रकाशनलगायतका कार्यमा ध्यान दिनु जरूरी छ । यसका लागि हाम्रो कलेजले प्रोत्साहन भत्ता, विभिन्न छ महिने वा एक वर्षे इन्टनसीपका कार्यक्रम, विभिन्न व्यापारिक तथा औद्योगिक सस्थाहरूसँगको साझेदारी आदि कारणले विद्यार्थीहरूलाई स्वदेशमै उच्च आयस्रोत प्राप्त गर्न र स्वरोजगार बन्न सकिन्छ भन्ने विश्वसनीय वातावरण निर्माणका लागि सहजीकरण गर्न सक्छौँ । हाम्रो कलेजका लागि आवश्यक विद्यार्थीको स्रोत भनेको बीबीए तहबाट उत्तीर्ण आफ्नै विद्यार्थी तथा विभिन्न क्षेत्रमा छरिएर रहेका हाम्रा विद्यार्थीका अभिभावक र तिलोत्तमाको विगतदेखिको उत्कृष्ट नतिजा पनि हो । साथै यहाँबाट उत्पादित शैक्षिक जनशक्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा आबद्ध तथा विभिन्न निकायमा कार्यरत छन् । उनीहरूले प्राप्त गरेको उच्चतम प्रतिफलको प्रभाव तथा अभिभावक, विद्यार्थीहरू तथा शुभचिन्तकहरूको माया हाम्रो एमबीए कार्यक्रममा विद्यार्थी आकर्षणको महत्वपूर्ण स्रोत हो ।
एमबीए पढ्न शुल्क महँगो छ भनिन्छ ? खासमा के हो ? छात्रवृत्तिको व्यवस्था के छ ?
खासमा एमबीए कार्यक्रमको अध्ययन शुल्क अन्य शैक्षिक संस्थाहरू तथा वर्तमान समय सापेक्षतालाई ध्यानमा राखी निर्धारण गरिनेछ । ३० जना भर्ना हुन पाउने योे कार्यक्रममा दश प्रतिशत पूर्ण निःशुल्क छात्रवृत्ति तथा अन्य विभिन्न सुविधा रहेका छन् । यस तिलोत्तमा क्याम्पसमा एमबीए अध्ययन गर्न चाहने विद्यार्थीका लागि क्याम्पसकै आन्तरिक स्रोतको व्यवस्थापनबाट विशेष सेवासुविधा प्रवाहित गर्ने योजना बनाएका छौँ । विशेषगरी अति लगनशील, गरिब, जेहेन्दार, दुर्गम तथा दूरदराजका विद्यार्थीलाई थप छात्रवृत्तिको योजना बनाएका छौं । यससम्बन्धी विशेष जानकारी चाहिएमा कलेजमा भिजिट गरी प्रशासनसँग सम्पर्क राख्नुहुन इच्छुक अभिभावक तथा विद्यार्थीलाई अनुरोध गर्दछौँ ।




