बुटवल । बुटवलको डेल्टामार्टमा सञ्चालन तयारी गरिएको जुत्ता मेलाका लागि आयोजकले बुटवल उपमहानगरपालिकासंग अनुमति नलिएको पाइएको छ ।
मेला महोत्सवका लागि वडाबाट नभई उपमहानगर कार्यालयबाट स्वीकृति र अनुमति लिनुपर्ने स्थानीय ऐनमा व्यवस्था छ ।
उपमहानरगका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जुत्ता मेला सञ्चालनका लागि आयोजकले अनुमति नलिएको स्पष्ट पारे ।
‘बुटवलभित्र जुनसुकै मेला महोत्सव सञ्चालन गर्न वडाबाट नभई उपमहानगर कार्यालयबाट अनिवार्यरुपमा अनुमति लिनुपर्छ, तर उहांहरुले लिनुभएको छैन’–खनालले भने–‘मेला महोत्सवका निश्चित मापदण्ड , निश्चित ठाउं हुन्छ,त्यो पूरा गर्नुपर्ने हुन्छ ।’
उक्त मेलाबारे बुटवलका ४ वटा व्यवसायिक संघसंस्थाले समेत असहमति जनाएका छन् ।
मेलाप्रति असन्तुष्ट व्यवसायीको एक समूहले मेलास्थलमा पुगेर मेला रोक्न आइतबार दबाव दिएका थिए । बाहिरबाट आएका एकजना व्यवसायीले मेलाको मर्म र भावना विपरित दुई महिना लामो मेला सञ्चालन गर्दा बुटवल क्षेत्रका हजारौं व्यवसायी मारमा पर्ने भन्दै उनीहरुले असहमति जनाउंदै रोक्न माग गरेका छन् ।
रुपन्देही व्यापार संघले मेलाको विपक्षमा औपचारिक अगुवाई नै गरेर रोक्न माग गरेको छ भने यसमा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघ बुटवलले समेत ऐक्यवद्धता जनाएका छन् ।
४ संस्थाको असहमतिपछि वडा कार्यालयले मेला आयोजकलाई ४ वटा व्यवसायिक संघसंस्थासंग समन्वय गरेर मात्रै मेला सञ्चालन गर्न पत्राचार गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. ८ ले बुटवल मिलनचोक स्थित डेल्टा एजुकेशन मार्टको नेपाली लुगा घरलाई भदौ ७ देखि कात्तिक ७ गतेसम्म दुई महिना लामो समय जुत्ताको व्यापार व्यवसाय गर्नेगरी मेला सञ्चालनको लागि अनुमति दिएको थियो ।
यद्यपि रुपन्देही ब्यापार संघका महासचिव फर्सुराम पन्तले वडाध्यक्ष यज्ञ पंगेनीको सहमति बेगर कर्मचारीले राजस्व बुझेर अनुमति दिनु गलत भएको बताए ।
नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालले डेल्टा मार्टलाई २ महिनाको १ लाख भाडा र जुत्ता विक्रिको १५ प्रतिशत कमिशन लिने शर्तमा मेला सञ्चालन गर्न दिएको खुलेकाले यो आम व्यवसायी र उपभोक्ताको हित विपरित भएकाले विरोध जनाउनुपरेको पन्तले बताए ।
डेल्टाका अरु सञ्चालकसंग बुझ्दा समन्वय नगरी भुसालले आफू एक्लैले मेला सञ्चालन गर्न खोजेको देखिएको समेत पन्तले बताए ।
व्यवसायीका संघसंस्थाले विरोध जनाएको मेला रोक्ने वा सञ्चालन गर्न दिने निर्णय बुटवल उपमहानगरले छिटो गर्नुपर्ने पन्तले बताए ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवलका आम व्यवसायीको व्यवसायमा मन्दी छाएको, आर्थिक अवस्था गिर्दो रहेको र व्यवसायीहरु पलायन हुने स्थिति रहेको अवस्थामा बाहिरबाट आएर यहाँ मेला सञ्चालन गर्ने कुरा यहाँका व्यवसायीको हित विपरित रहेको बताए ।
नेपाल उद्योग ब्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले मेलाको आयोजक बुटवलको कुनै न कुनै व्यवसायीक संस्था हुनु पर्ने, बुटवल क्षेत्रमा मेला महोत्सव गर्दा यस क्षेत्रमा स्थापित ४ वटा व्यवसायीक संघ संस्थाको समन्वय र परामर्शमा मात्र संभव हुने बताए ।
‘बुटवल बजारले १० दिन भन्दा बढी अबधि भएका कुनै पनि मेला महोत्सव थेग्न सक्दैन,बजारका व्यवसायीहरू तहसनहस हुन्छन्’–पराजुलीले भने ।
उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले बुटवलमा मेला महोत्सव बुटवलमा स्थापित ४ वटा व्यवसायिक संस्थाले सञ्चालन गर्ने स्थापित परिपाटीविपरित ब्यक्ति बिशेषले पसल दर्ता गरेर मेला सञ्चालन गर्नु सरासर गलत भएको बताए ।
‘चाडपर्वको बेला सबै व्यवसायीले धेरैथोरै ब्यापार होला भनेर बसेका बेला बाहिरबाट आएका व्यवसायीले दुई महिना लामो मेला गर्ने, त्यसबाट १५ प्रतिशत कमिसन लिने कुरा आएको छ, यस्तो स्वीकार्य हुंदैन’–पाण्डेले भने ।
मेलाका बारेमा रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघका नेतृत्वको बैठकमा जुत्ता मेलाका नाममा चाड पर्वभरि एउटा व्यक्तिले व्यापार गर्ने नीहित स्वार्थ रहेकाले यहाँका व्यापारीको हित विपरित हुने मेला हुन नहुने निश्कर्ष निकालिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव मुक्तिप्रसाद अधिकारीले बताए ।
बैठकमा रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारी, बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्ति अधिकारी, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली र उद्योग व्यापार संघका अध्यक्ष विष्णु पाण्डे सहभागि थिए ।
विवादित उक्त मेलाका सन्दर्भमा आज ४ व्यवसायिक संस्था र मेला आयोजक बीच छलफल गरी टुंगोमा पुग्ने बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्यालले बताए ।
नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालले भने स्वदेशी जुत्ता उपभोक्तालाई सुपथ मूल्यमा बेच्ने उद्देश्यले गर्न लागिएको मेला बिथोल्न खोज्नु गलत भएको बताए । भुसालका अनुसार आइतबार बिहान करिब ९ बजेको समयमा आएका २५/३० जनाको समूहले मेलास्थलका बोर्ड तथा स्टलहरु तोडफोड गर्नुका साथै त्यहाँ कार्यरत व्यक्तिहरुलाई समेत हातपात गरेका थिए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मेला महोत्सव सञ्चालन गर्न दिने निदने अधिकार स्थानीय सरकारलाई हुने भन्दै स्थानीय सरकारबाट अनुमति लिएर मेला सञ्चालन गर्नुपर्ने बताए ।




