अधिकांश विकास आयोजनाको काम सुस्त भइरहेका बेला सिद्धबाबा सुरूङमार्गको काम तीब्र ढंगले अघि बढेको छ । सुरूङमार्गको कुल १ हजार १ सय २६ मिटरमध्ये ४ सय ९० मिटर खनिएको छ । सुरूङमार्गको दुवैतिरबाट खनिएकोले काम छिटो सकिने आशा पलाएको छ ।
सुरूङमार्ग बेलैमा सक्न सरकारी निकायको निगरानी पनि उत्तिकै छ । विभागीय मन्त्रीदेखि सम्बन्धित सरकारी कार्यालयका अधिकारीहरूले नियमित अनुगमन गरिरहेका छन् । विकास आयोजनामा हुने यस्तो अनुगमनले बेलैमा काम सक्न सघाउ पु¥याउँछ । दुई दिनअघि यहाँ आएका भौतिक पूर्वाधार विकास मन्त्री देवेन्द्र दाहालले सुरूङमार्गको ब्रेक थ्रु सय दिनमा हुने घोषणा गरेका छन् । अहिलेको गतिमा काम भए मन्त्रीले भनेझैं सय दिनमा ब्रेक थ्रु हुने अपेक्षा गर्न सकिन्छ ।
सुरूङमार्ग निर्माण बेलैमा सक्न दबाब पनि छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अझँै दबाब बढ्ने छ । यो मार्ग हुँदै पाल्पा, पोखरा र मुक्तिनाथसम्म पर्यटक आवागमन हुने भएकोले पर्यटकको आवागमन सुरक्षित बनाउन छिटो सक्न दबाब हुनु स्वाभाविकै हो । छिटो काम सक्ने विषय मात्रै प्रधान होइन्, गुणस्तरीय काममा पनि उत्तिकै चासो दिनुपर्छ । काम सक्ने हतारोका कारण गुणस्तरीय काम भएन भने दिगो हुँदैन । गुणस्तर कमजोर भयो भने राज्यको अर्बौं लगानी खेर जान सक्छ । सुरूङमार्ग भन्दा उत्तर र दक्षिणतर्फको सडकलाई सुरक्षित बनाउन पनि बजेट विनियोजन हुन आवश्यक छ । पहिरोग्रस्त क्षेत्र केवल सुरूङमार्ग भएको ठाउँमात्रै होइन । पहिरोको जोखिम भएको ठाउँमध्ये सुरूङमार्ग भएको ठाउँ एउटा हो, उत्तर र दक्षिणतिरको सडकलाई सुरक्षित बनाउन उत्तिकै आवश्यक छ । सिद्धबाबा सडकलाई सुरक्षित बनाउन सक्दा नै यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न संभव छ । पर्यटकको सुरक्षित आवागमनले मात्रै पर्यटन प्रवद्र्धन संभव छ ।




