हप्ताको तीन दिन उडान भर्दै आएको जजीराले यात्रु नपाएका कारण उडान रोकेपछि अहिले नेपाल एयरलाइन्सले मलेसियाको कोलालाम्पुरबाट भैरहवाका लागि सातामा एक दिन कनेक्टिङ उडान मात्र गरिरहेको छ ।
लुम्बिनी संवाददाता
बुटजल
२०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएदेखि कुवेतको जजीरा एयरलाइन्सले कुवेत–भैरहवा र भैरहवा–कुवेत उडान गर्दै आएको थियो । सुरुमा हप्ताको तीन दिन उडान गरेको जजीराले केही समय कुवेत–भैरहवा दैनिक उडान गरेको थियो । तर यात्रु नपाएपछि पुनः हप्ताको तीन दिन उडान भर्दै आएको जजीराले उडान रोकेपछि अहिले नेपाल एयरलाइन्सले मलेसियाको कोलालाम्पुरबाट भैरहवाका लागि सातामा एक दिन कनेक्टिङ उडान मात्र गरिरहेको छ ।
नेपालको निजी वायुसेवा कम्पनी, हिमालयन एयरलाइन्सले पनि २०७९ कात्तिकबाट मलेशियाको राजधानी कोलालाम्पुरबाट भैरहवा र भैरहवाबाट कोलालाम्पुर चार्टर्ड उडान सुरु गरेको थियो
। प्रतिकूल मौसमका कारण मंसिरमा उडान रोकेको हिमालयन एयरलाइन्सले त्यसयता फेरि सञ्चालन गरेको छैन ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दिपककुमार बज्राचार्य पर्याप्त यात्रु नपाएपछि जजिरा र हिमालयन एयरलाइन्सले उडानमा अनिच्छा देखाएको बताउँछन् । “खासगरी जुन जुन कम्पनीले भैरहवाबाट उडानका लागि तत्परता देखाएर उडान सुरु गरेका थिए, उनीहरूको लक्ष्य वैदेशिक रोजगारमा जाने–आउनेका लागि सेवा दिने थियो,” उनी भन्छन्–“तर वैदेशिक रोजगारसँग सम्बन्धित सबै कार्यालयहरू यहाँ नहुँदा काठमाडौँ जानुपर्ने बाध्यता हटेन । काठमाडौँ नै जानुपर्ने भएपछि एयरलाइन्सले यहाँबाट जाने यात्रु पाएनन् ।”
भैरहवाबाटै उडान भर्न यात्रुका लागि आवश्यक न्यूनतम आवश्यक पूर्वाधारका काम पूरा भएका छैनन् । यहाँबाट सिधैं वैदेशिक उडान नभएकाले यात्रुको संख्यामा निरन्तर कमी आएको गौतमबुद्ध विमानस्थल कार्यालयले जनाएको छ । उडान नथपिए यो संख्या अझैँ घट्न सक्ने देखिएको छ । स्थानीय व्यवसायी र विमानस्थल व्यवस्थापनले उडान थप्न माग गरे पनि सरकारले चासो दिएको छैन ।
तामझाम साथ २०७९ जेठ २ गतेबाट विमानस्थल सञ्चालनमा आएको थियो । विमानस्थल कार्यालयका अनुसार सञ्चालनमा आएको पहिलो वर्ष सन् २०२२ मा ३१ हजार ३ सय ५५ यात्रु यहाँबाट बाहिरिएका थिए । त्यसको अर्को वर्ष सन् २०२३ मा ४ हजार ७ सय ५१ जनाले भैरहवाबाट उडान भरेका थिए । सन् २०१४ को मे महिनासम्म करिब १ हजार जना मात्रै यहाँबाट विभिन्न मुलुक गएको देखिएको छ । जजीरा एयरलाइन्सले उडान गरेको वर्ष यहाँबाट धेरै यात्रु बाहिरिएका हुन् । जजिराले सातामा तीन दिन गरिहेको उडान रोके जसले गर्दा यहाँ यात्रुको संख्या वृद्धि हुन नसेको हो ।
नेपालको राष्ट्रिय ध्वजाबाहक, नेपाल वायुसेवा निगमले भैरहवामा हप्तामा एउटा मात्र उडान गर्दै आएको छ । निगमको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख माधव लोहनीका अनुसार हरेक मंगलबार नेपाल वायुसेवाको न्यारोबडी जहाज कोलालाम्पुरबाट सिधँै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्छ । अहिलेसम्म भैरहवामा यात्रु झारेर सिधा काठमाडौँ फर्किने गरेकोमा अब उक्त जहाज दिल्ली र हङकङका यात्रुलाई लिएर काठमाडौँ फर्कने लोहनी बताउँछन् । दिल्ली र हङकङका ती यात्रु काठमाडौँलाई ट्रान्जिट बनाएर नेपाल वायुसेवाकै अर्को जहाजबाट गन्तव्यमा जाने गरी व्यवस्था मिलाइएको लोहनीको भनाइ छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यस क्षेत्रका व्यवसायीले भैरहवा र लुम्बिनी क्षेत्रको चहलपहल बढ्ने अपेक्षा गरेका थिए । तर यात्रु अभावमा विमानस्थलको सेवा अवरुद्ध भएपछि निराशा बढेको छ । भैरहवाका पर्यटन व्यवसायी एवं ट्राभल एजेन्सी सञ्चालक सञ्जय बजिमय सरकारले नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन नचाहेको आरोप लगाउँछन् ।
“यहाँबाट यात्रु भएनन् भन्नु गलत हो, यात्रुको जिम्मा हामी लिन्छौँ । तर सिधा उडान हुनुप¥यो, कनेक्टिङ फ्लाइटको कुनै अर्थ छैन,” उनी भन्छन्–“हप्तामा एउटा उडान गर्ने, अनि त्यो पनि काठमाडौँमा चार घण्टा ट्रान्जिटमा राखेर यात्रुहरू दिल्ली जान तयार हुँदैनन् ।”
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जजिराले उडान भरेको अवधिमा यहाँबाट उडान भर्नेकोे संख्या उल्लेखनीय देखिएको बताए । उनका अनुसार विमानस्थल सञ्चालनमा आएको दुई वर्षसम्म पनि यात्रुका लागि आवश्यक मेडिकल, भीसा, श्रम, ओरिन्टेशनलगायत आधारभूत आवश्यकताका विषय हल हुन नसेको बताए । यहाँ श्रम कार्यालय रहेको र अनलाइनबाट समेत श्रमका आवेदन भर्न सकिने भएकाले सहज छ । त्यस बाहेक यात्रुकालागि आवश्यक सुविधा यहाँ छैन ।
खाडी मुलुकमा रोजगारका लागि जाने सर्वसाधरणले स्वास्थ्य परीक्षणका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता छ । ‘गल्फ एप्रुभ मेडिकल सेन्टर एशोसियन (गम्का)बाट तोकिएको स्वास्थ्य परीक्षण केन्द्र काठमाडौंमा मात्रै छ,’ महाप्रबन्धक तिवारीले भने–‘भैरहवाको सरकारी वा तोकिएको निजी अस्पतालमै त्यस्तो परीक्षणको व्यवस्था गर्न जरुरी छ ।’ यहाँ म्यान पावर कम्पनीका कार्यालय छैनन् । जसले गर्दा सर्वसाधरण काठमाडौंकै म्यानपावर कम्पनी धाउन बाध्य भइरहेका छन् ।
उनका अनुसार यहाँबाट जाडो महिनामा उडान भर्न भिजिविलिटीको समस्या छ । यहाँ उडान भर्न १८ सय मिटर भिजिविलिटी अनिवार्य छ । जाडो याममा उक्त भिजिविलिटी नहुने भएकाले उडान रद्ध गर्नुपर्ने बाध्यता छ । यस्तो बेला उडानका लागि जडान गरिएको इन्ष्ट्रुमेन्ट ल्याण्डिङ सिष्टम (आईएलएस) विधि अझैँ उपयोगमा ल्याउन सकिएको छैन । आइएलएस सञ्चालनका लागि भारतको स्वीकृति जरुरी पर्ने भएकाले सञ्चालनमा ल्याउन नसकिएको हो । ‘आइएलएस सञ्चालनका लागि कुटनीतिक पहल भइरहेको छ,’ तिवारीले भने–‘यसको विकल्पको रुपमा भू–उपग्रहमा आधारित (आरएनपी–एआर एप्रोच) विधि अपनाउन सकिन्छ, त्यसका लागि पहल गरिरहेको छु ।’
भू–उपग्रहमा आधारित विधि उपयोग गरेकामा एक हजार मिटर भिजिविलिटिमै अवतरण गर्न सम्भव हुने उनको भनाइ छ । यो विधि जडानकालागि थप खर्च नलाग्ने भएकाले यसको उपयोगका लागि प्रधान कार्यालयमा अनुरोध गरिएको उनले बताए । यहाँबाट उडान भर्ने विमान कम्पनीको संख्या धेरै नभएकाले यात्रुका लागि रोजाइको विकल्प छैन । अर्कोतर्फ विदेश जानका लागि आवश्यक प्रक्रिया काठमाडौंमा पूरा गरेर भैरहवा आएर उडान भर्न सहज छैन । काठमाडौंबाट धेरै विमान कम्पनीले उडान भर्ने र हवाई कम्पनीपिच्छे भाडा दर फरक रहेकाले यात्रुले जहाज रोजेर उडान भर्न पाएका छन् ।
अहिले जजीरा र बीच एयरलायन्सले उडानका लागि प्रस्ताव गरिरहेका छन् । यस्ता छुट सुविधा प्राप्त गरेमा कम हवाई भाडामा उडान भर्न ती कम्पनी तयार रहेको उनले बताए । ‘यो विमानस्थललाई ट्रान्जिड कार्गोका रुपमा बिकास गर्न सकिन्छ,’ उनले भने–‘त्यसका लागि एयर ट्राफिक फ्रिडिम प्रदान गर्नुपर्छ ।’ भैरहवालाई आधार बनाएर अन्तर्राष्ट्रिय उडान भर्न इच्छुक विमान कम्पनीका लागि कानुनी व्यवस्था सहज तुल्याइदिनु पर्ने उनले बताए ।
मुलुकका नेपाल र हिमालय एयरलायन्सले यहाँ कनेक्टिभिटी बढाउन नसक्ने हो भने विदेशी कम्पनीका लागि एयर ट्राफिक फ्रिडम सुविधा दिनुपर्नेमा उनले जोड दिए । ‘विदेशी विमान कम्पनी आकर्षित गर्न सस्तो र विना झण्झटिलो वातावरण तयार गर्न जरुरी छ,’ उनले भने–‘कार्यालयले त्यहीअनुसार व्यवस्था गर्न माग गरेको छ ।’ उनका अनुसार कार्यालयले थप एक वर्षका लागि ल्याण्डिङ, पार्किङ, नेभिगेशन शुल्कमा छुट दिन उपल्लो निकायमा प्रस्ताव गरेको छ । ‘यात्रु सुविधा शुल्कमा छुट दिन सकिन्छ कि भनेर पहल गरेका छाँै,’ उनले भने–‘वाइड वडी जहाजका लागि ग्राउण्ड हयाण्डलिङ व्यवस्थाका लागि माग गरेका छौं ।’
गोरखपुरदेखि दिल्लीसम्म नेपाली रुपैयाँ ६ हजारमा हवाई यात्रा गर्न सकिन्छ। सुनौलीबाट गोरखपुरसम्म बसभाडा २०० र रिजर्भ कारमा जाँदा पनि बढीमा दुई हजारभन्दा बढी खर्च हुँदैन ।
अहिले भैरहवामा श्रम कार्यालय स्थापना भएको छ । तर स्वास्थ्य जाँच, म्यानपावर कम्पनीसँगका सम्झौतालगायत अरू कामका लागि काठमाडौँ आउनुपर्ने बाध्यता कायमै छ ।नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा वाह्य आगमन र प्रस्थान यात्रुको संख्या वार्षिक ९० लाख छ । २०७६ मा कोरोना महामारी नआएको भए यात्रुसंख्या बढेको अनुपातमा थप दुई वर्षपछि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुको चाप धान्न सक्ने अवस्था हुँदैनथ्यो । प्राधिकरणका प्रवक्ता निरौलाको भनाइमा कोभिड महामारीअघि हवाईयात्रुको वार्षिक वृद्धिदर आन्तरिकतर्फ २० र बाह्यतर्फ १२ प्रतिशत रहेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताभन्दा बढी यात्रु हुँदा भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने गरी योजना बनाइएको थियो । तर कोरोना महामारीको कारण पूर्वयोजनाअनुसार काम हुन पाएन ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य यात्रु क्षमता ३५ लाख छ भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको १० लाख रहेको छ ।हवाई रुटको विषयलाई लिएर पनि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआएको टिप्पणी हुने गरेको छ । तर निरौला यो कुरा अस्वीकार गर्छन् । अहिले भारतले सिमराको आकासबाट मात्र नेपाल आउने जहाजलाई प्रवेश विन्दु दिएको छ । सिमराबाट प्रवेश गरेर भैरहवा जानु र काठमाडौँ आउनु उस्तै भएकाले प्रवेश विन्दुको समस्या नभएको उनको दाबी छ ।
नेपालले महेन्द्रनगर, नेपालगञ्ज, विराटनगर र जनकपुरको आकाश भएर जहाजलाई नेपाल प्रवेशको रुट दिन भारतसँग माग गर्दै आएको छ । तर भारतले अहिलेसम्म ती हवाई रुट प्रदान गरेको छैन ।




