पर्यटकीय नगर रामग्राम नगरपालिकाको प्रमुखमा अहिले धनपत यादव छन् । रामग्राम नगरपालिकामा शान्तिका अग्रदुत गौतमबुद्धको अस्तु रहेको रामग्राम स्तूप छ । यो बौद्ध धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्र हो । रामग्राम स्तुपको गुरुयोजना बनाएर काम गर्ने तयारी हुँदैछ । अहिले पर्यटन प्रवद्र्धनका काम अघि बढाउन पहलकदमी अघि बढेका छन् । संविधान निर्माणपछिको पहिलो निर्वाचनमा कांग्रेसले प्रमुखमा जितेको थियो । अहिलेका प्रमुख धनपत यादव एमालेबाट निर्वाचित हुन् । रामग्रामको विकास, पर्यटन प्रवद्र्धन र आगामी योजनाका बारेमा प्रमुख यादवसँग दैनिक लुम्बिनीका संवाददाता गौरीशंकर जयसवालले गरेको कुराकानी ।
नगरपालिकाको समग्र विकास र समृद्धिको काम कसरी अगाडि बढेको छ ?
समग्रमा रामग्राम नगरपालिका अहिले समृद्धिको बाटोमा अगाडि बढेको छ । पुरानो नगरपालिका भएर पनि यस अघि केही पछाडि परेको अवस्था थियो, तर अहिले हामी नगरलाई भौतिक विकास निर्माण र सामाजिक विकासका हिसाबले अगाडि बढाउने गरी एक साथ काम गरिरहेका छौं । म निर्वाचित भएर आएपछि पहिलो काम बाढी डुबान रोक्नको लागि नगरपालिकाले खोला सरसफाइदेखि तटबन्ध निर्माण कार्य सुरु गरेको छ । तटबन्ध लगाइ साँझ बिहान परासी बजारवासीलाई मर्निङ वाक गर्न, हिंड्डुल गर्न कडिडोर बनाउने लक्ष्यका साथ काम भइरहेको छ । यसका लागि नगरपालिकाको बजेटले मात्रै नभ्याउने भएकाले प्रदेश सरकारको सहकार्य खोजिरहेका छौं । हामीले करोड खर्च गरेर गर्नुपर्ने काम लाखमै सम्पन्न गरेका छौँ । २०७८ सालमा परासी बजार डुबेको थियो । यदि खोला सफाइ र करिडोरको काम मात्रै सुरु हुँदैनथ्यो भने अहिले फेरि परासी बजार डुब्ने थियो । अर्को कुरा डुबान रोक्नलाई नै हामीले भैरहवा जाने बाइपास सडकलाई १६ करोडको लागतमा फराकिलो पारेर निर्माण गरिएको छ । त्यस्तै ६२ करोड बजेट विनियोजन भइ परासी पोखरापालीदेखि पर्यटकीय तथा धार्मिक पुरातात्विक स्थल पण्डितपुरसम्म पुग्ने सडक निर्माणको काम सुरु भएको छ । उक्त सडक बहुआयमिक महत्वको सडक हो । जसले औद्योगिक क्षेत्रलाई पनि सहयोग पुग्ने छ भने पण्डितपुरसम्मको पक्की सडकको पहुँच र भविष्यमा रूपन्देहीतर्फ जोड्न राम्रो सडकको पहुँच हुनेछ ।
शिक्षा, स्वस्थ्य, कृषि, खानेपानी क्षेत्रमा पनि हामीले प्राथमिकताका साथ काम गरिरहेका छौं । परासी सदरमुकाममै खानेपानी क्षेत्रमा सबैमा शुद्ध पिउने पानीको पहुँच थिएन, ट्याङ्की निर्माण भएको तर पानी वितरण नभएको अवस्थामा हामी निर्वाचित हुने बित्तिकै सदरमुकाममा पानीको विस्तार वृद्धि गरेका छौं, अहिले २५ सयभन्दा धेरै घरधुरीले पानी पिउँदै आउनु भएको छ ।
तर अझैँ पर्याप्त छैन, हामी काम गरिरहेका छौं । अर्को कुरा धेरै आर्सेनिक हुने क्षेत्र रामग्रामको वडा नम्बर १२, १३ लगायत अन्य स्थानमा पनि खानेपानीको पहुँचविस्तार गर्न धमाधम माथिल्ला तहका सरकारसँगको सहकार्यमा काम भइरहेको छ । म काठमाडाँ जाँदा हरेक पटक मन्त्रालयका विभागहरूमा पुगेर बजेटको लागि माग गरेको छु, पटक–पटक भेटेर अनुरोध गर्ने गरेको छु, सहजै बजेट आउँदैन पनि, त्यसैले यो नगरपालिकालाई समृद्ध बनाउन काम गर्दै आएका छौँ ।
नगरको मुख्य विकास योजना र कार्यक्रमहरू के–के छन् ?
