जहाँ इच्छा, त्यहाँ उपाय अर्थात् इच्छाशक्ति नै प्रधान हो । इच्छा हुने हो भने मान्छेले धेरै गर्न सक्छ । परासीका धिरज अग्रवालको जीवनमा यही भनाइ लागू भएको छ । समस्याको चाङ देखेर निराश हुने होइन्, समस्यासँग जुधेर अघि बढ्नु नै सर्वोत्तम हुन्छ, जीवनमा सफल हुन सकिन्छ भन्ने एउटा उदाहरण हुन्, धिरज । धिरज ह्विलचेयरको सहारामा हिंड्डुल गर्न सक्छन् । यस्तो जीवनलाई असामान्य जीवन मानिन्छ, तर उनी यसलाई सामान्य मान्छन् । शारीरिक रुपमा अपाङ्ग र शैक्षिक योग्यता हासिल गर्न बाधा भए पनि कलिलो उमेरमै ठूलो लगानीका दुई उद्योगसहित चार कम्पनीको सफल नेतृत्व गरेका उनी अरु धेरैका लागि प्रेरणापुञ्ज हुन् ।
मान्छेको जीवनमा के के आइलाग्छ, कसलाई के थाहा ? हुन पनि धिरजको जीवनमा त्यस्तै भयो । २०६२-०६३ को जनआन्दोलनको जुलुसमा परासीमा प्रहरीले आन्दोलनकारीलाई अश्रुग्यास हानेपछि त्यो दृश्य हेर्न घरको छतमा गएका बेला लडेर धिरजको ढाड भाँचियो ।
त्यो बेला १३ वर्षका धिरजले ६ कक्षा पास गरेका थिए । ढाड भाँचिएपछि भारतको लखनउ र दिल्लीमा उपचार त भयो, तर उनी पहिले जस्तो सग्लो भएर हिंड्न सकेनन् । उनलाई ह्विलचेयरको सहारा अनिवार्य भयो । कक्षा १० सम्म पढेका उनले त्यसभन्दा माथि पढ्न असहज भयो । मध्यम परिवारका धिरजका बुबा अनिलले परासी बुद्धचोकमा २०५० सालदेखि मारुती ट्रेडर्समार्फत् सिमेन्ट र छडको खुद्रा व्यापार गरिरहेका थिए । खुद्रा व्यापारमा सीमित उनको पारिवारिक व्यवसायलाई तिनै धिरजले ह्विलचेयरमा हिंडेरै २०७३ बाट थोक व्यवसाय गर्ने गरी मारुती बिजनेस कन्सर्न सुरु गरे । खुद्राबाट होलसेलमा स्तरोन्नति गरेसँगै मारुति बिजनेस कन्सर्न २०७४-०७५ र २०७५-०७६ मा दुई आर्थिक वर्ष नवलपरासीमा सबैभन्दा बढी कर तिर्ने व्यवसायिक फर्म बनेको छ । अरुका उद्योगबाट सामान ल्याएर बेच्नुभन्दा आफैँ उत्पादन गर्न सकिन्छ भन्ने सोंचले सन् २०१८ मा धिरजले एक अर्बको टेन स्टिल उद्योग स्थापना गरे । जसले फलामे पाइप उत्पादन गर्छ । कुनै बेलाका व्यापारी धिरज अब उद्योगीको पहिचान बनाइसकेका छन् । उनले २०७७ सालमा फेरि एक अर्बको लगानीमा प्लम्बिङ सामान उत्पादन गर्ने टेन प्लास्ट उद्योग सुरु गरे । सबै उद्योग र कम्पनीको नेतृत्व उनले नै गर्दै आएका छन् । ह्विलचेयरको सहारामा हिंड्डुुल गर्न पर्ने भए पनि सक्रियतामा कुनै कमि छैन । चार वटा कम्पनीमा २ सय जनाले रोजगारी पाएका छन् ।
शरीरले होइन, दिमाग र दृष्टिकोणले नेतृत्व गर्नुपर्ने ठान्ने उनी समाजका यस्ता पात्र हुन्, जो सधैँ आशाको दियो बाल्न सक्छ । आँट, साहस र उत्साह छर्न सक्छ । संघर्षबाट नै सफलताको गोरेटो भेटिनसक्छ, र त्यो गोरेटो भेट्टाउने र फराकिलो बाटो तय गर्ने स्वंय आफैँले हो । संघर्षलाई सफलतामा बदल्न सफल धिरजलाई बधाई । थप कामका लागि शुभकामना !




