कांग्रेस–एमालेबीचको सत्ता गठबन्धनबाट फ्याकिएका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले देश दौडाहामा छन् । उनी जहाँ जहाँ जान्छन् त्यहाँ उनले कांग्रेस–एमालेकै निन्दा र घृणा गरिरहेका हुन्छन् । त्यसमा पनि अझ बढी घृणा एमाले अध्यक्ष प्र.म. के.पी. ओलीप्रति नै बढी हुन्छ । पटक–पटक प्रचण्डले ओलीलाई धोकेवाज, बेइमानी, जाली, फटाहा आदि भन्दै हिडिरहेका छन् । निश्चय नै प्रचण्डले भनेजस्तै ओली धोकेवाज नै हुन् । कांग्रेसी काखामा लडीबुडी गर्दै रमाइरहेका कमरेड प्रचण्डलाई ओलीले ललाइ फकाइ प्यारका साथ आफ्ना काखमा ल्याइ सुताए । तर प्रचण्ड उड्दा बाहिर एक्लै भुइमा । ओली उनको त्यो आलिसान सत्ताको कुर्सीमा रमाइ बसेको देख्दा प्रचण्डलाई कम्ती पीर परेको छ । बयान गरी साध्य नै छैन । तर यसमा बढी दोष प्रचण्ड आफैँको छ । कहिले कांग्रेसी देउवाको काखमा भने कहिले ओलीका् काखमा लहसिने । तिउन चखुवा बेश्वाप्रवृत्तिकै कारण यो भएको हो । त्यसैले अरुलाई धारे हात लगाउँदै हिड्नुभन्दा पहिले आफैँले आफैँलाई धारे हात लगाइ समालिएर बस्नु र हिंड्नु प्रचण्डका लागि फलदायी हुनेछ ।
अझ अहिले प्रचण्डले बंगलादेश र श्रीलंकाको तुलना गर्दै ओली–देउवा लखेटिने धम्की दिँदै हिंडिरहेका छन् । अहिले ओली–देउवाले प्रचण्डलाई खाली एउटा सत्ताको कुर्सीबाट लखेटेका मात्र हुन् । व्यवस्था सदन अनि देश र जनताबाट त उनी लेखिटएका छैन । प्रचण्ड सदनमा कुर्लिरहेका छन् । देशव्यापी जनतामा गइ आफ्ना भनाइ राखिरहेका छन् । तर अब कुनै कारण प्रचण्ड फेरि सत्तामा आए ओली–देउवाको कुनै खैरियत रहने छैन । बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिना जस्तै देशबाट लखिटिने छन् । होसियार ओली–देउवा । हुन पनि आफू मरे भुतै राजा । यसै भएन उसै भएन । जे गर्न पनि पछि नपर्ने बदलाको उग्र राजनीतिले प्रचण्डलाई गाजी सकेको छ । त्यसैले फेरि पनि सावधान ओली–देउवा ।
सामन्ती, दलाल र नोकरशाही बुर्जुवा राज्य सत्ता र व्यवस्थाको असली विशेषता र चरित्र नै यस्तै षड्यन्त्र जालझेल र धोका नै हो । आलोपालो मिली खाने नमिले एकले अर्कालाई धोका, बेइमानी र षड्यन्त्र गरिहाल्ने सामन्ती चरित्र नै हो । मित्र–सहयोगी अनि को दुश्मन विरोधी ? यसमा कुनै ठेगान नै रहन्न । हिजोको शत्रु आज मित्र अनि आजको मित्र भोलि फेरि त्यही शत्रु–दुश्मन । ठीक यो ओली–देउवा र प्रचण्डमा देखिंदै आएको छ । राजनीतिमा कुनै स्थायी दुश्मन अनि मित्र हुँदैन भन्ने मदन भण्डारीको घोर अवसरवाद यी तिनै नेताहरुले पटक–पटक देखाउँदै आएका छन् । वास्तवमा को शत्रु र को मित्र छुट्याउने मूल कसी वर्गीयता हो । कम्युनिष्ट राजनीतिको मूल आधार नै यही हो । तर कम्युनिष्टको नाममा एमाले र माओवादी सबैले वर्गीय पक्षधरतालाई लात मार्दै सामन्ती, दलाल र नोकरशाही बुर्जुवा राष्ट्रघाती र जनघातीहरुसँग हात मिलाउँदै उनीहरुकै पिछलंगु बन्दै आइरहेका छन् । माओवादी र एमाले दुवै पार्टीले अहिले पनि नेपाली कांग्रेस पार्टीलाई सामन्ती दलाल र बुर्जुवा पार्टी नै भन्दै आएका छन् । तर काम र व्यवहारमा भने दुवै कांग्रेसकै पिछलंगु, कांग्रेसकै पुच्छर समाउँदै अघि पछि हिंडिरहेका छन् ।
