भैरहवा । रूपन्देहीको सिद्धार्थनगर-१ बेलहियामा अवस्थित बेलहिया माध्यमिक विद्यालयका विद्यार्थी पढाइसँगै अतिरिक्त क्रियाकलापमा रमाउँदै आएका छन् । विद्यार्थीलाई स्वरोजगार बन्नुपर्छ भन्ने सिकाइका लागि विद्यालयमै “पढ्दै, कमाउँदै, रमाउँदै” कार्यक्रम सञ्चालन गरिएको छ । जसअन्तर्गत कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुलाई प्रत्येक महिनामा एउटा सीप सिकाउने र त्यसबाट आयमूलकतर्फ जोड्दै आर्जन भएको रकम विद्यार्थीलाई हस्तान्तरण गरिन्छ ।
प्रत्येक महिना एउटा सीपमूलक तालिम दिइ विद्यार्थीहरुले पढाइसँगै सीपलाई आयतर्फ कसरी जोड्न सकिन्छ भन्नेतर्फ जोड दिएर अतिरिक्त क्रियाकलापअन्तर्गत सामूहिक रुपमा तालिम दिने गरेको विद्यालयकी प्राचार्य विना भण्डारी पाठकले बताइन ।
यो कार्यक्रमअन्तर्गत विद्यार्थीहरुले आँपको मुरब्बा बनाउन सिके र केही बजारमा पनि बेचे । यस्तै अचार बनाउने, च्याउ खेती, फुरनदाना बनाउने, चुरापोते बनाउने, टपरी बुन्ने, फूलका बिरुवा उमार्ने, फुड फेस्टिबल, अमला केण्डी, मैनबत्ती, मेहदी लगाउने जस्ता धेरै जीवनोपयोगी तालिमहरु गरेका छन् ।
कार्यक्रमका लागि शिक्षकले आवश्यकताका आधारमा योजना बनाइ आफैँ लगानी गर्छन्, केही विद्यार्थीहरुले पनि ऐच्छिक रुपमा लगानी गर्छन् । लगानीबाट उत्पादनमा जोड्दै त्यसलाई बिक्रीतर्फ लगिन्छ, जसबाट हुने आम्दानीले लगानी कर्ताको खर्च दिइ बाँकी मुनाफालाई विद्यार्थीहरुमा बाँड्ने गरिएको प्राचार्य पाठकले बताइन ।
सीप सिकाएपछि विद्यार्थीहरुले उत्पादन गरेका वस्तुहरु बिक्री गरी उनीहरुलाई आयआर्जन गर्न सिकाउने उद्देश्यले यस्ता कार्यक्रमहरु सञ्चालन गरिएको प्राचार्य पाठक बताउँछिन् । कार्यक्रममा सय बढी विद्यार्थीहरु समावेश हुन्छन्, उनीहरुले गर्न सक्ने सबै काम आफँै गरेपनि शिक्षक र बाहिरी प्रशिक्षकको सहाकार्यले तालिम दिइने गरिन्छ ।
यसका अलावा नियमित शिक्षातर्फ पनि विद्यार्थीहरुमा जोड दिइने गरिन्छ । साढे चारसय बढी विद्यार्थी अध्ययनरत विद्यालयलाई नमूना विद्यालय बनाउनेतर्फ प्राचार्य पाठक लागेकी छन् । करीब ३० वर्षको लामो शिक्षण यात्रामा रहेकी पाठक प्राचार्य भएको भने धेरै समय भएको छैन । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कसरी वृद्धि गर्न सकिन्छ भन्ने चिन्ताले पिरोलिएकी उनले विद्यालयको नेतृत्व भने अहिले मात्रै पाएकी छन् । महिला भएर पनि पुरुष सरह डटिने पाठक यसअघि एक निजी विद्यालयको प्रिन्सिपलको जिम्मेवारी कुसलतापूर्वक निर्वाह गरिसकेकी छन् । बालमनोविज्ञान र शिक्षण सीपमा राम्रो दख्खल भएकी उनी सरकारीस्तरका विद्यालयहरुको भौतिक तथा शैक्षिक उन्नतिका लागि चुनौती भने धेरै रहेको बताउँछिन् ।
