जगीलाल थापा
कञ्चन
रुपन्देही जिल्लाको १६ स्थानीय तहहरुमध्ये सबैभन्दा कम बेरुजु भएको पालिका कञ्चन गाउँपालिका बनेको छ । पछिल्लोे पटक महालेखा परीक्षकको कार्यालयले प्रकाशित गरेको अन्तिम प्रतिवेदनमा कम बेरुजु रहेका स्थानीय तहमध्ये कञ्चन गाउँपालिका अंकित हुन सफल भएको छ । रुपन्देही जिल्लाको हकमा बेरुजुको दर कम हुने स्थानीय तहको रुपमा कञ्चन गाउँपालिका भएको पहिलो स्थानीय तहको रुपमा महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षकको कार्यालयले आ.व. २०७८-०७९ को सार्वजनिक गरेको प्रतिवेदनले कञ्चन गाउँपालिकाको बेरुजु दर १ दशमलव २२ प्रतिशत देखाएको छ ।
कुनै बेला सबैभन्दा बढी बेरुजु भएको स्थानीय तहको रुपमा दर्ज भएको कञ्चनले अहिले सबैभन्दा कम बेरुजु भएको स्थानीय तहको रुपमा गनित हुन सफल भएको हो । कञ्चनको करिब १ अर्ब ३४ करोड ७४ लाख ४ हजार रुपैयाँ लेखा परीक्षण रकममा १ दशमलव २२ प्रतिशत बेरुजु देखएको हो । आ.व. २०७४-०७५ मा देखिको ५ करोड बेरुजुको समपरीक्षण गरिएको थियो ।
कञ्चनको बेरुजु दर कम हुनुमा पालिकाले तय गरेको वार्षिक नीति तथा कार्यक्रमले निर्दिष्ट गरेको योजनालाई कानुन सम्बत कार्यान्वयन र सम्पादन मुख्य आधार भएको कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बताए । कार्य सम्पादन तथा मूल्यांकनको आधारमा भुक्तानी दिने पालिकाको प्रणालीलाई व्यवहारमा कार्यान्वयन गरेकै कारण पालिकाको बेरुजु कम भएको बताउँदै अध्यक्ष ढकालले आगामी वर्षमा शून्य बेरुजु बनाउने पालिकाको प्रयास रहेको बताए । महालेखा परीक्षकको कार्यालयले प्रकाशित गरेको अन्तिम प्रतिवेदनअनुसार रुपन्देहीमा कञ्चनपछि १ दशमलव ४१ प्रतिशत बेरुजुसहित दोश्रो र सैनामैनाको बेरुजु १ दशमलव ५० प्रतिशतसहित तेश्रो स्थानमा बेरुजु कम गराउने स्थानीय तहको रुपमा अंकित भएको छ । कञ्चनको बेरुजु कम हुनुमा पालिकाको हरेक कार्यहरुलाई सुशासन कायम गर्नु र नियम विपरीत गरिने कुनै पनि कार्यलाई निरुत्साहित गरिएकै कारण भएको प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले जनाए ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा रुपन्देहीका १६ स्थानीय तहरुमध्येमै निकै कम बेरुजु हुनुमा पालिकाका कार्यरत शाखा प्रमुख, वडा सचिव, जनप्रतिनिधि र लेखा शाखाबाट गाउँसभा तथा कार्यपालिकाको निर्णयअनुसार भएका कार्यहरुको नियमित र नियमन अनि सचेत कञ्चननवासीहरुको सतर्कता र नियमसंगत योजना सञ्चालन र कार्यान्वयनमा सहयोग पुराएकै कारण कञ्चनले बेरुजु दर निकै कम बनाउन सफल भएको प्रमुख प्रशासकीय अधिकृत गौतमले उल्लेख गरे । पछिल्लो समय कञ्चनमा विधि र पद्धतिमा आधारित योजनाहरुको सञ्चालन र नियम