बुटवल । सिद्धार्थनगर नगरपालिका—७ भैरहवा गाउँका जितेन्द्र पासवान स्वास्थ्य जाँच र उपचारका लागि भीम अस्पताल जान थालेको लामो समय भयो । केही वर्ष अघिसम्म अस्पताल पुग्दा जीणर् पूर्वाधार,उपकरणको अभाव र अस्तव्यस्त व्यवस्थापन देख्दा उनी दिक्क हुन्थे । डाक्टरले अन्यत्र रिफर गरिदिए हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले भने सकेसम्म यही उपचार गराउन पाए हुन्थ्यो भन्ने लाग्छ उनलाई । जितेन्द्र भन्छन्—‘अस्पतालको पूर्वाधार राम्रो बन्दैछ, जाँचका लागि उपकरण र दक्ष जनशक्ति उपलब्ध छन् । अस्पतालभित्रै फार्मेसी छ । सस्तोमा उपचार हुन्छ ।’ जितेन्द्रले भनेझैं नागरिक अगुवा विजय सागरले पनि भीम अस्पतालको सेवा प्रवाहको गुणस्तर बढेको बताए । सेवा प्रवाहमा भएको सुधारले सरकारी अस्पतालप्रति विश्वास र भरोसा बढेको उनको भनाई छ ।
आर्थिक वर्ष २०७५।०७६ मा यहाँ उपचार गर्न दैनिक एक सय बिरामी आउँथे । सामान्य जाँच बाहेकको सेवा उपलब्ध नहुँदा बिरामी थप उपचारको लागि अन्यत्र जान बाध्य थिए । अहिले दैनिक ४ सय बिरामी अस्पताल आउँछन् । आएका बिरामीको विशेषज्ञ डाक्टरबाट जाँच हुन्छ । अस्पतालकि मेडिकल सुपरिटेण्डेन्ट डा. शकुन्तला गुप्ताको भनाईमा, अहिले जटिल खालका बिरामी बाहेक अरु बिरामी उपचार गर्न बाहिर जानु पर्दैन् । अस्पतालमा चौविसै घण्टा प्रयोगशाला, सिटीस्क्यान, रक्तसञ्चार र आकस्मिक सेवा उपलब्ध छ । अस्पतालले बाल, आँखा, नाक कान घाँटी, छाला तथा यौन, स्त्री तथा प्रसुती र सर्जरी गरी सात वटा विशेषज्ञ सेवा उपलब्ध गराएको छ ।
भीम अस्पताल वि.स. १९९० मा स्थापना भएको यस क्षेत्रकै पूरानो अस्पताल हो । अरु अस्पताल नहुँदा बिरामीको सहारा बनेको यो अस्पताल कालान्तरमा आफै थला पर्यो । जीणर् पूर्वाधार र उपकरणको अभाव एकातिर छँदैथियो । सरुवा भइ आएका दक्ष डाक्टर सहितका जनशक्ति काज मिलाएर हिडिहाल्ने प्रवृति हावी भयो । अस्पतालको सेवा प्रवाह सुधारका लागि प्रदेश सरकारले योजनाबद्ध काम अघि बढाएपछि अहिले नतिजा देखिन थालेको हो ।भीम सहित लुम्बिनी प्रदेशका १३ अस्पताल २०७५ मा प्रदेश सरकार मातहत आए । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद गिरीका अनुसार, प्रदेश सरकार मातहत आएपछि यी अस्पतालको सेवा प्रवाहले गुणस्तरीय फड्को मारेको हो । चाहे गर्न सकिन्छ भन्ने यो एउटा उदाहरण हो,—उनले भने ।
बढ्दो विश्वास
अस्पतालको उपचार सेवामा सुधार गरेपछि उपचारका लागि यहाँ आउने बिरामी वर्षेनी बढेका छन् । गत आब २०७९।०८० मा अस्पतालको बहिरंग विभागमा ८४ हजार ४ सय ८३ ले जाँच गराएका थिए भने आब २०८०।०८१ को जेठसम्म १ लाख ३ हजार २ सय बिरामीले सेवा लिए । पाँच वर्ष अघि आब २०७५।०७६ मा ३८ हजार ६ सय ७८ बिरामी अस्पताल आएका थिए । लामो समयदेखि २५ बेड रहेको अस्पतालमा स्तरोन्नती भई ५० बेड पुगेको छ । बिरामीको चाप बढेपछि भीम अस्पताल विकास समितिले आन्तरिक स्रोतबाट ७० बेड थप गरेको छ । अहिले अस्पतालमा १ सय २० बेड पुगेको छ ।
