श्रीराम ज्ञवाली
प्रकृतिको वरदान पाएको र गौतमबुद्ध, जानकी, अरनीको, मदन भण्डारीजस्ता महान् सपुतहरु साथै बीर शहीदहरुको जन्म भएको देश नेपाल दिन प्रतिदिन संकटग्रस्त बन्दै गएको छ । विश्वका अन्य मुलुकहरु विभिन्न कालखण्डमा अनेक नरसंहार, द्वन्द्व, भूकम्पजस्ता अनेकन प्राकृतिक विपत्तिहरुको सामना गर्दै विकसित बन्न पुगे । नेपाल अंग्रेजसँगको युद्ध र सुगौली सन्धिपछि बाहिरी द्वन्द्वको सामना गर्नु परेको छैन । भूकम्पजस्ता प्राकृतिक विपत्ति अन्य मुलुकले जसरी झेल्नु परेको छैन ।
प्राकृतिक रुपमा संसारकै उच्च शिखर सगरमाथा, जलस्रोतमा विश्वको दोस्रो धनी छ । यहाँ अन्य प्राकृतिक सम्पदा खनिज पदार्थहरु पनि भएको तथ्यहरु छन् । देश र अधिकांश जनताले अबलम्बन गरेको समाजवादको नीति छ । परापूर्वकालदेखि नै इमादान्दार, लगनशील, परिश्रमी, निडर, स्वाभिमानीको इतिहास रच्ने हाम्रा पूर्वजहरु थिए । यस्तो गर्भिलो पहिचान बनाएको हाम्रो देश नेपाल, हामी नेपाली आज आउँदा समग्र देश र नागरिक नै संकटमा पर्न बाध्य छौं । समीक्षा गर्न ढिलो भइसक्यो । राज्य सञ्चालनका लागि गरिएका प्रयासहरु र हाम्रो नेपालको सन्दर्भमा, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्य सञ्चालनका प्रमुख अंगहरु हुन् । तिनै अंग अन्तर्गत पर्ने राजनीति प्रमुख मियो हो ।
राजनीति प्रमुख अंग भएकाले देश र नागरिकलाई सही दिशा निर्देश गर्ने र परिचालन गर्ने दायित्व पनि राजनीतिको हो । नेपाली नागरिकहरुले पनि यसैमा विश्वास गर्दै आएका छन् । र नेतृत्व गर्नेहरुले पनि कागजी रुपमा देश र नागरिकको समृद्धिका लागि जनमुखी योजना र नीति निमयहरु ल्याएका पनि छन् र नागरिकले साथ पनि दिएका छन् । अधिकांश राजनीतिक दलहरु आन्दोलन, द्वन्द्वबाट स्थापित भएका छन् । ती आन्दोलनहरुमा जनताले कुनै न कुनै रुपमा साथ पनि दिँदै आएका छन् । नागरिकलाई सपना देखाएर नीति नियमहरु जनमुखी देखाएर किन कार्यान्वयन जनमुखी हुन सकेन रुनागरिकको स्तर किन उठ्न सकेन ? मुलुक आजभन्दा भोलि किन झन् संकटग्रस्त बन्दै गयो ? यो विषयमा गम्भीर हुन आवश्यक छ ।
अहिलेसम्म कुनै माध्यमबाट नेतृत्व तह वा निर्णायक तहमा पुगेका व्यक्तिहरु केही व्यक्तिहरु छाडेर म जस्तो कोही छैन, मैले जे बोले पनि हुन्छ, जे गरे पनि हुन्छ, कसैले केही गर्न सक्दैन, गर्न खोज्नेलाई खुट्टा तान्ने, अगाडि आउन नदिने, नियम कानून हाम्रै हातमा छ । बोल्दा नागरिकलाई रनभूल्ल पारेर आफ्नो व्यक्तिगत, परिवार, इष्टमित्र, कार्यकर्तालाई कसरी पोस्ने मात्र भएको देखिन्छ । कोही सक्षम व्यक्ति अगाडि आउन खोज्यो भने कसरी हुन्छ उसलाई हटाउने शक्तिविहीन बनाउने, जनतालाई भ्रमित गर्ने मात्र भइराखेको छ ।
अर्काे गम्भीर विषय त समाज विकासक्रममा ढुंगे युगदेखि २१औं शताब्दीमा आइपुग्दासम्म मानिस सामाजिक प्रणालीलाई समाजमा जीवनयापनका लागि सहज हुने सिद्धान्तहरु प्रतिपादन हिजो भए, आज हुँदैछन् र भोलि हुनेछन् भने कोही दुरदर्शी व्यक्तिहरुले शताब्दिऔंसम्मका लागि हितकर हुने सिद्धान्त प्रतिपादन गरेका छन् । अरु मध्ये समाजवाद साँच्चिकै मानवका लागि उपयुक्त व्यवस्था हो । किनकि सबै मानिसको हैसियत समान हुँदैन भने हरेक मानिसको फरक फरक क्षमता हुन्छ । सहयोगापेक्षित नागरिकहरुलाई राज्यले अपनत्व लिने र फरक फरक क्षमतालाई गोलबद्ध गरी समाज र राष्ट्र चलाउने हो । यो व्यवस्था समाजवादमा समेटिएको छ । आ–आफ्नो कार्यकूशलता अनुरुप जीवनयापन गर्ने र सहयोगापेक्षित वर्गहरुलाई