रामग्राम स्तूप शान्तिका अग्रदूत गौतमबुद्धको अस्तुधातु रहेको पवित्र स्थल हो । गौतमबुद्धको जन्मस्थल लुम्बिनी र उनले २९ वर्षसम्म बिताएको प्राचीन कपिलवस्तु झँै यो स्तूपलाई पवित्र मानिन्छ । यो पवित्र स्थलमा खुलेयाम मदिरा बिक्री वितरण हुँदा रोक्न कसैबाट पहल भएको छैन । बौद्धमार्गीको आस्थाको केन्द्रमा खुलेयाम मदिरा बिक्री हुनु भनेको आस्थामाथि प्रहार हो ।
पवित्र लुम्बिनी उद्यानभित्र मदिरा बिक्री वितरण प्रतिबन्ध छ । लुम्बिनी उद्यान बाहिर होटलहरुमा बिक्री वितरण हुनु भिन्दै विषय हो ।
रामग्राम स्तूपको शौचालय नजिकै टहरा बनाएर मदिरा बिक्री हुँदा पवित्र स्थलप्रतिको अपमान हो । रामग्राम स्तूपमा अहिले आन्तरिक र बाह्य पर्यटक घुम्न आउन थालेका छन् । सरकारले रामग्राम स्तूपको बृहत्तर विकासका लागि गुरुयोजना बनाएर काम गर्ने योजना अघि सारेको छ । बौद्धमार्गीहरुको आस्थाको केन्द्रमात्रै नभएर शान्तिमार्गी सबैको आस्थाको केन्द्र हो, रामग्राम । यसको गरिमा र महत्वलाई ख्याल गर्दै यहाँ मदिरालगायतका वस्तु बेचबिखन गर्न निश्चित ठाउँको व्यवस्था गर्नुपर्छ । मनपरी मदिरा बिक्री गर्ने र पिएर होहल्ला गर्ने वातावरण अन्त्य हुनुपर्छ । रामग्राम, लुम्बिनी, कपिलवस्तु र देवदहको एकीकृत विकास र पर्यटन प्रवद्र्धनको विषय उठिरहेको बेला र रामग्रामको गुरुयोजना बनाएर काम भइरहेको बेला अहिलेदेखि नै अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकारी निकाय अग्रसर हुनुपर्छ । अवाञ्छित गतिविधि नियन्त्रण गर्न लुम्बिनी विकास कोषले बेवास्ता गर्नु उसको कमजोरी हो ।
लुम्बिनी विकास कोषलाई लुम्बिनी उद्यानभित्र मात्रै सीमित गर्ने होइन । देवदह, कपिलवस्तु र रामग्रामसम्म नै हेर्नुपर्छ । समग्रमा यस क्षेत्रका बौद्ध स्थललाई कोषको दायरामा समेट्नुपर्छ । यद्यपी पछिल्ला वर्ष कपिलवस्तुमा कोषले केही काम गरेको छ । रामग्रामप्रति पनि पहिलेभन्दा चासो बढेको छ । देवदहमा सम्पर्क कार्यालय राखेर काम भएको छ । तर यतिले मात्रै होइन, बजेट विनियोजन, परिचालन र पर्यटन प्रवद्र्धनका योजना र काम लुम्बिनीलाई केन्द्रमा राखेर सबै ठाउँलाई उत्तिकै महत्व दिनसक्दा मात्रै हामीले लाभ पाउन सक्छौं ।
रामग्राम नगरपालिकाले स्तूप क्षेत्रमा भएका अवाञ्छित गतिविधि नियन्त्रण गर्ने काम लुम्बिनी विकास कोषको भएको बताउने र कोष लुम्बिनीमै सीमित हुने प्रवृत्तिले गलत क्रियाकलाप गर्नेहरु हौसिने वातावरण बन्दै जानेछ । लुम्बिनी विकास कोषले अवाञ्छित गतिविधि रोक्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराउन सक्छ, स्थानीय प्रशासनले तत्काल नियन्त्रण गर्न सक्छ । आगामी दिनमा कुन ठाउँमा के व्यापार गर्ने र स्तूपको क्षेत्रभित्र व्यापार निषेध गर्नु नै उपयुक्त हुन्छ ।




