बुटवल । भविष्यमा गाडी र गाडीका पार्ट्सहरु उत्पादन गर्न सकिने लक्ष्यसहित बुटवलमा ‘अटो ईन्जिनियरिङ कलेज’ को अवधारणा सहित स्थापना गर्न पहल थालिएको छ । बुटवल अटो इन्जिनियरिङ एशोसिएसनको अगुवाईमा कलेज स्थापनाको पहल थालिएको हो ।
खासगरी एशोसिएसनका अध्यक्ष तुल्सीराम न्यौपानेले बुटवल यातायातको हब र नेपालको मध्य भाग भएको, यहांको मैनाबगर अटो भिलेजमा एक हजार बढी गाडी मर्मत सम्भार गर्ने र पार्टस् विक्रि गर्ने व्यवसाय सञ्चालनमा रहेकाले ‘अटो ईन्जिनियरिङ कलेज’ का विद्यार्थीलाई प्राक्टिकलका लागि उपयुक्त थलो भएकाले कलेजको संभावना देखेर पहल थालेका हुन् ।
कलेजमार्फत शैक्षिक योग्यता सहितको सीपयुक्त जनशक्ति उत्पादन गर्नसके युवा पुस्तालाई अटो मोबाइल्स क्षेत्रमा आकर्षित गर्न र हजारौं जनालाई रोजगारी सिर्जना गर्न सकिने संभावना अध्यक्ष न्यौपानेले देखेका छन् । अध्यक्ष न्यौपानेका अनुसार ५ वर्ष यो क्षेत्रमा काम गरेकाहरुलाई अटो क्षेत्रमा सुरक्षित भविष्य रहेकोले गाडी र सयौंथरि पार्ट्स उत्पादन गर्न सकिने र हजारौंलाई रोजगारी सिर्जना हुने देखेर कलेज आवश्यकता देखिएकोले प्रक्रिया अघि बढाइएको बताए ।
अहिले बुटवलमा सञ्चालनमा रहेका कोरिया नेपाल वहु प्राविधिक शिक्षालय (केएनआईटी) र बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) मा भन्दा फरक ढंगले अटो इन्जिनयरिङ्गलाई प्राथमिकतामा राखेर ब्याचलर तह सरहको पढाई हुने कलेज स्थापनाका लागि एशोसिएसनले तीन वर्षदेखि पहल थालेकामा हालै काठमाडौं विश्वविद्यालयसंगको सहकार्यमा सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन तयार गरी सार्वजनिक गरिएको छ ।
अध्ययन प्रतिवेदनका लागि बुटवल उपमहानगरपालिकाले नै वजेट व्यवस्था गरेको थियो । उपमहानगरले नीति तथा कार्यक्रममै यो विषयलाई समावेश गरेकाले सबै क्षेत्रबाट कलेज स्थापना गरेर चलाउन सकिने एउटै आवाज र ऐक्यवद्धता आएको अध्यक्ष न्यौपानेले बताए ।
‘बुटवल उपमहानगर सहित सरोकालवाला सबैले अटो इन्जिनियरिङ कलेज आवश्यक छ र चलाउन सकिन्छ भन्नेमा एकमत छन्’–न्यौपानेले भने–‘तर शिक्षा ऐन संशोधन गर्नुपर्ने मुख्य चुनौति देखिएको छ, यसमा सबैको साथ आवश्यक भएको छ ।’
बुटवलमा हाल मेकानिकल, आटो क्षेत्रमा डिप्लोमा लेभलमा बुटवल टेक्निकल इन्टिच्युट, कोरिया–नेपाल बहुप्राविधिक विद्यालयमा अध्यापन हँुदै आएको छ । तर स्नातक र स्नाकोत्तर तहमा भने कलेज छैनन् ।
बुटवलमा प्राविधिक धारको अटो इन्जिनियरिङ्ग कलेज आवश्यक रहेको विषयमा बुटवल उपमहानरपालिकाले पनि पटकपटक आवाज उठाउँदै आएको एशोसिएसनका निवर्तमान अध्यक्ष बाबुलाल पाण्डेले बताए ।
मैनाबगरमा रहेको अटो भिलेजमा हाल १ हजार भन्दा बढी व्यवसायीहरु रहेको जनाइएको छ । जसमा ५ हजार भन्दा बढीले रोजगारी पाएको अटो ईन्जिनियरिङ्ग एशोसिएशसनको तथ्यांक छ । जसमा करिव २० प्रतिशत मात्रै डिप्लोमा लेभल शैक्षिक योग्यताको कोर्ष पूरा गरेका दक्ष जनशक्ति रहेका छन् ।
उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले बुटवलमा नेपालकै नमूना अटो भिलेज समेत रहेकाले यहां अटो ईन्जिनियरिङ्ग कलेज स्थापना गर्न सके विद्यार्थीको अभाव नहुने र त्यसमार्फत बुटवलको आर्थिक विकासमा समेत ठूलो योगदान पुग्ने बताउंछन् ।
कलेज स्थापनाको संभाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा अध्यक्ष न्यौपानेले एशोसिएसनको नेतृत्वमा आएपछि आफूले कार्यशाला गोष्ठीबाट वार्षिक योजना तय गरी कार्यान्वयन गरेको बताए । कार्यालय र सचिवालय व्यवस्थित, आर्थिक पारदर्शिता, दीर्घकालीन योजना तर्जुमा, व्यवसायीलाई प्रविधिमैत्री तालिम, स्वास्थ्य र दुर्घटनाबाट जोगिने सुरक्षा तालिम, शान्ति सेनामा जाने ४४ जना सैनिकलाई तालिम दिइएको अध्यक्ष न्यौपानेले जानकारी गराए । व्यवसायीलाई सरसफाई घरदैलो अभियान, सुरक्षा पोस्ट स्थापना, स्थापना दिवसमा रक्तदान गरेर ३७७ पोइन्ट रगत संकलन गरी पुरस्कृत भएको, स्वास्थ्य शिविर सञ्चालन, दुर्घटना बीमा, खेलकुद र वृक्षारोपण, संस्कृति संरक्षण, अवैध आयात नियन्त्रण गर्न पहल, व्यवसायी र ग्राहक बीच समन्वय र मेलमिलाप गराएको न्यौपानेले बताए ।




