तिज पर्व नेपाली समाजको मौलिक पर्व हो । हिमाल, पहाड र तराईमा विभिन्न जाति र समुदायले मनाउने यो पर्वले परिवार मिलन गराएको छ । परिवारमा स्नेहको वातावरण श्रृजना गरेको छ । समाजमा सद्भाव र मेलमिलापको वातावरण तयार गरेको छ ।
तिजमा खासगरी विवाहपछि घर गएका महिलालाई माइतीमा निम्ता गरिन्छ ।
माइती आएका दिदीबहिनीहरु एक आपसमा भेट गर्छन् । दुःख सुख साटासाट गर्छन् । परिवारका सदस्य, टोल छिमेकका सदस्यहरु भेला भएर गीत गाएर रमाइलो गर्ने चलन छ । तिजमा गाइने गीतले सांस्कृतिक जागरण बढाएको छ । नेपालमा राजनैतिक आन्दोलनलाई जागृत गर्न र दिशाबोध गर्न तिज पर्वको महत्वपूणर् भूमिका छ । राजनैतिक दलहरु प्रतिबन्धित रहेको बेला तत्कालीन शासकविरुद्ध महिलाले गीतमार्फत् आवाज उठाउने काम गरे ।
निरंकुश व्यवस्थाका बेला शासक र उनीहरुले संरक्षण गरेका व्यक्तिले गरेका अन्याय र अत्याचारविरुद्ध आवाज उठाउने सशक्त माध्यम तिज पर्व थियो । तिजमा महिलाले तत्कालीन शासकविरुद्ध गीतमार्फत् उठाएका आवाजले समाजमा राजनैतिक जागरण ल्याउन बल पुग्यो । अहिलेको राजनैतिक परिवर्तनको आधार तिज झैँ नेपाली समाजका मौलिक पर्व नै हुन् ।
सामाजिक र राजनैतिक आन्दोलनको अभिन्न अंग बनेको तिज पर्व पछिल्ला दिनमा भड्किलो बन्न थालेको छ । तिजको अघिल्लो दिनलाई दर खाने दिन मानिन्छ । शहरमा एक महिनादेखि दर खाने कार्यक्रमको बहानामा तडकभडक चल्न थालेको छ । यो तडकभडकको जालोमा पर्दा समाज बिथोलिएको छ । समाजमा तडकभडक बढ्दा धनी र गरिबबिचको खाडल बढेको छ । समाजमा सद्भाव बिथोलिने जोखिम छ । तिजको मौलिकता नासिदै तडकभडकमा रम्दा पारिवारिक मिलापमा दरार पैदा गरेको छ । कुनैबेला राजनैतिक र सामाजिक रुपान्तरणका लागि महत्वपूणर् योगदान गरेको पर्व अहिले भड्किलो बनाइनु समाज खल्वाइनु हो । चाडपर्व सबैले मान्न सक्ने गरी मनाउनुपर्छ । तडकभडक बढ्दा त्यसले ल्याउने विकृतिको जालोमा सिंगो समाज पर्नु कदाचित राम्रो होइन ।
स्वतन्त्रताको नाउमा सबै गर्न पाउनुपर्छ भन्ने उचित होइन । तडकभडकलाई न्यूनीकरण गर्ने काम तहगत सरकारको हो । तहगत सरकारले समन्वय गरी चाडपर्वलाई अनावश्यक भड्किलो नबनाउनका लागि पहल गर्न सक्छन् । हुँदा खाने र हुनेखाने सबैले चाडपर्व मान्न सक्ने बनाउन नेतृत्व लिनसक्छन् । त्यसो हुँदा तिज पर्वको मौलिकता जोगिन बल पुग्न सक्छ ।
तिज पर्वको सबैमा शुभकामना !




