रोल्पा ।रोल्पा अस्पतालले आर्थिक वर्ष २०८०/०८१ मा ८५ प्रतिशत प्रगति गरेको छ । अस्पतालको आधारभूत सेवा मापदण्डमा विगतको तुलनामा सबैभन्दा धेरै प्रगति गरेको हो । आर्थिक वर्ष २०७९/०८० मा ६९ प्रतिशत प्रगति गरेको अस्पतालले गएको वर्ष ८५ प्रतिशत प्रगति गरेको रोल्पा अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद कट्टेलले जानकारी दिनुभयो । शनिबार रोल्पा अस्पतालले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठी समेत रेउघामा सम्पन्न गरेको छ ।
रोल्पा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद कट्टेलको अध्यक्षतामा आयोजित समीक्षा गोष्ठीमा गत आर्थिक वर्षमा अस्पताल तथा अस्पताल अन्तर्गतका विभिन्न डिपार्टहरुले गरेका प्रगतिको समीक्षा गर्नुका साथै अस्पताल प्रशासनले गर्नसक्ने भावी कार्यनीतिका विषयमा समेत छलफल भएको छ ।
कार्यक्रममा रोल्पा अस्पतालका प्रमुख डा. प्रमोद कट्टेलले आर्थिक वर्ष २०८०/०८१ मा भएका समग्र कार्यसम्पादनका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । रोल्पा अस्पताल ५० बेडको भएपनि हाल ५२ बेड सञ्चालनमा छ ।
अस्पतालमा गत आर्थिक वर्षमा बहिरंग बिरामी संख्याको क्रमानुसार हेर्दा ग्याष्टिकका बिरामी सबैभन्दा बढी ४.५० प्रतिशत देखिन्छ । त्यस्तै अन्तरंग बिरामी संख्याको क्रमानुसार सबैभन्दा बढी स्वासप्रस्वास सम्बन्धी रोगका बिरामी ५.४५ प्रतिशतले सेवा लिएको देखिन्छ ।
रोल्पा अस्पताल विकास समितिमा १ करोड ८३ लाख ६२ हजार ५४ रुपैयाँ रकम बचत रहेको छ । अस्पतालका लागि आर्थिक वर्ष २०८०/०८१ मा पुँजीगततर्फ ४९ लाख रकम विनियोजन भएकोमा २४ लाख ८३ हजार २४१ रुपैयाँ मात्र फुकुवा भएको थियो ।
चालुतर्फको सबै फुकुवा रकम खर्च भएको देखिन्छ । त्यस्तै चालु खर्चतर्फ ५ करोड २० लाख १६ हजार ५०२ रुपैयाँ रकम विनियोजन भएकोमा ४ करोड १४ लाख ८६ हजार ६२२ रुपैयाँ फुकुवा भएकोमा सबै खर्च भएको देखिन्छ । पुँजीगत, चालु, अस्पताल विकास समिति र फार्मेसी गरी जम्मा १४ करोड २९ लाख ९४ हजार २ रुपैयाँ बजेट विनियोजन भएकोमा ११ करोड ८९ लाख १३ हजार २२४ रुपैयाँ फुकुवा भएको र सबै खर्च भएको अस्पताल प्रमुख डा. प्रमोद कट्टेलले जानकारी दिए ।
रोल्पामा स्वास्थ्य बीमा २०७४ मंसिरदेखि सुरु भएको थियो । गत आर्थिक वर्षको अवस्था हेर्दा १९ हजार ६८५ जना रोल्पालीले स्वास्थ्य बीमा गरेको देखिन्छ । स्वास्थ्य बीमाका लागि २३ करोड ११ लाख ९७ हजार १८७ रुपैयाँ दाबी गरिएकोमा १ करोड ४८ लाख ५९ हजार ६५४ रुपैयाँ प्राप्त भएको र ८३ लाख ३७ हजार ५३३ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । दाबी गरिएको रकम समयमै नआउनु नै बीमा कार्यक्रमको मुख्य समस्या रहेको रोल्पा अस्पताल प्रमुख डा. प्रमोद कट्टेलले बताए । उनकाअनुसार रोल्पा अस्पताल फार्मेसीमा १२ सय प्रकारका औषधी रहेका छन् ।
उत्कृष्ट कर्मचारी सम्मानित
रोल्पा अस्पतालको वार्षिक प्रगति समीक्षामा उत्कृष्ट हुने कर्मचारीलाई सम्मान गरिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै दुईजना कर्मचारीलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा अस्पतालका कार्यालय सहयोगी प्रेम घर्तीमगर र स्टाफ नर्स साधना थापामगर रहेका छन ।
त्यस्तै रोल्पा अस्पतालमा १५ वर्षसम्म लगातार सेवा गर्ने कर्मचारीलाई समेत सम्मान गरिएको छ । १५ वर्षभन्दा बढी समय रोल्पा अस्पतालमा सेवा गरी सम्मानित हुनेहरुमा कार्यालय सहयोगी सुकबीर पुन, कार्यालय सहयोगी चित्रबहादुर केसी, सिनियर अहेव कुलबहादुर डाँगी, बरिष्ठ अस्पताल नर्सिङ निरीक्षक मीना कवँर र बरिष्ठ अस्पताल नर्सिङ निरीक्षक सर्मिला पोख्रेल रहेका छन ।
त्यस्तै रोल्पा अस्पतालमा शुद्ध खानेपानी निर्माण तथा वितरणमा सहयोग गर्ने बिराट मेडिकल कलेज (बीएमटी) नेपालका रोल्पा संयोजक सुदीप पौडेललाई पनि सम्मान गरिएको थियो ।
वार्षिक प्रगति समीक्षामा बोल्दै जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यले अस्पतालको सेवा प्रवाह सुधारोन्मुख रहेको बताईन । जनशक्ति अभावका बाबजुद पनि उत्कृष्ट सेवा प्रवाह गरेकोमा धन्यवाद व्यक्त गर्दै उनले अस्पतालको थप सेवा सुधारका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताईन । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश जनस्वास्थ्य निर्देशनालयका बरिष्ठ स्वास्थ्य निर्देशक भरत कुँवरले अस्पतालप्रतिको आम चासो र चिन्ताकै कारण रोल्पा अस्पतालले राम्रो सेवा दिइरहेको बताईन ।
जनशक्ति अभाव परिपूर्तीका लागि प्रदेश लोकसेवा आयोगले आफ्नो प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिँदै उनले सेवा प्रवाहका क्रममा देखिएका कानूनी समस्यालाई प्रदेशले हल गर्ने आश्वासन व्यक्त गरिन ।
कार्यक्रमको सञ्चालन मोतिराज न्यौपानले गरेका थिए।