कुनै बेला बुटवलको लुम्बिनी आर्युवेद चिकित्सालय विरामी नभएर सुनसान हुन्थ्यो । स्वास्थ्यकर्मीलाई दिन कटाउन सकस थियो । बिरामी नै नआएपछि डाक्टर अस्पताल बस्न खोज्दैनथे । अहिले आएका बिरामीलाई समयमै उपचार दिन हम्मे—हम्मे भएको छ । चिकित्सालयका प्रमुख डा. प्रवेश श्रीवास्तवका अनुसार, पाँच वर्ष अघि दैनिक ४० जना जति विरामी आउने गरेकोमा अहिले दैनिक १ सय भन्दा बढी विरामी आउँछन् ।
गत वर्ष यो अस्पताल स्तरोन्नती भई १५ शैया भएको छ । प्रयोगशाला, नागरिक आरोग्य केन्द्र, जेष्ठ नागरिक घरदैलो सेवा र योग सेवा विस्तार हुँदा अस्पतालप्रति विश्वास बढेको छ । औधषी विना विभिन्न थेरापी सहितको विधिबाट गरिने पञ्चकर्म उपचार सेवा उपलब्ध छ । यसप्रति मानिस आर्कषित भएकाले अस्पताललाई बिरामी थेग्न हम्मे—हम्मे भएको छ । यहाँ दैनिक २५ जनालाई पञ्चकर्म विधिबाट उपचार गराउन सकिन्छ । विरामीको चापले विरामी दुई महिनासम्म कुर्न बाध्य भएको अस्पतालका प्रमुख डा. श्रीवास्तवले बताए । पञ्चकर्म विधिबाट आब २०७८।०७९ मा १ हजार २ सय २५ ले उपचार गराएकोमा गत आब २०७९।०८० मा ५ हजार ३५ ले उपचार गराएका थिए । अहिले यो अस्पतालमा उपचारको लागि भारतबाट समेत आउँछन् ।
सात वर्षदेखि ढाडको नशा च्यापिने समस्या भोगेका नौतनवाको डा. राममनोहर लोहिया कलेजका शिक्षक शुशिल यादव धेरै अस्पताल धाए । अस्पताल धाउँदा धाउँदै हैरान भएका उनलाई जीवन यत्तिकै हो भन्ने लाग्यो । एक वर्षदेखि पञ्चकर्म विधिबाट यहाँ उपचार गराइरहेका उनलाई अहिले बाँच्ने आशा पलाएको छ । ॅयहाँको उपचार विधि निकै राम्रो रहेछ,—उनले भने ।
अस्पतालका प्रमुख डा. श्रीवास्तवको भनाईमा, सीमावर्ती भारतीय शहरमा पञ्चकर्म विधिबाट राम्रो उपचार गर्ने सेवा उपलब्ध छैन् । स्तरीय उपचारको लागि लखनऊ पुग्नुपर्छ । त्यसैले भारतीय बिरामी यता आएका हुन् ।
पहिले दैनिक १ सय ५० बिरामी आउने तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा अहिले दैनिक ५ सय बिरामी आउँछन् । विभिन्न विशेषज्ञ डाक्टरको सेवा उपलब्ध छ । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छ, सिटी स्क्यान सेवा उपलब्घ छ । आइसियु चलाउने प्रक्रिया अघि बढेको छ । पहिले २० जनाले मृर्गौलाको डाइलासिस गर्दै आएकोमा अहिले ७५ जनाले गर्छन् । तीन दशकदेखि काठमाडौं बस्दै आएका तुलसीपुरका गोकणर् रेग्मी गएको फागुनमा बुबाको उपचार गर्न एकहप्ता अस्पतालमा बसे । रेग्मीले उपचारमा यो अस्पताल अब्बल भएको अनुभव गरे । ॅअस्पतालको सरसफाई राम्रो छ, स्वास्थ्यकर्मी र डाक्टरले बिरामीलाई गर्ने निगरानी, उपचार र बोलीचाली राम्रो छ, काठमाडौंका राम्रा अस्पताल झैं लाग्यो,—उनले भने ।
सुधारमा प्रतिस्पर्धा
लुम्बिनी प्रदेश, स्वास्थ्य मन्त्रालयले विभिन्न सूचकाङ्कको आधारमा प्रदेशका अस्पतालहरुको सेवा प्रवाह मुल्याङ्कन गर्छ । प्रदेश मातहतका बुटवलको लुम्बिनी प्रादेशिक र दाङको राप्ती प्रादेशिक गरी दुई विशिष्टीकृत र अरु ११ अस्पतालको मुल्याङ्कन अंक हेर्दा वर्षेनी अंक बढेको छ ।
२०७६ साउनमा लुम्बिनी प्रदेश सभाको सामाजिक विकास समितिले स्थलगत अध्ययन गरी लुम्बिनी प्रादेशिक अस्पताल अस्तव्यस्त रहेको निष्कर्ष निकालेको थियो । तर अहिले अस्पतालको सेवाप्रवाहमा उल्लेख्य सुधार आएको छ ।
