बुटवल । बुटवलमा आधुनिक पशु बधशाला सञ्चालनमा आएको छ । बुटवल १० धागो कारखाना नजिकै दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशालामा उपकरणहरु जडान गरी परीक्षण गरेपश्चात् बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । बधशालासँगै सुख्खानगर र होराइजन चोकनजिकै दुईवटा मासु बिक्री कक्ष उद्घाटन गरिएको छ ।
बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मासु बिक्री कक्षको शुभारम्भ गर्दै बुटवल र आसपासका जिल्लाहरुमा समेत सेवा दिन सक्ने गरी बधशाला निर्माण भएको बताए । उनले बुटवलमा सञ्चालन भएको पशु बधशालामा दैनिक १ हजार खसीबोका बध गर्नसक्ने क्षमता रहेकाले अन्य जिल्लाहरुलाई सहज रुपमा सेवा दिन सक्ने जनाए । स्वस्थ मासु र स्वच्छ मासु उपभोगका लागि बधशालामा खसीबोकाको स्वास्थ्य परीक्षण गरी आधुनिक प्रविधिमार्फत् बध गरी प्याकेजिङ गरेको मासु उपलब्ध हुने भएकाले उपभोक्ताले विशेष ध्यान दिन जरुरी रहेको उनले बताए । ‘हामीले खाने मासु कस्तो ठाउँमा कसरी काटिएको हुन्छ र त्यसको विश्वसनीयता कसरी गर्ने भन्ने कुरा उपभोक्ताले सोच्नुपर्ने हुन्छ,’ उनले भने–‘अब बुटवलमा पशु स्वास्थ्यका विज्ञले परीक्षण गरी आधुनिक प्रविधिको प्रयोग गरेर बध गरी तयार गरेको मासु उपभोग गर्नतर्फ ध्यान दिन जरुरी छ ।’ प्रमुख पाण्डेयले बुटवललाई व्यवस्थित र आधुनिक शहरका रुपमा स्थापित गर्नका लागि बधशालाले थप मदत पु¥याउने बताउँदै बधशाला सञ्चालनपछि यस क्षेत्रका किसान र व्यवसायीलाई समेत लाभ पुग्ने जनाए ।बुटवल स्वस्थ मासु उत्पादन र बिक्री गर्ने शहरका रुपमा स्थापित भएको र यसले बुटवलबाहिरका शहरमा समेत मासु बिक्री गर्न सक्ने प्रमुख पाण्डेयले बताए ।
उप–प्रमुख सावित्रादेवी अर्यालले बुटवलका मासु पसलहरु अनुगमन गर्दा लापरबाही गरेको र खसीबोकाको भनेर बाख्राको मासु बेचेका कैयौं स्थान फेला पारेकाले बधशालाकै मासु उपभोगतर्फ उपभोक्ताले ध्यान दिनुपर्ने बताइन ।
‘अनुगमनमा जाँदा मैले धेरै बेथिति गरेको भेटेको छु, नाफा कमाउन जे पनि गर्ने गरेको पाएको छु,’ उनले भनिन् –‘यो बेथितिले हाम्रो स्वास्थ्यमा कति असर गरेको छ भन्ने हामीलाई हेक्का छैन, यसर्थ बधशालाकै मासु उपभोग गर्न मेरो सबैलाई सुझाव छ ।’
पशु बधशालाका सञ्चालक संस्था मुक्तिनाथ लाइभस्टक बैंकका प्रमुख उमेशकुमार आचार्यले आधुनिक प्रविधि र उपकरणसहित दक्ष जनशक्तिले पशु बधशालामा खाख्य सुरक्षाका सबै मापदण्डहरु पूरा गरेर तयार गरिने बताए ।
उनले पशु बधशालाले दिने मासु र बजारमा पाउने मासुको मूल्य एउटै रहेको जनाए । बधशालालाई थप व्यवस्थित गर्दै सुख्खानगर र होराइजन चोकमा बिक्री कक्ष स्थापना गरिएको र अन्यत्र स्थापना गर्ने तयारीमा रहेको जानकारी दिए ।
मुक्तिनाथ लाइभस्टकले वार्षिक ५८ लाख ३८ हजार ७ सय १० रुपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने छ । ५ वर्षका लागि गरिएको सम्झौताअनुसार हरेक वर्ष १० प्रतिशतका दरले रकम वृद्धि हुने बुटवल उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए ।
पशु बधशाला सञ्चालन गर्दा पशु बधशाला र मासु ऐन २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन २०५५, फोहोरमैला व्यवस्थापन ऐन २०६८, वातावरण संरक्षण ऐन २०७६ र उपभोक्ता संरक्षण ऐन २०७५ को पालना गर्ने गरी सम्झौता भएको उनले जानकारी दिए ।
बुटवल नगरभित्र पशु बधशालाबाहेकका स्थलमा व्यवसायिक रुपमा खसी र बोकाको बध गर्न रोक लगाइने र बध गरेको पाइएमा कारबाही गर्ने नगरको तयारी छ ।
बुटवल उप–महानगरपालिकाको पशु बधशाला व्यवस्थापन र सञ्चालन ऐन २०७९ अनुसारको यो व्यवस्था कार्यान्वयनमा आएपछि बुटवलमा रहेका मासु पसलहरुले खसीबोकाको मासु बिक्री गर्दा पशु बधशालामा बध गरी प्रमाणिकरण गरेको मासु मात्रै बिक्री गर्न पाउने छन् ।
झन्डै २२ करोड लगानीमा निर्माण भएको बधशाला क्षेत्रमा खसीबोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको छ ।
यहाँबाट निस्किने फोहोर प्रशोधन गरेर बायोग्यास निकालिने छ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना छ ।




