१. प्रसङ्ग उठेको छ संविधान संशोधनको । यसैका खातिर ठूला दलहरु नेकपा (एमाले) र नेपाली कांग्रेसको समीकरणबाट सरकार बनेको बताइन्छ । एमाले अध्यक्ष के.पी. शर्मा ओली र नेका सभापति शेरबहादुर देउवाले यही भनेको पाइन्छ । यो पङ्तिकारलाई पनि संविधानका विषयमा धेरै कुरा उठाउनुपर्ने लागेको छ । संशोधन गर्नुपर्ने र केही थप गर्नुपर्ने लागेको छ । त्यसबारे पछिपछि छलफल गरौंला । यस लेखमा उठाउन खोजिएको विषय हो– हाम्रो राष्ट्रिय गानमाथि केही कुराहरु मात्रः
२. राष्ट्रिय गानलाई जस्ताको तस्तै राखौं, पहिलो नम्बरमा अनि अरु कुरा गरौंला । दोस्रो, तेस्रो नम्बरमा ।
२.१ सयौं थुंगा फूलका हामी एउटै माला नेपाली
२.२ सार्वभौम भइ फैलिएका मेची महाकाली
२.३ प्रकृतिका कोटी कोटी सम्पदाको आँचल
२.४ वीरहरुको रगतले स्वतन्त्र र अटल
२.५ ज्ञान भूमि शान्ति भूमि तराई, पहाड, हिमाल
२.६ अग्रगामी राष्ट्र हाम्रो जयजय नेपाल ।
३.यो राष्ट्रिय गानका सम्बन्धमा आफ्नो मनमा लागेको खस् खस् राख्ने अनुमति चाहन्छु ।
माथि २.२ मा सार्वभौम भई फैलिएका मेचीमहाकाली उल्लिखित छ । हाम्रो देश सन् १८१४–१८१६ मा अंग्रेजसँग भएको सुगौलीको सन्धिअनुसार पनि महाकाली पारिका दोधारा र चाँदनी नेपालको स्वामित्वमा रहेका छन् । ती जग्गा हाम्रा हुन् । महाकाली नदीले नेपालतिर पेल्दै आएपछि दोधारा चाँदनी महाकाली पारि परेको देखिन्छ । यसरी नै उत्तरतर्फ ब्रह्मदेवदेखि दक्षिणतिर धेरै तलसम्म महाकालीले नेपालतर्फ पेलेको छ । चाहे शारदा व्यारेज भनौं, चाहे पछि बनाइएको टनकपुर नहरको जग्गामा बनाइएका पुल र व्यारेजका पूर्वी जिप त पुरै नेपाली भू–भागमा निर्माण भएको लाटा आँखाले पनि देखिन्छ । यहाँ उल्लेख गरिरहेको कुरा के हो भनी महाकाली नदी नेपाली भूभागबाट मात्र महाकाली बगिरहेको छ । अर्काे तरिकाले भन्नुपर्दा यहाँनेर महाकाली नदी सीमा नदी होइन । कुरा प्रष्टै छ । तर नेपालको संविधान सभाबाट निर्मित र पारित २०७२ साल असोज ३ गते जारी संविधानमा नेपालको राष्ट्रिय गानले सार्वभौम भइ फैलिएका मेची महाकाली भनेर के भन्न खोजेको हो ? यहाँनेर त महाकाली पनि सीमा नदी होइन । समझदारीमा साझा मानिएको हो भने अबको संविधान संशोधन जारी गर्दा ख्याल गर्नुपर्ला, सांसद्गण महोदय, मन्त्रीगण महोदय, राष्ट्रपति महोदय, दलहरुका नेता महोदय अनि आफूलाई नेपालको दिग्गज परराष्ट्र विज्ञ र राष्ट्रवादी ठान्ने र विज्ञ महोदयहरु !
फेरि प्रश्न छ ? के नेपाल र नेपाली सार्वभौम भइ महाकालीसम्म मात्र फैलिएका छन् ? महाकाली पारि दोधारा चाँदनीसम्म नेपाल र नेपाली सार्वभौम छैनन् र ? मैले किल्ला कांङ्गढा सतलजको कुरा गरिरहेको छैन, भन्नुको मतलब हो कम्तीमा राष्ट्रिय गानलाई दोधारा चाँदनीसम्म जोडौं÷सच्याऔं । लिपिम्याधुरा, लिपुलेक र कालापानी पनि जल्दाबल्दा विषय हुन् । नक्सामा त आएको छ । केपी शर्मा ओलीज्यूकै नेतृत्वमा यस खाले नक्सा बने राम्रै भयो । थप गर्नुपर्ने काम त बाँकी नै छन् है । अहिले पनि उहाँकै नेतृत्वमा नेपाली कांग्रेस र एमालेको सरकार चलिरहेको छ । हाम्रो भूभाग नछोडेर सच्याउनु प¥र्याे । विगतमा जसले जाँनेर गल्ती कमजोरी गरेको भए पनि अब सच्याउनु पर्छ, चालु गीत भएन, हुँदै भएन, हुँदै हुन्न । अर्काे गान बनाऊ सरकार ! नक्सा पनि जस्ताको तस्तै बनाऊ सरकार !
