नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन सदस्यतासम्बन्धी विवादले स्थगित भएको छ । जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिए पनि सदस्यता विवाद टुंगो नलाग्दा निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढ्न सकेन् । महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचनको अघिल्लो साँझ मात्रै विज्ञप्ति जारी गरी निर्वाचनको अर्को मिति सार्वजनिक गर्ने जानकारी गराएका छन् ।
नेपाल पत्रकार महासंघमा सदस्यता शुद्धिकरण गर्नुपर्ने माग केही वर्षदेखि उठ्दै आएको हो । सदस्यता वितरण गर्दै जाने तर सदस्यता पाएका व्यक्तिले नविकरण गरुञ्जेल सदस्यता कायम रहँदा पत्रकार महासंघ पेशागत संगठन हो कि होइन् भन्ने प्रश्न उठिरहेको छ । पत्रकारिता पेशाबाट अन्यत्र गइसकेपछि पनि सदस्य भइरहने प्रवृत्तिले पत्रकार महासंघ र पत्रकारिता प्रति प्रश्न उठ्नु स्वाभाविकै हो । पत्रकारिता गर्ने बाहेकले सदस्यता छाड्ने वा उनीहरुलाई हटाउनु सदस्यता शुद्धिकरणको उत्तम विधि थियो । पत्रकार महासंघमा लामो समयदेखि चल्दै आएको शुद्धिकरणको विषयलाई महासंघ नेतृत्वले अघि बढाउनु सकारात्मक थियो, तर सदस्यता शुद्धिकरणको नाउमा भएको जालझेल र पूर्वाग्रहले अहिले पत्रकार महासंघ पत्रकारिता गर्ने बाहेक अरु सबै काम गर्नेहरुको थलो बन्ने जोखिम बढेको छ । जिल्ला-जिल्लामा सदस्यता शुद्धिकरणका नाउमा पूर्वाग्रह राखिएको छ । फरक विचार, आस्था र समूहमा रहेका उस्तै खालका व्यक्ति हटाइएका छन्, निकटहरुको सदस्यता कायमै राखिएको छ । अझैँ महासंघ प्रदेश र केन्द्रले जिल्लाबाट हटाउने सिफारिस भएका कतिपय व्यक्तिको सदस्यता कायमै राख्ने निर्णय गरेकाले विवाद झनै चुलिएको छ । शुद्धिकरणको विषय पारदर्शी ढंगले कार्यान्वयन गर्नुको साटो आग्रह र पूर्वाग्रह राखेर अघि बढाएर पत्रकार महासंघमा कहिल्यै नपुरिने विभाजन ल्याउन खोजिएको छ । नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्वको जालझेलले आगामी दिनमा महासंघमा ल्याउने समस्या बहुआयामिक हुनेछन् ।
नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ नेपालको सशक्त नागरिक संगठन पनि हो । यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रभाव पनि राम्रो छ । यस्तो प्रभाव संगठनको मर्यादा र गरिमा जोगाउन सक्दा मात्रै रहने हो । सधैँ संस्थाको गरिमा र प्रभाव उस्तै रहन्छ भन्ने हुँदैन । संगठन व्यवस्थापनको जिम्मा लिएका व्यक्तिको आचरण, कार्यशैली एकातिर हुन्छ, अर्कोतिर विधि र प्रक्रियाले संगठन सञ्चालन भयो वा भएन् महत्वपूर्ण हुन्छ । अहिले पत्रकार महासंघमा देखिएको सदस्यता विवाद छताछुल्ल हुँदा यसको ओजपूर्ण साख गिरेको छ । पत्रकार महासंघलाई पत्रकारको संस्था मात्रै बनाउने कि राजनैतिक दाउपेचको भन्ने प्रश्न सतहमै आएको छ । यो प्रश्नको समाधान गर्ने प्रष्ट दृष्टिकोण वर्तमान नेतृत्वबाट आउन सकेको छैन ।
विवाद समाधानको प्रष्ट दृष्टिकोण नहुने हो भने पत्रकार महासंघको आगामी भविष्य अनिश्चत छ । यसो हुनु भनेको नेपाली पत्रकारहरुको लागि दुर्भाग्य हो । पत्रकार महासंघको आगामी भविष्यलाई सुनिश्चित गर्न विधि र प्रक्रियाले चल्नुपर्छ, आम पत्रकारहरुबीच यो प्रक्रिया स्थापित गर्न बहस र छलफलको खाँचो छ ।