देउवाको न्यानो काख छोडी प्रचण्ड ओलीको काखमा आएपछि भारत भ्रमणमा गए । त्यहाँ उनले नेपालभन्दा भारतको हितमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दलाली र चाकडी गरे । त्यसका लागि मोदीको आशीर्वाद थियो एमाले ओली गठबन्धन छोडी पुनः कांग्रेसी गठबन्धनमा नै जाउ । प्रचण्ड नेपाल फर्केपछि यसैलाई सिरोपर गरी उनी देउवा निवास पुगे । भारतीय विस्तारवादी गुरुको सन्देश भन्दै फेरि कांग्रेस माओवादी सत्ता गठबन्धन गरौ भने । तर देउवालाई पत्यार लागेन । देउवा के हो भनी बुझ्न सपत्नी आरजु सहित ओली निवास बालबोट पुगे । पटकपटक प्रचण्डबाट धोका खाँदै आएका यी दुवै देउवा– ओलीबीचको लामो छलफल पछि यो गठबन्धन बनेको हो । राजनीति भनेको ट्रिकको खेल हो भन्ने बुझेका यी तिनवटै ओली–देउवा र प्रचण्डबीचको यो खेलमा अहिले प्रचण्ड नराम्ररी पछारिएका छन् । पानी विनाको माछा जस्तै छट्पटाउँदै हिंडिरहेका छन् । कहाँ र कसले बाँच्नका लागि दिन्छ पानी भन्दै छटपटाउँदै छन् ।
जति चाकडी र दलाली गरे पनि भारतले उनलाई पत्याएन अनि अमेरिकाले पनि । प्रचण्डप्रति चीनको पनि त्यति धेरै विश्वास छैन । तैपनि केही भई हाल्छ कि भनी अहिले प्रचण्डले वर्षमान पुनलाई चीन पठाएका छन् । यता माधव– विप्लव सहितको समाजवादी मोर्चा अघि बढाएर केही हुन्छ कि भनी गरिएको प्रयास पनि त्यत्तिकै सेलाउँदै जान थालेको छ । प्रचण्ड यति हतारिएका छन् कि यस्तो मोर्चाभन्दा अब तत्काल पार्टी एकता नै गरिहाल्ने तरखरमा देखिन्छन् । तर विप्लव र माधवहरु भने तत्काल यसमा देखिदैनन् । तत्काल माओवादीसँग पार्टी एकता गर्ने प्रचण्डको कुराले नेकपा एसका धेरै नेता कार्यकर्ताहरु एमालेमा फर्कने आशंकाले गर्दा नेपाल–खनाल यसबाट अलि टाढिएका छन् । त्यस्तै स्थिति विप्लव समूहमा पनि देखिएको छ ।
हुन पनि अब फेरि केका लागि प्रचण्डसँग पार्टी एकता गर्ने ? पद, प्रतिष्ठा र कुर्र्सीका लागि गर्ने हो भने प्रचण्ड सत्ताच्यूत भइसकेका छन् । अनि अब आगामी निर्वाचनका लागि गर्ने हो भने पनि प्रचण्डको जनआधार चारैतिरबाट खस्किसकेको छ । उल्टो केही भएको जनआधार पनि प्रचण्डकै कारण झन् बिग्रने डर विप्लव माधवमा छ । यतिसम्मकि हिजो प्रचण्ड सत्तामा रहँदा बाबुरामसँग अलग भई बसेकाहरु समेत अब फेरि बाबुरामसँग नै मिली एमाले निकट हुनेमा देखिंदैछन् । आफ्नै पार्टी समाल्न नसकेका प्रचण्डबाट अब अरु दलहरुलाई समेत एकतामा ल्याउने सम्भावना विरलै छ । बरु प्रचण्ड कै पार्टी आज हो कि भोलि विभाजनको डिलमा पुगिसकेको छ । प्रचण्डको नाममा सत्ता डुबुल्की मार्नेहरुको छाटकाट अर्कै छ भने सच्चा केही क्रान्तिकारीहरु प्रचण्डको विकल्पमा नयाँ अर्काे क्रान्तिकारी धारको खोजीमा छन् ।