२.४ वीरहरुको रगतले स्वतन्त्र र अटल गीतमा उल्लेखित छ । संविधान जारी भएको १० वर्ष बितिसकेका छन् । अब त शान्ति र समृद्धिका योद्धा र वीरहरुको वीरता अदम्य सास, त्याग, बलिदान आदि जस्ता नरम शब्दहरु राखेर राष्ट्रिय गीत सिर्जना र गायन गर्नुपर्छ । अझैँ पनि रगतले भन्न थालियो भने त्यति राम्रो नहोला । बाल मस्तिष्कमा नकारात्मक असर पर्ला, संविधान जारी भएपछि शान्ति वहाली गर्नु सबैको दायित्व हो ।
टी.आर.सी. विधेयक पारित नहुँदा राजनीतिक द्वन्द्व कालमा बेपत्ता पारिएका, हराएका परिवारले शान्ति पाउन सकेका छैनन् । कतै सास आउँछ टुप्लुक्क भनेर आशालु नजरले हेरिरहेका छन् । सास नआए लाश भए पनि प्राप्त भएमा आफ्नो संस्कार विधि र विधानपूर्वक काजक्रिया गरिन्थ्यो भन्ने छ ।
तर राष्ट्रिय गानमा वीरहरुको रगतले स्वतन्त्र र अटल भनेर सर्वत्र गीत गुंजन गरिएको छ, गराइएको छ । स–साना बालबालिकालाई समेत स्कूलहरुमा र अन्य कार्यक्रमहरुमा त्यस्तो रगतको गीत गाउन लगाइएको छ । यो पनि भएन, हुँदै भएन, हटाउनु पर्छ, हुनु पर्छ के त त्यसो भए ? मेरो सुझाव छ, त्यो लाइन नराखे पनि हुन्छ । राख्ने नै हो भने वीरहरुको वीरताले गतिशील र एकताबद्ध राखे हुन्छ ।
४. प्रिय दौंतारीहरुः
तपाईंहरु सिर्जनशील प्रतिभाका धनी हुनुहुन्छ । तपाईंहरुले अत्यन्त राम्रो राष्ट्रिय गान बनाउन सक्नुहुन्छ । बनाउनुहोस् ।
५. नमूनाका रुपमा मैले पनि ढंग नभई नभई एउटा राष्ट्रिय गान कोर्न बाध्य भएँ । त्यो तपाईंलाई शेयर गर्ने अनुमति चाहन्छु ।
चाँदनी, दोधारा, लिपुलेक, लिम्पियाधुरा, कालापानी
श्रीअन्तु, चेवाभञ्ज्याङ चियाउँदैछ, सुस्ता महेशपूरा अंगाली
कोशी, गण्डकी, कर्णाली, तराइबासी, पहाडी, हिमाली
कर्मशील छौं सम्प्रभु नेपाली चन्द्र सूर्य ध्वजा उचाली
मानिस हुँदैन ऊँच र नीच मन्त्रबाट मन्त्रित छौं सबै बराबरी
बहुलता विविधता शिवं बुद्धं हामी प्रकृति पूजारी
जात हाम्रो नेपाली अनेक भाषा संस्कृतिको संगमस्थली
समृद्ध शान्त अनुपम जय जय नेपाल र नेपाली ।
प्रिय मेरा दिलेरी मित्र बिन्ती छ । अनुरोध छ । फेस हेर्नुस्, तर त्यसैबाट मात्र धारण बनाएर कसैको पक्षमा र कसैको विपक्षमा नउभिनुस् । भन्छन् प्रंशसा प्रगतिको बाधक र समालोचना प्रगतिको साधक हो । तर आजकाल त या प्रशंसा पुराण या त गाली पुराण भाग सिर्जित र प्रसारित भएको पाइन्छ ।
निचोडः
भन्छन् गल्ती गर्नु मानवता हो । गल्ती पशु प्रणालीले गर्दैनन् । नेपाली नेताहरुले राम्रा काम जे जे गरेका छन् त्यसको कीतिगान हुन्छ नै । तर जेजे र जहाँ जहाँ जति गल्ती गरेका छन् । भएका छन् । त्यसको कडा टिप्पणी गरिन्छ र हुन्छ नै ।
सार्वभौम भइ फैलिएका मेची महाकाली होइन, हुँदै होइन । यो गानले दोधारा र चाँदनीलाई छोड्यो । महाकाली नदीले छोडे झैं । सुस्ता र महेशपुरालाई नारायणी नदीले छोडे झैं । यसरी नै महेन्द्रका पालामा महेन्द्रले हाम्रो भू–भाग लिम्पियाधुरा, लिपुलेक, कालापानी, गुन्जी, नाभिलाई छोडे झैं हाम्रो राष्ट्रिय गीतले छोडेको छ । गीतले छोडेको हो कि ? संविधान निर्माण गर्नेहरुले छोडेको हो ? वा नेताहरुको होशगुम भएको हो ? होशगुम भएको हो भने पनि सच्याइयोस् ।
अस्तु