संघीय सरकारले तत्कालीन राप्ती र लुम्बिनी अञ्चल अस्पताल सहित प्रदेशका जिल्ला अस्पताल सहितका १३ अस्पताल २०७५ सालमा प्रदेश सरकार मातहत रहने निणर्य गरेको थियो । प्रदेश सरकार मातहत आएपछि अस्पतालको समस्या पहिचान गरी समाधानका लागि सरकारले योजनाबद्ध काम थालनी गर्यो । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले नागरिकको गुणस्तरीय जीवनयापनका लागि स्वास्थ्य क्षेत्रमा सुधारको योजना अघि सारे । त्यस अनुसार, प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन र नविकरण तथा स्तरोन्नती सम्बन्धी ऐन, २०७५ बन्यो । प्रदेश स्वास्थ्य नीति—२०७७ तयार गरी त्यसै अनुसार स्वास्थ्य क्षेत्रमा काम अघि बढे ।
तत्कालीन सामाजिक विकास सचिव डा. गोपीकृष्ण खनालका भनाईमा सरकारले पूर्वाधार विकास, उपकरण र जनशक्ति व्यवस्थापनमा प्राथमिकता दिएर काम गरेकोले अहिले अस्पतालको सेवा प्रवाहमा गुणात्मक परिवर्तन आएको हो ।
हरेक अस्पतालका समस्या र समाधानको बाटो खोजी भयो । सरकारको प्राथमिकतामा परेपछि पर्याप्त बजेट विनियोजन भयो,—सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव डा.खनाल भन्छन् । राजनैतिक नेतृत्वको चाहना र कर्मचारीको काम गर्ने जाँगर हुने हो भने सुधार गर्न सकिन्छ भन्ने यो एउटा राम्रो उदाहरण भएको उनको भनाई छ । लुम्बिनी प्रादेशिक अस्पतालको गुणात्मक सुधारको जिम्मेवारी सहित २०७६ मा मेडिकल सुपरिटेण्डेण्ट नियुक्त डा. राजेन्द्र खनाल पनि सचिव खनालको भनाईसँग सहमत छन् । ‘सरकारले अघि सारेको नीति, योजना र कार्यक्रम सफल पार्न सबैको सहकार्यबाट संभव भएको हो,—उनले भने ।’
अहिले हरेक अस्पतालमा आधारभूत प्रयोगशाला छन् । बुटवलमा सुविधा सम्पन्न प्रयोगशाला स्थापना भएपछि बिरामीले छिटोछरितो सेवा पाएका छन् । विभिन्न जटिल रोगका बिरामीका लागि प्रयोगशाला जाँचका लागि काठमाडौं जानुपर्ने बाध्यता हटेको छ । जिल्ला अस्पतालमा गाडी थिएनन् । अहिले हरेक अस्पतालमा गाडी प्रबन्ध हुँदा डाक्टरलाई काम गर्न सजिलो भएको छ । सबै अस्पतालमा एम्बुलेन्स, शव राख्ने मर्चरी फ्रिज, भिडियो एक्स-रे र प्रयोगशालाको व्यवस्थाले डाक्टर सहित स्वास्थ्यकर्मीको मनोबल बढेको छ । जिल्ला अस्पतालहरुमा भिडियो एक्सरेको सुविधा नहुँदा पहाडी जिल्लाका बासिन्दा पहिले दाङ, बुटवल र नेपालगञ्ज जान बाध्य थिए । स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध भएपछि उपचारमा लाग्दै आएको नागरिकको खर्च घटेको छ ।
पूर्वाधारमा छलाङ
प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पताललाई बिशिष्टीकृत अस्पतालको रुपमा विकास गर्ने योजनालाई कार्यान्वयन अघि बढाएको छ । राप्ती अस्पतालको पूर्वाधार विकासमा ११ करोड रूपैयाँ लगानी भएको छ । यो अस्पतालमा ६ सय शैया स्तरोन्नती गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुँदैछ ।
लुम्बिनी प्रादेशिक अस्पतालको डिपिआर तयार भई ठेक्का लागेको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा १ हजार २ सय शैयामा स्तरोन्नती गर्ने गरी ६ अर्ब १८ करोड ७५ लाखमा ठेक्का सम्झौता भई भवन निर्माणको काम शुरु भएको छ । भवन निर्माण गर्न आब २०८१।०८२ का लागि १ अर्ब ८० करोड रूपैयाँ विनियोजन भएको छ । आब २०८०।०८१ मा ७० करोड रूपैयाँ विनियोजन भएको थियो ।