धेरै कुरा त मैले भनिसके नियमित काम त भइरहन्छ, यस वर्ष ६ करोडको लागनीमा खेलकुदको लागि स्टेडीयम बनाउँदै छौँ । रिङरोड बनाउने र हरेक वडामा खेल मैदानको बनाउने, कृषकसँग मेयर कार्यक्रम सञ्चालन गर्ने पल्स टु उत्तीर्ण विद्यार्थीहरूलाई व्यवसायिक बनाउने कार्यक्रम सञ्चालन, मेयरसँग जेष्ठ नागरिक कार्यक्रम सञ्चालन स्वास्थ्य क्षेत्रमा गर्भवती महिलाहरूलाई ६ महिना पुग्ने गरी पौष्टिक आहार दिने योजनालगायतका काम भइरहेका छन् । सौर्य प्लान्ट निर्माण गरी विद्युत् उत्पादन गर्ने योजना पनि लिएर काम हुने चरणमा रहेको छ ।
रामग्राम पर्यटकीय हिसाबले पनि महत्वपूर्ण पालिका हो, रामग्राम स्तूप र पण्डितपुरको पर्यटन विकासको योजना के कस्ता छन् ?
रामग्राम नगरपालिकाले रामग्राम स्तुप र पण्डिपुरको संरक्षण प्रवद्र्धन विकासमा निरन्तर लागिपरेको छ । गत वर्ष पण्डितपुरमा जियोफिजिक्स सर्भे भएको छ । रामग्राममा पनि उत्खनन्को काम भयो । रामग्राम स्तूप पण्डितपुर जोड्ने योजनाको साथ आगाडि बढेको छु । यस वर्ष रामग्राम स्तूप र पण्डितपुरलाई विकास गर्न उत्खनन् गर्नको निम्ती अगाडि बढेको र पण्डिपुरलाई उत्खनन् गर्न पुरातत्व विभागले बजेट पनि विनियोजन गरिसकेको छ । रामग्राम स्तूपलाई सौन्दर्यकारण गर्न बजेटको व्यवस्थापन गरेको छु । रामग्राम स्तूप र पण्डितपुरको लागि प्रदेश सरकारले १५ लाख बजेट बिनियोजन गरेको र रामग्राम नगरपालिकाले ४० लाख बजेट विनियोजन गरेको छ । रामग्राम विकास कोष स्थापना गरी पूर्णता पनि पाएको छ । रामग्राम स्तूपमा नगरपालिकाले सिमाना छुट्याइ तारबार गर्ने कार्य अगाडि बढाउने गरी काम गरिहेको छु । नगरपालिकाले रामग्राम स्तूपमा पर्यटकालाई लक्षित गरी विश्राम गृह बनाएको छ । खासगरी यो संघीय सरकार मातहत रहेको लुम्बिनी विकास कोषको मातहता रहने भएकाले हामीलाई समस्या भएको छ । म निर्वाचित भएर आएदेखि नै स्तूप एउटा हात्तीको देखाउने दाँत जस्तै भएपछि लुम्बिनी विकास कोषदेखि संघीय सरकारसम्म अझ भनौ प्रधानमन्त्रीसम्म पुगेर पटक–पटक ध्यानाकर्षण गराए, तर काम हुने नदेखेपछि हामीले कोष बनायौँ, अब कोष कार्यान्वयनमा आउँछ, केही न केही काम नगरपालिकाले गर्छ, त्यहाँ अब सुरक्षाका लागि प्रहरी बिट पनि हामी स्थापना गर्छौं ।
स्थानीयतहले संघ र प्रदेशबाट पाउनुपर्ने अधिकार नपाएको, साझा अधिकारको सूचीमा विवाद भएको कुरा छ, यसमा के भन्नुहुन्छ ?
वास्तवमा पटक–पटक यस विषयमा मैले कुरा उठाउँदै आएको छु । स्थानीय सरकारले पनि अरू सरकार जस्तो स्थानीय सरकारले आफ्नो अधिकार पाउनुपर्छ ।
सबैभन्दा यस ठूलो समस्या स्थानीयको कर्मचारी सरूवा बढुवा गर्न समस्या छ । स्थानीय सरकारका सन्र्दभमा कानुन निर्माण नहँुदा समस्या भएको छ । स्थानीय सरकार घरदैलोको सरकार हो, हरेक स्थानीय जनताको नजिकै सरकार हो, उनीहरू स्थानीय सरकारसँग ठोकिन्छन् र स्थानीय सरकारको महसुस गरिहेका छन् । सहज तरिकाले सेवा प्रवाह गर्ने हो भने स्थानीय सरकारसँग भएका स्रोत साधनहरू स्थानीय सरकार भएका अन्य स्रोतहरूको व्यस्थापन गर्न पाउने त्यसलाई स्थानीय सरकारले प्रयोग गर्न पाउनुपर्छ त्यसलाई परिचालन गर्न पाउनुपर्छ । स्थानीय सरकारले ऐन कानुन बनाई संरक्षण संकलन गर्ने त्यसलाई बिक्री वितरण गर्न अधिकार पाउनुपर्छ । जुन किसिमका कर्मचारीबाट पाउनु पर्ने सहयोग स्थानीय सरकारले पाएको छैन । स्थानीय सरकारमा दरबन्दीअनुसार कर्मचारी नहुँदा समस्या छ
स्थानीयतहहरूमा बेरूजु बढ्दो छ,रामग्रामको पछिल्लो बेरूजुको अवस्था कस्तो छ ?
रामग्राम नगरपालिकाले बेरूजु कम गर्ने नीति लिएर काम गरिरहेको छ । २०५३ साल चैत्र १४ गते स्थापना भएको रामग्राम नगरपालिकामा हालसम्म देखिएको बेरूजुको अवस्था १७ करोड ४७ लाख छ र गत वर्ष दुई करोड ६१ लाख बेरूजु रकम घटाएको छु । अहिलेसम्म कुनै पनि बेला बेरूजुको रकम घटेको थिएन । तर म निवार्चित भएर आएपछि पहिलो पटक बेरूजुको रकम घटाउँदै गएको छु । अरू प्रक्रियागत, नीतिगत बेरूजु घटाउँदै गएको छु । १७ करोड ४७ लाख रामग्राम नगरपालिकाको लागि बेरूजु चिन्ताको विषय छैन, विगतका पनि घटाउने र मेरो कार्यकालमा सकभर बेरूजु नहोस् र भइहालेमा पनि कम गर्ने नीति लिएको र आलेप शाखालाई शून्य बेरूजु गर्ने गरी काम गर्न निर्देशन दिइसेको छु । सुशासन कायम गर्न हामी प्रतिबद्ध छौं ।
सुशासन प्रवद्र्धन र नागरिकलाई सहज सेवा उपलब्ध गराउन के–कस्ता नीति र अभ्यास छन् ?
प्रशासनलाई स्वच्छ सक्षम निष्पक्ष, पारदर्शी, भ्रष्टचारमुक्त जनउत्तरदायित्व र सहभागिता बनाउँदै नागरिकले पाउने पर्ने राज्यबाट प्राप्त हुने सेवा सुविधा जनताको समान र सहज पहुँच सुनिश्चितता गरिएको छ । नगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउनको लागि आर्थिक पारदर्शिता कायम गरिएको छ । नागरिकलाई वडा र नगरपालिका कार्यालयबाट नागरिक मैत्री र सहज सेवा दिँदै आएका छौं ।
प्रशासनमात्रै नभई नगारिक जावफदेहीबन्न सुशासनको प्रत्यभूति दिलाइ नागरिकलाई विकासको प्रक्रियामा सहभागिता गराइएको छ । नागरिकलाई सेवामा कस्ता–कस्ता आवश्यक कागजपत्र आवश्यक पर्ने भनि नागरिक बडापत्र निर्माण गरिएको छ । विगतको कार्यकालमा हुन नसकेको सार्वजनिक सुनुवाइ हामी हरेक चौमासिकमा गरेर जनताको घरदैलोमै पुगेर उनीहरूका गुनासा र सुझाव सुनेका छौं । त्यसले योजना निर्माणमा पनि सहयोग पुगेको छ ।
नगरको भौतिक विकाससँगै सामाजिक विकासमा यो वर्ष के–कस्ता कार्यक्रम छन् ?
पार्किङ व्यवस्थापन, कम्प्लेक्स निर्माण गर्ने योजना रहेको छ । यस वर्ष सर्वप्रथम ६ करोडको लगानीमा खेलकुदको लागि स्टेडियमा बनाउँदै छौं । रिङरोड बनाउने र एक वडा एक खेल मैदानको बनाउने, विद्यार्थीहरूलाई व्यवसायिक बनाएर आत्मनिर्भर बनाउने, सौर्य प्लान्ट निर्माण गरी विद्युत् उत्पादन गर्ने योजनासाथ आगाडि बढेका छौँ । खासगरी हामी गरिब विपन्न नागरिक र कृषि पेशालाई उन्नत बनाउन प्रविधिको प्रयोगसँगै नागरिकको सहयोगी बन्दै आएका छांै ।
त्यो अब क्रिया खर्चमै सहयोग गरेर होस् वा घर निर्माण गरेर होस् हामी ठूलादेखि जनताका घरदैलोका सामान्य काम जनतालाई प्रत्यक्ष स्थानीय सरकारको प्रत्याभूति होस् भन्ने चाहन्छौँ र गरिरहेका पनि छौँ । तर बजेट सीमित छ । सशर्तको बजेट वृद्धि गर्न त विशेष पहल गरेर म सफल भएको छु, तर स्थानीयस्तरमा सीमित स्रोत साधन भएका कारण सबै उपलब्धि हासिल त नहोला, तर जुन लक्ष्य लिएका छौँ, त्यो जनप्रेमी छ । यसमा सबै नगरवासीको साथ भएमा हामी सफल हुन्छौँ ।




