बुटवल । उद्योग व्यापार संघ बुटवलले लुम्बिनी केबलकारको प्रवर्धनमा सहकार्य गर्ने भएको छ ।
उद्योग व्यापार संघ बुटवल र लुम्बिनि केबलकार लि.बीच बसन्तपुर कामाख्या मन्दिर परिसरमा आइतबार भएको संयुक्त वैठकमा बुटवलको मात्र नभई लुम्बिनी प्रदेशकै पहिलो लुम्बिनी केबलकारलाई दीगोरुपमा सफल बनाउन यहांका व्यवसायिक संघसंस्थाको पनि दायित्व हुने भन्दै संघले संस्थागतरुपमै प्रवद्र्धन गर्ने प्रतिवद्धता जनाएको हो ।
सो अवसरमा संघका अध्यक्ष विष्णुप्रसाद पाण्डेले लुम्बिनी केबलकार बुटवलको गहना र भारतीय पर्यटकलाई आकर्षित गर्न सक्ने आकर्षक पर्यटकीय गन्तव्य भएको चर्चा गर्दै यो पूर्ण क्षमतामा चल्नसके बुटवलको हरेक व्यवसाय चलयमान हुने बताए ।
अध्यक्ष पाण्डेले बुटवललाई पर्यटकीय गन्तव्य बनाउन केबलकारको भूमिका महत्वपूर्ण हुने भएकाले भारतीय पर्यटक भित्राउन केबलकार व्यवस्थापनले यहांका व्यवसायिक संघसंस्थासंग समान व्यवहार र सहकार्य गर्नुपर्ने सुझाव दिए ।
नेपाल उद्योग व्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले नेपालको आर्थिक विकास र समृद्धिको सबैभन्दा राम्रो सम्भावना पर्यटन क्षेत्रमै भएको चर्चा गर्दै लुम्बिनी केबलकारको सफल सञ्चालनमा महासंघले पनि सहकार्य गर्ने प्रतिवद्धता जनाए । उनले महासंघको एउटा वैठक केबलकारको टप स्टेशन कामाख्या मन्दिर परिसरमा राखेर देशव्यापी प्रचार गराउने समेत बताए ।
सो अवसरमा लुम्बिनी केबलकारका म्यानेजर प्रज्ज्वल घिमिरेले लुम्बिनी केबलकार विश्वकै सबैभन्दा अत्याधुनिक प्रविधिको, सुरक्षित र सय वर्ष इतिहास र विश्वभर १५ हजार केबलकार सञ्चालनमा रहेको अष्ट्रियाको डुपलमेयर कम्पनीको केबलकार भएकाले यसको निर्माण र सञ्चालन लागत अन्य कम्पनीका भन्दा बढी हुने भएपनि दुरीका हिसाबले बुटवलमा टिकट शुल्क महंगो नभएको स्पष्ट पारे ।
उनले भारतीय शहर केन्द्रित प्रचारमा ध्यान दिएको भन्दै नेपालमा घुम्ने , खाने युवा पुस्ता विदेश पलायनले हरेक व्यवसाय संकटमा परेको बताए । युवाको विदेश पलायनलाई सरकारले रोक्नु पर्ने उनले बताए । व्यवस्थापक घिमिरेले बुटवलका अन्य व्यवसायिक संस्था जस्तै उद्योग व्यापार संघ बुटवलसंग पनि टिकट छुट र अन्य व्यावसायिक सहकार्यको सम्झौता छिटै गरिने बताए ।
संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थीले आफूहरुले केबलकारसंग अल्पकालीन नभई दीर्घकालीन सहकार्य गर्न चाहेको बताए ।
संघका उद्योग उपाध्यक्ष पदम जीसीले आफ्नो संस्थाले भनाई र भाषणमा नभई व्यवहारमै लुम्बिनी केबलकारको प्रवद्र्धनमा इमान्दार भएर लाग्ने प्रतिवद्धता जनाए ।
संघका महासचिव यमलाल मरासिनीले व्यवसायिक संघसंस्थासंगको सहकार्य विना केबलकार पूर्ण क्षमतामा चल्न कठीन हुने भएकाले आफूहरुले सहकार्य गर्न तयार भएको बताए ।
वैठकमा संघका पदाधिकारी, कार्यसमिति सदस्य र सल्लाहकारहरु तथा केबलकारका विभागीय प्रमुखहरु रुपेश पौडेल,नवराज अधिकारी लगायतले सबैको साझा पहलले केबलकार पूर्ण क्षमतामा चल्ने वातावरा बनाउनुपर्नेमा जोड दिएका थिए ।