भीम अस्पतालमा ११ करोडको लागतमा अस्पतालको सुविधा सम्पन्न भवन बन्दैछ । लुम्बिनी आर्युवेद चिकित्सालयको पूर्वाधार विकासमा ४ करोड लगानी भइसकेको छ । लुम्बिनी प्रदेश, स्वास्थ्य मन्त्रालयका अनुसार,आर्थिक वर्ष ०७५।०७६ मा लुम्बिनी प्रदेश सरकारले यहाँका अस्पतालमा पूर्वाधार विकास र उपकरण खरिद लगायत सेवा विस्तारका लागि ५१ करोड ५२ लाख ५० हजार रूपैयाँ विनियोजन गरेको थियो । आब २०८०।०८१ मा आइपुग्दा अस्पतालका लागि छुट्टयाइएको बजेट तेब्बर पुगेको छ । आब २०८०।०८१ मा १ अर्ब ६४ करोड २९ लाख रूपैयाँ विनियोजन भएको थियो ।
अस्पतालको सेवा गुणस्तरीय बनाउन पहिचान गरेका आवश्यकता पूरा गर्न सरकारले पहलकदमी लिएकोले सुधार संभव भएको लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व अध्यक्ष सूर्यबहादुर भट्टराई बताउँछन् । ॅसमस्या र आवश्यकता बारे जानकारी गराउन सजिलो भयो, नजिकको सरकारलाई समस्या र आवश्यकता सुनाउन सहज भयो,—उनले भने ।
जनशक्ति व्यवस्थापनमा चुनौती
पूर्वाधार विकास र उपकरण व्यवस्थापनले अस्पतालको सेवा प्रवाहमा जति सुधार भएको छ, जनशक्ति व्यवस्थापन नहुँदा सेवा प्रवाहलाई अझै बढाउन नसकेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद गिरी बताउँछन् । उनका भनाईमा, विशेषज्ञ डाक्टरको दरबन्दी अनुसार पूर्ति हुन सकिरहेको छैन् ।
जिल्ला अस्पतालमा १० जना विशेषज्ञ डाक्टरको दरबन्दी रिक्त छ । छात्रवृत्ति करारमा आएका ६ विशेषज्ञ डाक्टर र मेडिकल अधिकृतको पाँच दरबन्दी रहेकोमा तीन जनाले अस्पतालको सेवा प्रवाहलाई धानेका छन् ।
प्रदेश सरकार मातहत रहेको सबैभन्दा ठूलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालमा विशेषज्ञ डाक्टरको दरबन्दी ५२ रहेकोमा अहिले ३७ कार्यरत छन् । १५ विशेषज्ञ डाक्टर दरबन्दी रिक्त छन् । कुल ५ सय २१ जनाको दरबन्दी रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले ५ सय कार्यरत जना छन् । राप्ती प्रादेशिक अस्पतालमा १४ विशेषज्ञ डाक्टरको दरबन्दी रहेकोमा ८ कार्यरत छन् । परासीको पृथ्वी चन्द्र अस्पतालमा ८ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेकोमा २ कार्यरत छन् । अस्पतालहरुमा विशेषज्ञ डाक्टरको दरबन्दी अभाव छ । दरबन्दी अनुसार विशेषज्ञ डाक्टर नहुँदाको रिक्तता छात्रवृत्तिमा पढेका डाक्टरले गर्नुपर्ने छात्रवृति करारबाट जनशक्ति पूर्ति भइरहेको डा. गिरी बताउँछन् ।
अस्पतालहरुका जनशक्ति व्यवस्थापन एकद्वारबाट छैन् । स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी शैलेन्द्र पाण्डेका अनुसार, प्रदेशका १३ अस्पतालमा कुल १ हजार ३ सय ६९ दरबन्दी मध्ये संघबाट आएका र प्रदेशले तयार गरेको दरबन्दीको विवरण भएपनि अस्पतालमा रिक्त जनशक्तिका बारेमा तथ्याङ्क छैन् । दरबन्दी, विकास समितिबाट दिएको नियुक्ति, छात्रवृति करार, कार्यक्रम करार लगायतबाट जनशक्ति पूर्ति भइरहेपनि मन्त्रालयमा प्रष्ट तथ्याङ्क छैन् ।
डा. गिरी पहिले जस्तो दरबन्दी हुने तर डाक्टर नहुने अवस्थाको अन्त्य भएको बताउँछन् । ॅकुनै न कुनै ढंगले डाक्टरको पूर्ति भएको छ, अस्पतालमा हाजिर गरेर काज मिलाएर हिडिहाल्ने प्रवृति अन्त्य भएको छ,—उनले भने ।




