२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बौद्ध पर्यटक आकर्षित गर्ने अभियान

बौद्ध पर्यटक आकर्षित गर्ने अभियान

लुम्बिनीमा पर्यटकको बसाई लम्ब्याउन प्रवद्र्धनका विभिन्न कार्यक्रम गरेर ब्राण्डिङ गर्न लागेका पर्यटन व्यवसायी  विक्रम पाँडेकाजीले यहाँको पर्यटन क्षेत्रमा आशा जगाउने काम गरेका छन् ।

बौद्ध पर्यटक आकर्षित गर्ने अभियान

बौद्ध पर्यटक आकर्षित गर्ने अभियान

लुम्बिनीमा पर्यटकको बसाई लम्ब्याउन प्रवद्र्धनका विभिन्न कार्यक्रम गरेर ब्राण्डिङ गर्न लागेका पर्यटन व्यवसायी  विक्रम पाँडेकाजीले यहाँको पर्यटन क्षेत्रमा आशा जगाउने काम गरेका छन् ।

बौद्ध पर्यटक आकर्षित गर्ने अभियान
केसी दैनिक लुम्बिनी पत्रिकाका सम्पादक हुन्।
आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१

  • बुटवल
    प्राचीन कपिलवस्तु गणराज्यको राजधानी तिलौराकोट दरबारबाट रानी मायादेवी माइती देवदह जाँदै थिइन्, उनलाई बाटैमा सुत्केरी बेथा लाग्यो । उनले लुम्बिनीमा शिशुलाई जन्म दिइन् । माइती हिंडेकी मायादेवी बाटैमा सुत्केरी भएपछि उनलाई तिलौराकोट दरबार फर्काइयो । शिशुलाई काखमा राखेर मायादेवी दरबार भित्रिदा दरबारमा भव्य स्वागत भयो । दरबारमा आमासहित भव्य स्वागत पाउने शिशु थिए, सिद्धार्थ गौतम । तिनै सिद्धार्थ ज्ञानको खोजी गर्न २९ वर्षको उमेरमा दरबारको सुखसयल त्यागे । लामो ध्यान साधनाबाट उनले बुद्धत्व प्राप्त गरे । आज संसारभर बुद्धका लाखौं अनुयायी छन् । जो जीवनमा लुम्बिनी आउन चाहन्छन् ।
    लुम्बिनीमा आउन चाहेका बौद्धमार्गीलाई आकर्षित गर्न पर्यटन व्यवसायी विक्रम पाँडेकाजीले माता मायादेवी सुत्केरी मार्गको अवधारणा अघि सारेका छन् । बौद्ध पर्यटकलाई आकर्षित गरी बसाइँ लम्ब्याउन यो अवधारणा अघि सारेको पाँडेकाजीको भनाइ छ ।
    ‘मायादेवी सुत्केरी भइ शिशुलाई लिएर राजमहल फर्केको बाटो हेर्न र माटो छुन बौद्ध धर्मावलम्बी र शान्तिप्रिय जो कोही भाग्यमानी सम्झिने भएकाले यो अवधारण अघि सारिएको हो ।–उनी भन्छन् । मायादेवी सुत्केरी भएपछि आफ्नै दरबार फर्केको बाटो लुम्बिनी—तिलौराकोट ३७ किमी छ । लुम्बिनी—तिलौराकोट दरबारसम्मको माता मायादेवी सुत्केरी मार्गमा शान्ति पैदलयात्रा  धम्म यात्रा गर्न सकिने उनको भनाइ छ । यो मार्गमा यात्रा गर्ने पर्यटक तीन रात बस्न सक्छन् । ‘एकदिनमा १०÷१२ किमि हिंड्ने हो । त्यसपछि विश्राम गर्दै हिंड्दै अघि बढ्ने हो ।–सुत्केरी मार्गबारे पाँडेकाजी सुनाउँछन् ।
     अहिले यिनै पाँडेकाजीले अघि सारेको अवधारणा कार्यान्वयनको चरणमा प्रवेश गर्ने विन्दुमा पुगेको छ । यो अवधारणा अनुसार काम गर्न सक्दा लुम्बिनीमा पर्यटक आकर्षित गर्न र बसाई लम्ब्याउन सकिन्छ भन्ने बारेमा सरकारी निकाय र दातृ निकाय सकारात्मक देखिएका छन् । भारतमा बौद्ध पर्यटन प्रवद्र्धनका लागि विश्व बैंकले लगानी  गरिरहेको छ । मायादेवी सुत्केरी मार्गको अवधारणालाई कार्यान्वयन गर्न विश्व बैंक सकारात्मक भएको छ । यो मार्गको पूर्वाधार निर्माणमा विश्व बैंकको रुची छ । पर्यटन व्यवसायी पाँडेकाजी पर्यटन प्रवद्र्धनका लागि नयाँ र श्रृजनशिल योजना र रणनीति तयार गर्न खप्पिस छन् । अहिले उनले बुद्ध र लुम्बिनीसँग सम्बन्धित आधा दर्जन प्रवद्र्धनका योजना अघि सारेका छन् ।  यिनै पाँडेकाजीलाई लुम्बिनी विकास कोषले सद्भावना दूत बनाएको छ ।


