स्थलमार्गबाट सबैभन्दा धेरै पर्यटक आउने रूपन्देहीको बेलहिया नाकाबाट सन् २०२४ को आठ महिनामा ५२ हजार पर्यटक आए । यो तथ्याङ्क तेस्रो मुलुकबाट आएका पर्यटकको हो । कोभिड महामारीपछि थला परेको पर्यटन क्षेत्र विस्तारै तङ्रिन थालेको छ । बेलहिया नाकाबाट आएको पर्यटकको तथ्याङ्कले पर्यटन व्यवसायी उत्साहित छन् ।
सन् २०२३ मा बेलहिया नाकाबाट ८१ हजार ५ सय पर्यटक आएका थिए । पर्यटक आगमनको महत्वपूर्ण सिजन आउन लागेकोले यो वर्ष गत वर्षभन्दा धेरै पर्यटक आउने आँकलन व्यवसायीहरुले गरेका छन् । लुम्बिनी आउने पर्यटकका लागि अक्टोबर, नोभेम्बर र डिसेम्बर महत्वपूर्ण सिजन हो । संख्यात्मक रुपमा धेरै पर्यटक आएर मात्रै हामी खुशी हुनुको अर्थ छैन । आएका पर्यटकको बसाइँको अवधि र गुणस्तर प्रधान हो । यहाँ आएपछि मायादेवी मन्दिर अवलोकन गरी भारततिर नै बास बस्न जाने र धेरै खर्च गर्ने पर्यटक आएनन् भने संख्या बढ्नुमात्रैले हामीले लाभ लिन सक्तैनौं । आएका पर्यटकको बसाइँ लम्बाउनु र खर्चालु पर्यटक भित्र्याउन योजना निर्माण र कार्यान्वयनलाई ध्यान दिनुपर्छ । बुद्धसँग सम्बन्धित बोधगया र सारनाथ भारतमा रहेकाले त्यहाँ आएका पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी आएका हुन् । भारतीय ट्राभल एजेन्सी र टुर गाइडले आएका पर्यटकलाई मायादेवी मन्दिर मात्रै घुमाएर उतै बास बस्न लैजाने प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले खुला संग्रहालयको रुपमा रहेको कपिलवस्तुको व्यापक प्रचारप्रसार गर्न आवश्यक छ ।
बेलहिया नाकामा आकर्षक स्वागतद्वार निर्माण गर्ने र सरकारी निकाय अध्यागमन कार्यालयलगायतका निकायबाट पर्यटकमैत्री व्यवहारले उनीहरुलाई आकर्षित गर्नसक्छ । यहाँका होटल र रेष्टुरेण्टमा विभिन्न अवसर पारेर आकर्षक छुटको व्यवस्थाले पनि पर्यटकको बसाइँ लम्ब्याउन सघाउ पु¥याउन सक्छ । लुम्बिनीमा तालिमप्राप्त स्थानीय टुर गाइडको व्यवस्थापन गर्ने काम लुम्बिनी विकास कोषको हो । पर्यटकको लागि ल्याइएका विद्युतीय गाडी नचलाएर थन्काइएको छ । ती गाडी चलाउने प्रबन्ध गर्दा पर्यटकमैत्री वातावरण तयार हुन सक्छ ।
पर्यटकका लागि चाहिने पर्यटक मैत्री वातावरण हो । नाकाबाट छिर्ने बित्तिकै वा विमानस्थलमा ओर्लने बित्तिकैबाट पर्यटकका लागि सास्ती होइन्, सुविधा महशुस हुनुपर्छ । हरेक ठाउँमा हुने सहज वातावरणले नै उनीहरुको बसाइँ लम्बिन सक्छ । उनीहरुले आ-आफ्नो देश फर्केपछि सकारात्मक सन्देश प्रवाह गर्न सक्छन् ।