नेतृत्वले अभिभावकत्व लिने, राष्ट्रले अपनत्व लिने । जसका लागि नागरिकहरुबाट सम्पत्तिकर, आयकर जस्ता करको माध्यमबाट राज्यमा कोष खडा गर्ने र त्यही कोषबाट नागरिकलाई आवश्यकता अनुसार गास, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारको सुनिश्चितता गर्ने । नेतृत्वमा बसेका नेतृत्वकर्ताहरुले यिनै जनताका सम्बोधन गर्नुपर्ने, आवश्यकताहरुको परिधिमा रहेर राज्यका आम नागरिकहरु सरह जीवनयापन गर्ने । राज्यमा ठूलो सानो भन्ने भेदभाव नहुने ,नागरिकले आफ्नो क्षमता अनुरुपको जीवनयापन गर्छ । सबै नागरिकलाई समान सम्मान हुन्छ । कि कुनै निजी उद्यम वा सरकारी कार्यालयमा जाँदा उक्त स्थानमा श्रमदाता को हो, रोजगार लिने को हो, भन्ने नै नहुने, सबै सिष्टमले काम गर्छ । आफ्नो जिम्मेवारी अनुसारका काम गर्ने, आउने जाने हुन्छ ।
अटोनोमस टिम जसरी काम भइराखेको हुन्छ । काम गर्दा कसैलाई उचो निचो अनुभूति नै हुँदैन । प्रयोग गर्न सम्बोधनार्थ शब्दहरु पनि समान हुन्छ । सबै सिस्टम प्रणालीले काम गर्छ । मानिस मानिस बीचमा मानवीयताको भावना हुन्छ । एकलाई दुःख पर्दा अर्काेलाई दुख्छ, एकलाई खुसी मिल्दा अर्काेलाई खुसी मिल्छ । समाजमा जे हुन्छ मानव जातिको हितको लागि हुन्छ । यसको कुनै एक पक्षलाई मात्र प्राथमिकता दिने भन्ने हुँदैन । यसअन्तर्गत जीवजन्तु, प्राकृतिक स्रोत, साधन सम्पूर्णलाई मानव जातिलाई असर नपर्ने गरी उपयोग हुन्छ ।
अहिले यस्तै मीठा सपना सुनाउनेहरु नै खराब भइदिँदा अवस्था झन् झन् बिग्रर्दै गएको हो । भन्दा समाजवाद भन्ने व्यवहारमा पूँजीवादमा लिप्त हुने आफ्नो भौतिक सुविधाको लागि आफ्ना नजिकका व्यक्तिहरुको लागि ठगी, चोरी, भ्रष्टाचार, घुसपैठ, एक मानिसले अर्काे मानिसलाई हत्या गर्नसम्म पछि नपर्ने अवस्था दिनानुदिन बढ्दै गएको छ । यो चेतनाको कमीले हो । यसले सिर्जना गर्ने भनेको नरसंहार नै हो । भन्दा समाजवाद र गर्दा पुँजीवाद भएका कारण नेतृत्व तहमा पुगेकाहरुले गम्भीर रुपमा लिनुपर्ने र नभए ढिलो चाँडो हाम्रो अस्तित्व समाप्त हुनेछ भन्ने सोच्नु र आफ्नो सोँच, बोली र व्यवहारमा एकरुपता ल्याउनु प्रमुख विषय हो ।
यसैगरी सरकारी सेवामा नियुक्त कर्मचारी वर्गहरुले आफ्नो क्षमता अनुसारका ओहोदामा पुगेर काम गरिसकेपछि देशको अवस्था अनुसारको तलब, सेवा सुविधा लिएपछि अनेक प्रकारका घुस, भ्रष्टाचार गर्नु अत्यन्तै चिन्ताको विषय हो । यसले गर्दा समाज द्वन्द्वतिर गइराखेको छ । सुशासनको प्रत्याभूति दिलाउनेहरु नै भ्रष्ट भइदिँदा, देश विकासका लागि बजेट बनाउँदा, कार्यान्वयन गर्दा बाहिरी मुलुकबाट ऋण लिने प्रवृत्तिको कारण अहिले आइपुग्दा ऋणको व्याज तिर्न समेत ऋण लिनुपर्ने अवस्था आयो । उक्त ऋण उत्पादनशील क्षेत्रमा लगाई आम्दानीबाट फिर्ता गर्नुपर्नेमा अनियमिततामा सकिएको छ । यो सबैभन्दा डर लाग्दो विषय हो । समाज झन अन्यौलतिर गइराखेको छ । यसलाई सुशासनको रुपबाट समाधान गर्नुपर्छ । गलत गर्ने जो कोहीलाई पनि छुट हुनु हुँदैन ।
अहिले नेपाली समाजमा यो योजना पूरा भयो, यो योजना भइराखेको छ, यो योजना हुँदैछ, भन्ने अग्रगामी क्रियाकलापहरु भन्दाखाली अर्कालाई आलोचना गर्ने मात्र संस्कार बढिराखेको छ भने अर्कोतर्फ समाजले आलोचनात्मक चेत पनि गुमाइसकेको छ । देश र नागरिकहरु उत्पादनसँग जोडिनु पर्नेमा विचौलियातन्त्र र भष्ट्राचार हावी भएको छ । यो समाज अधोगतिमा जाने वा संकटग्रस्त बन्ने मूल कारण हो, उत्पादनबाट मात्रै समृद्धि हासिल हुन्छ ।