    पाँडेकाजीले पुरातत्वविद् बसन्त विडारीलाई सोधे,-राजा शुद्धोधन जन्ती लिएर गएको वा मायादेवी सुत्केरी भएर तिलौराकोट दरबार फर्केको  बाटो कुन होला ? विभिन्न सन्दर्भ सामग्री अध्ययन पछि पुरातत्वविद् विडारीले त्यो बाटोको खाका तयार गरे । विडारीले तयार गरेको खाकालाई पाँडेकाजीले नाम राखिदिए,-माता मायादेवी सुत्केरी मार्ग । अहिले उनले सरकारी अधिकारी र राजनैतिक दलका शीर्ष नेतालाई माता मायादेवी सुत्केरी मार्गको महत्वबारेमा बुझाइरहेका छन् ।


    बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकको संख्या अपेक्षित बढ्न नसक्दा मुलुकले लाभ पाउन सकेको छैन । जति आउँछन्, उनीहरुको बसाइ लम्बिन सकेको छैन । भारतका बौद्धस्थल हुँदै आउने पर्यटक लुम्बिनी घुमेर बास बस्न उतै जाने गरेका छन् । पर्यटकको बसाई लम्ब्याउन हामीले कार्यक्रम अघि नसार्दा समस्या भएको उनको ठम्याइ छ । पाँचौ शताब्दीमा चिनियाँ बौद्ध यात्री ह्वेन साङ  यहाँ आएका थिए । उनी बोधगयादेखि श्रावस्ती-पिप्रहवा हुँदै कपिलवस्तु आएका थिए । यही मार्गलाई उनले ह्वेयन साङ मार्ग भनेका छन् । ह्वेयन साङ मार्गको बारेमा भारतीय अध्येता दिपक आनन्दले अध्ययन गरेका छन् । सम्राट अशोक कपिलवस्तु र लुम्बिनी आएको बाटो पनि यही हो । पाँडेकाजी भन्छन्,-लुम्बिनीमा बौद्ध पर्यटक बढाउन ह्वेन साङ मार्गको प्रचार गर्न आवश्यक छ । यो मार्गले नेपाल—भारत दुवै देशलाई फाइदा गर्छ ।
    पूर्णिमा विशेष अवधारणा
    लुम्बिनीमा बुद्ध जन्मेको दिन बैशाख पूर्णिमामा बुद्ध जयन्ती मनाइन्छ । बैशाख पूर्णिमामा लुम्बिनीमा भव्य कार्यक्रम हुन्छ । तर बुद्धसँग सम्बन्धित अरु पूर्णिमामा अहिलेसम्म ओझेल परेकोमा उनले जागृत गर्दैछन् ।


    बुद्ध कन्थक घोडामा चढेर असार पूर्णिमाको मध्यरात तिलौराकोट दरबारबाट ज्ञानको खोजीमा निस्केका थिए । 
    सिद्धार्थ गौतमबुद्ध ज्ञानको खोजीमा निस्केको असार पूर्णिमाको रातलाई उनै पाँडेकाजीको अगुवाईमा विशेष पर्वको रुपमा मनाउन  थालिएको छ । २६१३ वर्षसम्म सिद्धार्थले दरबार छाडेको रातमा कपिलवस्तुमा कुनै कार्यक्रम भएन,२६१४ औं उत्सव मनाएपछि असार पूर्णिमाको रातलाई विशेष बनाउन सकिन्छ भन्ने लागेको उनले बताए । असार पूर्णिमाको रात कन्थक घोडा चढेर सिद्धार्थ गौतम दरबार छाड्दै गरेको दृश्यलाई ब्राण्डिङ गर्न सके आगामी दिनमा पर्यटक बढाउन सकिन्छ ।