जब मान्छे समस्यै समस्यामा झेलिएपछि त्यसबाट केही गरी उम्कनै नसके आखिर एउटा भनाइ छ– मर्नभन्दा बौलाउन निको । ठीक यो कथन अब प्रचण्ड कमरेडमा पनि लागू हुने देखिंदैछ । २०५२ साल फागुन १ मा माओवादी जनयुद्ध थालियो । जनताले पत्याएर सहयोग गरी त्यो १० वर्ष चालु रह्यो । पछि जनयुद्ध छोड्ने हातहतियार बुझाउने अनि पुरानै सामन्ती, दलाल र नोकरशाही बुर्जुवा प्रतिक्रियावादी राज्य सत्ता स्वीकार्ने नाममा १२ बुँदे दिल्ली समझदारीमार्फत् सत्तासिन बन्दै आएका कमरेड प्रचण्ड अहिले एक्लै बेसाहारा न घर न घाटका भएका छन् । कांग्रेस–एमाले, भारत–अमेरिका–चीन कसैको पनि साथ छैन । यस्तो स्थितिमा अब उनको साहारा बाँकी केवल पूूर्व राजा ज्ञानेन्द्र मात्र भएका छन् । चर्चा छ केही दिन पहिले ज्ञानेन्द्र–प्रचण्डबिच एउटा लामो गोप्य भेटवार्ता भएको । पूर्व राजा वीरेन्द्रको वंशनास पछि तत्कालीन राजा ज्ञानेन्द्र र प्रचण्डबीच केही समझदारी वार्ता संवाद हुने गरेको थियो । यतिसम्मकि त्यसैका लागि प्रचण्डले बाबुरामलाई कारबाही गरी नजरबन्द नै गराइराखेका थिए । तर एकाएक त्यो माहोल बिग्रियो । रातारात प्रचण्ड–बाबुराम, गिरिजा–माधव सबै दिल्ली बोलाइए र भारतकै डिजाइनमा १२ बुँदे दिल्ली समझदारी गरी देशमा आन्दोलन भयो । राजतन्त्रको अन्त्य र गणतन्त्रको उदय भयो । पूर्व पञ्चे–मण्डले, राजा सबै एक्लिए ।
अहिले चर्चामा आएको ज्ञानेन्द्र–प्रचण्ड भेटवार्ताले कतै त्यो पुरानो माओवादी–दरबार भेटवार्ता र समझदारीलाई पुनर्जीवित गराउँदै त छैन ? २०६३ सालपछि एक्लिएका ज्ञानेन्द्र र अहिले एक्लिदै जान थालेका प्रचण्डबिचको यो भेटवार्ता र सहकार्यले कांग्रेस–एमालेलाई झस्काएको हुनुपर्दछ । पुराना र नयाँ पञ्चे, मण्डलेहरुको चुरीफुरी ज्ञानेन्द्रको बढ्दो सक्रियता अनि प्रचण्डको एमाले–कांग्रेसप्रतिको चर्काे आक्रमणका पछाडि कतै न कतै यो चर्चाले काम गरिरहेको पो छ कि ? शंका गर्ने प्रशस्त ठाउँ छ । भनिन्छ आफू मरे भुतै राजा । प्रचण्डका लागि अब के को माक्र्सवाद–लेनिनवाद र माओवाद ? अनि के को १० वर्षे जनयुद्ध र के को लोकतन्त्र ? संघीयता र समानुपातिक ? सबै भाडामा जाउन के मतलब ? मतलब खाली कुर्सी र सत्ताको मात्र छ । राजतन्त्र स्वीकार गरेर हिन्दु राज्य नेपाल भनेर वा जे गर्दाभन्दा त्यो पाइन्छ त्यही गर्नेमा अब प्रचण्ड पुग्ने देखिन्छन् । प्रचण्डले भन्ने गरेको उलटपुलट वा विद्रोहको अन्तिम अब यही मात्र बाँकी छ ।