विपरितका गतिविधिहरुलाई निरुत्साहित गर्न प्रमुख प्रशासकीय अधिकृत गौतमको सकृयता र उक्त सकृयतालाई मूर्तरुप दिन विषयगत शाखा प्रमुखहरुबाट भएको तदारुक्ताले कञ्चनले आफूलाई शून्य बेरुजु पालिकाको रुपमा दर्जोन्मुख भइरहेको कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बताए । विगतमा भन्दा पालिकाको हरेक कार्यहरुको पारदर्शिता, गाउँ सभा र कार्यपालिकाबाट भएका कानुन सम्मत निर्णयहरुको विधि र सुशासनमा आधारित कार्यशैलीमा सुधार भएकोले विगतमा देखिदै आएका बेरुजुहरुलाई समेत कम गर्दै आइरहेको कारण जिल्लामै सबैभन्दा कम बेरुजु भएको स्थानीय तहको रुपमा कञ्चन सूचिकृत हुन पुगेको पालिकाका लेखा अधिकृत सन्तोष गैरेको भनाई रहेको छ ।
आ.व. २०७४-०७५ देखि ०७८-०७९ सम्म रहेको करिब ५ करोड बेरुजु सम्परीक्षण भएको र आगामी आर्थिक वर्षहरुमा पनि समपरीक्षणलाई नियमित्ता दिई शून्य बेरुजु गाउँपालिका बनाउने लक्ष्य रहेको समेत लेखा अधिकृत गैरले बताउँदै नेपाल सरकारको नीतिमा सुधार ल्याउन सके हाल देखिएको बेरुजु प्रतिशत समेत शुन्य हुने विश्वास व्यक्त गरे । असारे विकासलाई गएको दुई वर्षदेखि पूर्णतया निरुत्साहित बनाउन नयाँ आर्थिक वर्ष सुरु भएको ३-४ महिनादेखि नै पालिकाको गाउँसभाबाट निर्णय भएको योजना, संघ र प्रदेशबाट आएका समपुरक तथा सशर्त बजेटका योजनाहरुको सञ्चालन र कार्यान्वयनका लागि सम्झौता गर्ने र कम्तिमा बैशाख मसान्तसम्म सबै योजनाहरु सम्पन्न भई कार्य सम्पादन तथा मूल्यांकनको आधारमा भुक्तानी दिने कार्यलाई बढी प्राथमिकता दिएको कारण पनि पालिकाको बेरुजु दर घटेको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए । विगतमा असार मसान्तलाई अन्तिम समय मानेर योजना सञ्चालन गर्दा सञ्चालन भएका योजनाहरुको भुक्तानी दिनुभन्दा अगाडि पूरा गर्नु पर्ने आवश्यक कागजात, कार्य सम्पादन मूल्यांकनको अध्ययन गर्न समयको अभाव हुने तर भुक्तानी गर्नै पर्ने बाध्यताका कारण पनि गएका बर्षहरुमा बेरुजु देखिन आएको प्रमुख प्रशासकीय अधिकृत गौतमले जनाए ।
यस चालु आर्थिक वर्षमा पालिकाको पूर्वाधार विकास, शिक्षा, कृषि विकास, पशु विकास, स्वास्थ्यतर्फको बेरुजु दर पनि निकै देखिएको छ । कुनै पनि योजना सम्पन्न नभई कसैलाई भनसुन र दबाबको आधारमा भुक्तानी नदिइने पालिकाको नीतिगत निर्णयलाई कार्यान्वयन गरेकै कारण भौतिक पूर्वाधारतर्फ शून्य बेरुजु भएको इञ्जिनियर ज्ञवालीको भनाइ रहेको छ ।
महालेखा परिक्षकको कार्यालयले आफ्नो ६१औं वार्षिक प्रतिवेदन प्रकाशित गरेको थियो । कञ्चनको आ.व. २०७-०८० को कुल बजेट मध्ये चालु तर्फ ८१.२२ प्रतिशत, पुँजीगततर्फ ७९.७६ प्रतिशत र कुल खर्च ८०.६८ प्रतिशत भएको छ ।