    सिद्धार्थ गौतमले दरबार छाडेपछि ६ वर्ष तपस्या गरे । सातौं वर्षमा  बोधगयामा बुद्धत्व प्राप्त गरे । सिद्धार्थले बुद्धत्व प्राप्त गरी घर फर्के, त्यो दिन फागु पूर्णिमामा हो । बुद्ध घर फर्केको दिनलाई पनि विशेष दिन बनाउने अवधारणा उनले अघि सारेका छन् ।
    त्यसैगरी लुम्बिनी-सगरमाथा पिस म्याराथुन नियमित गर्न सक्दा संसारभरको ध्यान केन्द्रित  गर्न सकिने उनको भनाइ छ । लुम्बिनीमा पर्यटक बढाउन चाकरचौडा हुँदै नेपालमा आउने नाका खोल्नुपर्ने उनको सुझाव  छ ।


    एभरेष्ट म्याराथुनले जगाएको आशा
    माओवादी द्वन्द्व उत्कर्षमा थियो, नेपालमा पर्यटक आगमन ह्वात्तै घट्यो । पर्यटक आउन छाडेपछि पर्यटन व्यवसायी निराश भए । कतिपय व्यवसायबाट पलायन भए, कतिपयले लगानी खुम्च्याए । 


    देशमै केही गर्ने आकांक्षा बोकेकाहरु निराश हुँदा सधैं केही गर्ने हुटहुटी बोकेका पर्यटन व्यवसायी पाँडेकाजी चुप लाग्न सकेनन् । उनले एउटा कार्यक्रम अघि सारे,-एभरेष्ट म्याराथुन । यसलाई तेञ्जिङ हिलारी एभरेष्ट म्याराथुन नाम दिइएको छ ।
    प्रत्येक वर्ष मेई १३ १४ तारिख धावक बैकुण्ठ मानन्धरले लुम्बिनीस्थित अखण्ड दीपमा पीस टर्च बालेर सगरमाथा बेस क्याम्प जान्छन् । उनी त्यहाँ पुगेपछि एभरेष्ट म्याराथुन सुरु हुन्छ । ‘अखण्ड दीपमा टर्च बालेर बेसक्याम्प पुगेर म्याराथुन गर्नुको उद्देश्य लुम्बिनी र सगरमाथालाई जोड्नु हो । एभरेष्ट म्याराथुनमा लुम्बिनीको प्रचार गर्नु हो ।’–उनले भने ।


    सन् २००३ मा म्याराथुनको परीक्षण कार्यक्रम भयो । पश्चिमा मुलुकमा म्याराथुन पर्यटनको काम भएको सुनेका र बुझेका पाँडेकाजीले यहाँ पनि गर्न सकिन्छ कि भनेर सुरु गरेको कार्यक्रम अहिले वर्षेनी भइरहेको छ । ‘चारवर्ष लगानी मात्रै भयो, पाँचौ वर्षदेखि राम्रो हुँदै गएको छ । अहिले ३०-३५ देशका व्यक्ति आउँछन् ।’–उनले भने ।
    पाँडेकाजीका भनाइमा, यो १४ रात १५ दिनको ट्रेकिङ हो । जाँदा विस्तारै हिंड्दै घुम्दै सगरमाथा बेस क्याम्प जाने र फर्कदा दौडेर फर्कने हो ।


    सगरमाथाको पर्यटन प्रवद्र्धनमा राम्रो काम गरेकाले लुम्बिनी विकास कोषले उनलाई सद्भावना दूत नियुक्त गरेको हो । अहिले उनी लुम्बिनीमा पर्यटकको बसाइँ लम्बाउने अवधारणा र कार्यक्रम बनाउने, ब्राण्डिङ गर्ने अभियानमा छन् । अहिले बुद्धिष्ट सर्किटस् डट कममार्फत् बौद्ध पर्यटन आकर्षित गर्ने अभियानमा छन्, उनी ।


    कलेज पढ्दापढ्दै यति ट्राभल्समा जागिर गरे उनले । कलेज पढ्दै  पार्टटाइम जागिर गर्दागर्दै उनले पर्यटन क्षेत्रमा करिअर बनाउन लागे । ‘पर्यटन उद्यममा लागेको ४५ वर्ष भएछ,’ उनी भन्छन्–‘मेरो उमेर ७० वर्ष पुग्यो, अब कति गर्न सकिएला, आफूले आर्जन गरेको अनुभव र ज्ञान नयाँ पुस्तालाई दिन पाए मुलुकलाई फाइदै हुन्थ्यो भनेर लुम्बिनीमा पर्यटन प्रवद्र्धनका कार्यक्रम गरिरहेको छु ।’ उनले गरेका कार्यक्रमका लागि सरकारी स्रोत प्रयोग भएको छैन । न त कुनै गैरसरकारी संस्थाको सहयोग छ । पर्यटन व्यवसायबाट कमाएको केही प्रतिशत पैसा नै उनले पर्यटन प्रवद्र्धनका काममा खर्च गरेका छन्  ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij