बुटवल । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा बन्न लागेको १२ सय शैयाको प्रादेशिक अस्पताल भवन निर्माणको जनस्तरबाट नियमित निगरानी हुनुपर्ने बताएका छन् ।
अस्पताल भवन लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना र बुटवलकै ठूलो पुर्वाधार भएकाले निर्माण कम्पनीलाई गुणस्तरीय काम गराउन खबरदारीका लागि जनस्तरबाट निगरानी हुनुपर्नेमा अर्थमन्त्री पौडेलले जोड दिए । अस्पताल भवनको शिलान्याशपछि बोल्दै अर्थमन्त्री पौडेलले छिटो काम सक्ने नाममा गुणस्तरहीन काम हुन नदिन नागरिक समाज, मिडिया, स्थानीय र प्रदेश सरकार सबैले निगरानी बढाउनुपर्नेमा जोड दिए । उनले विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्ने बताए ।
‘६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतको यो अस्पताल भवन बुटवलकै ठूलो गेमचेन्जर आयोजना हो,यसको गुणस्तरमा कुनै प्रश्न आउनुहुंदैन’–निमाृण कम्पनलाई इंगित गर्दै पौडेलले भने–‘छिटो काम सक्ने नाममा गुणस्तरमा सम्झौता गर्न पाइंदैन,निर्धारित समयभित्र तोेकेको गुणस्तरमा कम्प्रोमाइज नगरी काम गर्नुहोला ।’
उनले अस्पतालको भवन निर्माण संगसंगै जनशक्ति र उपकरण व्यवस्थापनको प्रकृया पनि बेलैमा थालेर भवन पूरा हुंदा पूर्ण क्षमतामा सेवा सञ्चालन पनि एक साथ गर्न सकिने गरी काम गर्न प्रदेश सरकारलाई सुझाव दिए ।
‘भवन मात्र निर्माण गरेर हुँदैन, जनशक्ति व्यवस्थापनका लागि पनि ओएनएम प्रकृया संगै थालेर भवन बनेलगत्तै सबै सेवा सञ्चालन गर्ने गरी अहिल्यैबाट काममा लाग्नुपर्छ’–पौडेलले भने–‘यसमा प्रदेश सरकारले ध्यान दिनुपर्छ, संघीय सरकारले के सहयोग गर्नुपर्छ, त्यसको लागि तयार छ ।’
१२ सय शैयाको अस्पतालमा ठूलो संख्यामा दक्ष जनशक्ति आवश्यक पर्ने भन्दै अर्थमन्त्री पौडेलले विशेषज्ञ चिकित्सकसहित जनशक्तिको व्यवस्थापनमा मुख्य ध्यान दिनुपर्ने बताए ।
रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका अर्थमन्त्री पौडेलले आफू राजनीति भन्दा माथि उठेर सत्ता पक्ष र प्रतिपक्ष नभनी सबैसंग हातेमालो गरेर रुपन्देहीलाई विकासमा नमूना बनाउन चाहेको बताए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यो अस्पताल भवनले सिंगो प्रदेशको मात्र नभएर देशकै स्वास्थ्य क्षेत्रलाई परिवर्तन गर्ने बताए । संघीय सरकारबाट गत वर्ष समानिकरण शिर्षकमा बजेट प्राप्त नहुँदा झण्डै साढे २ अर्ब बजेट दायित्व प्रदेश सरकारलाई थपिएको भन्दै संघीय सरकारले बजेट पठाउनुपर्नेमा उनले जोड दिए ।
‘पाँचवटामध्ये चारवटा गौरवका आयोजनाको काम अघि बढेको छ । संघीय सरकारको साथ सहयोग प्रदेश सरकारलाई चाहिएको छ । उनले भने,– ‘गत वर्षको घाटा पूर्ति गर्न संघीय सरकारले ध्यान दिनुपर्ने छ । घाटा पूर्ति भएन भने प्रदेशका गौरवका आयोजना अप्ठ्यारोमा पर्ने जोखिम रहन्छ ।’ प्रदेशमा थालनी भएका गौरवका योजनालाई प्रदेश सरकारले ध्यान दिने उनको भनाइ छ ।
लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले नयाँ बन्ने अस्पतालको अवनले आधुनिक अस्पतालको आवश्यकतालाई पूरा गर्ने बताए । यो प्रदेशकै गौरवको आयोजना भएकाले प्रदेश सरकारले यसको सही व्यवस्थापन गर्ने सभामुख घर्तीको भनाई छ ।
निवर्तमान मुख्यमन्त्री जोखबहादुर महराले अस्पताल निर्माण प्रकृया केही वर्ष अघि नै शुरु भएपनि विविध कारणले हुन नसकेको स्मरण गर्दै शिलान्याशको चरणमा आइसकेकाले अब समयमै गुणस्तरीय काम र समयमै निर्माण सम्पन्न गर्न ध्यान दिनुपर्ने बताए ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले अस्पतालको हालको अवस्थाबारे जानकारी गराउँदै स्तरोन्नतीपछि यो नमूना अस्पताल बन्ने बताए ।
बुटवलका मेयर खेलराज पाण्डेयले बुटवलमा रहेका प्रदेश सरकार अन्तर्गतका निर्देशनालय र अन्य कार्यालयहरु प्रदेश सरकारले जबरजस्ती दाङ सार्न खोजेको भन्दै यसलाई रोक्न माग गरे । कम्तीमा ३० प्रतिशत निर्देशनालयहरु बुटवलमै राखिनुपर्ने रुपन्देहीवासीको माग रहेको उनले बताए । ज्योतिनगर र लक्ष्मीनगर पहिरो रोकथामका लागि प्रदेश सरकारले एक रुपैयां वजेट नदिएको पनि उनले गुनासो गरे ।
अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ । भारतीय निर्माण कम्पनी क्याप साइटले नेपाली दुई कम्पनी आशिष– रेलिगेर सँग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिए ।
भवन निर्माणका लागि जग खन्न ७० प्रतिशत बढी पाइलिङ (जमिनमा मेशिनले प्वाल पारेर पिल्लर गाड्ने काम) सम्पन्न भइसकेको छ । हाल ६५ जना कामदारबाट कम्तिमा दैनिक १० घण्टाका दरले काम भैरहेको छ ।




