चाडबाडको मौसम सुरु भएको छ । तीज पर्व नजिकै आइरहेको छ । त्यसपछि दसैं र तिहार पर्व आउँदैछन् । चाडपर्वमा बजारमा बेथिती बढ्दा उपभोक्ता ठगिंदै आएका छन् । खाद्यान्न, लत्ताकपडालगायत सबै सामानमा मनपरी मूल्य वृद्धि हुँदा उपभोक्ता मारमा छन् । एकातिर वस्तुको मनपरी मूल्य छ, अर्कोतिर पैसा तिरेर गुणस्तरीय सामान नपाउने उत्तिकै संभावना छ ।
चाडपर्वमा अरुबेलाभन्दा उपभोक्ताको किनमेल बढी हुन्छ । व्यापारीले चाडपर्व लक्षित व्यापार गरिरहेका हुन्छन् । यो बेला उपभोक्तामैत्री व्यवहार छ कि छैन भनेर जाँच गर्ने सरकारी कार्यालय छन्, उनीहरुको सक्रियताले नै बजारमा उपभोक्तामाथि हुँदै आएको ठगी धन्दा नियन्त्रण हुनसक्छ । नापतौलको निगरानी गर्न गुणस्तर तथा नापतौल कार्यालय छ । खाद्यान्नको गुणस्तर जाँच्न खाद्य प्रविधि तथा गुणस्तर कार्यालय छ । ती कार्यालयको सक्रियता र कानुनको इमान्दारीपूर्वक कार्यान्वयन गर्न सक्दा बेथिति नियन्त्रण हुनसक्छ । अहिले बजारको नियमित अनुगमन गर्ने काम स्थानीय तहको हो ।
स्थानीय तहको उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन गर्ने संवैधानिक प्रबन्ध छ । स्थानीय तहले सम्बन्धित सरकारी कार्यालयका प्रतिनिधिलाई साथमा लिएर बजार अनुगमन गर्न सक्छन् । यद्यपी बजारमा जुन ढुंगको मनपरी र बेथिति छ, त्यहीअनुसार जनशक्ति व्यवस्थापन हुन नसक्दा ती कार्यालयले काम प्रभावकारी गर्न सकिरहेका छैनन् । उपभोक्ता हित र स्वास्थ्यसँग सरोकार राख्ने कार्यालयलाई साधन स्रोत नबनाउनु राज्यको कमजोरी हो । नागरिकले सरकार भएको अनुभूति गर्ने कार्यालयहरुमा पर्याप्त जनशक्ति हुन आवश्यक छ । बजारमा उपभोक्ता ठगिन नपर्ने, गुणस्तरहिन वस्तु उपभोग गर्न नपर्ने अवस्था हुँदा उनीहरुले प्रत्यक्ष सरकारको सक्रियताको अनुभूति गर्छन् ।
केही साताअघि बुटवलका केही डेरीमा अनुगमन भयो । समस्या देखियो । दूधमा गुणस्तरको कमजोरी देखियो । केही महिनाअघि यहाँका मासु पसलमा अनुगमन भयो, समस्या देखियो । गुणस्तर हिन मासुको बिक्री गर्ने गरेको, सरसफाइमा ध्यान नदिएको अनुगमन टोलीले थाहा पायो । बजारमा जहाँ पनि समस्या छ । कमजोरी गर्नेलाई उन्मुक्ति होइन्, कानुन अनुसार जरिवाना लगायत कारवाही हुने थिति बसाल्ने हो भने बजार लयमा अघि बढ्छ ।
व्यापारीको कमाउ धन्दाको जालोबाट उपभोक्तालाई बचाउन तहगत सरकारबिच संयोजनको खाँचो छ । स्थानीय सरकारले पालिकाभित्रको अनुगमनको योजना बनाउने र पालिकाले गर्ने अनुगमनमा सरोकारवाला सरकारी कार्यालयले सहजीकरण गर्दा धेरै राम्रो हुन्छ । चाडपर्व लक्षित अनुगमनको योजना बनाएर कार्यान्वयन गर्ने बेला हो हो । चाडपर्व लक्षित अनुगमन नियमित अनुगमनभन्दा अलि बढी हुनुपर्छ । उपभोक्तालाई प्रत्यक्ष प्रभाव पार्ने क्षेत्रमा अनुगमन गर्दा नतिजा राम्रो निस्कन सक्छ ।