चुनौतीका बिचमा पनि विद्यालयको भौतिक पूर्वाधार सुधारका क्षेत्रमा धेरै प्रगति भएको प्राचार्य पाठकले बताइन् । ‘विद्यालयमा सुरुमा प्रवेश गर्दाको अवस्था देख्दा म आत्तिएकी थिए, रुन मन लाग्ने अवस्था थियो, कहाँबाट सुधार सुरु गर्ने, कसरी गर्ने अन्यौलता थियो । विद्यार्थीहरुको पोशाक देखि उनीहरुको गतिविधि समेत फरक थियो,’ उनी भन्छिन्-‘तर आज हेर्दा एसईईको नतिजा राम्रो दिन नसके पनि विद्यालयभित्र धेरै सुधारका कामहरु भएका छन् । आशा छ अब शैक्षिक गुणस्तर विस्तारै देखिने गरी नतीजा आउनेछ ।’
आफूले विद्यालयको जिम्मेवारी लिएदेखि विभिन्न संघसंस्था, स्थानीय व्यक्तिहरु, समूहहरुसँग हारगुहार गरेर अहिले विद्यालयको रङ्गरोगन, मञ्च निर्माण, कक्षाकोठाको सुन्दरीकरणदेखि लिएर बालबालिका खेल्नको लागि विभिन्न मनोरञ्जनका साधनहरु, विद्यार्थीहरुका लागि विद्यालय परिषरभित्र सिमेन्टीका बेन्च निर्माणलगायतका भौतिक संरचनामा धेरै सुधार गरेको विना बताउँछिन् । स्थानीयको राम्रो सहयोगका कारण विद्यालय हेर्न लायकको भएको विनाको भनाइ छ । ‘अझैँ धेरै कुराहरु सुधार गर्नु पर्ने छ ।’- उनी भन्छिन् ।
विद्यालयमा विद्यार्थीहरुका लागि समकक्षी शिक्षण सिकाइ अभ्यास गरिएको प्राचार्य पाठकले बताइन् । कक्षामा उत्कृष्ट विद्यार्थीबाट पढाइमा कमजोर विद्यार्थीहरुलाई सिकाइ गराउने पद्धती समकक्षी सिकाइ हो । आफ्ना साथीहरुबिच छलफल गरी अध्ययन गर्दा कमजोर विद्यार्थीहरुले सजिलै सिक्न सक्ने उनी बताउँछिन् ।यस्तै विद्यालयमा कमजोर विद्यार्थीहरुलाई विषेश कक्षा सञ्चालन समेत गरिएको छ । राम्रो नतिजा ल्याउनको लागि त्रिकोणात्मक प्रयास अनिवार्य हुने उनी बताउँछिन् । ‘विद्यालयमा शिक्षक, घरमा अभिभावक र स्वयम् विद्यार्थीले कडा मेहनत गरेमात्र सोंचेजस्तो गुणस्तर पाउन सकिन्छ ।’- उनीले भनिन् ।
जसका लागि समय समयमा अभिभावक भेला गर्ने, विद्यार्थीहरुका व्यक्तिगत आनीबानीका विषयमा शिक्षक र अभिभावकबिच कुराकानी आदानप्रदान गर्ने समेत विद्यालयले व्यवस्था गरेको छ ।विद्यालयमा पारिवारिक वातावरण सृजना गर्नको लागि शिक्षक महिलाहरुको नेतृत्वमा न्यायिक समिति बनाएर छात्राहरुमा देखिने समस्याको पहिचान गरी यसका विषयमा छलफल गर्ने र समाधान निकाल्ने काम भइरहेको छ । ‘कुनै पनि विद्यार्थीलाई कुनै समस्या पर्यो भने सहजै शिक्षकलाई भन्ने गर्छन् ।’-उनीले भनिन् ।




