२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

उहिलेका जिम्वाल–मुखिया, अहिलेका बैंकर !

उहिलेका जिम्वाल–मुखिया, अहिलेका बैंकर !

उहिलेका जिम्वाल–मुखिया, अहिलेका बैंकर !

उहिलेका जिम्वाल–मुखिया, अहिलेका बैंकर !

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  • बैकुण्ठ पाण्डे

    सबै सिर्जना कालजयी हुँदैनन् । हजारौं सिर्जनामध्ये केही मात्र चीरकालसम्म सम्झन लायक हुन्छन् । तिनीहरूले पाठकको मन छोएर मात्र सान्दर्भिक लाग्न सक्छन् । समय सापेक्षता, मार्मिकता र सान्दर्भिकता पनि सापेक्षिक कुरा हुन जुन एक जनालाई निकै राम्रो लागेको कुरा अरुलाई कुरूप र वाहियात लाग्न पनि सक्छ । म राणाकालीन मुखिया हजुरबुबाको नाती भए पनि त्यति बेला प्रयोग हुने शब्दहरू देखि म अनभिज्ञ थिएँ । न मसँग हजुरबाकालिन शान रह्यो न वैभव नै ।तर पनि परिवारमा बेला बेलामा चर्चामा आउने गरेका ‘ठेकी’, ‘बेठी’ र ‘स्याज’ जस्ता शब्दहरूले मलाई आकर्षित गरेको हुनु पर्दछ । अनि म एक राजनीतिक अर्थशास्त्रको विद्यार्थी भएको कारण यो विषयले मलाई अलि बढी छोयो । त्यसकारण मेरो वस्तुगत धरातलको सापेक्षतामा यो ‘साहु’ कविताप्रति म आकर्षित हुन पुगें ।


    आर्थिक क्षेत्रको ज्ञाता नभए पनि वरिष्ठ लेखक तथा पत्रकार अर्जुन ज्ञवाली (तलोत्तमा, रूपन्देही) ले नेपालको बैंकिङ क्षेत्रलाई यति मजाले नियाल्नु भएको रहेछ कि उहाँका शब्द शब्दमा एक कुशल शिल्प झल्किएको पाउन सकिन्छ । त्यो शिल्पले फगत काव्यिक कल्पना जगतमा लालित्यता नथपेर नेपालको राणाकालीकन समाजमा विद्यमान जिम्वाल र मुखिया प्रथादेखि नेपाली समाजमा कसरी परम्परागत बैंकिङ सेवाहरू उपलब्ध हुँदै आएका थिए र तिनीहरूबाट जनतालाई कसरी शोषण भएको थियो भन्ने कुरा निकै मार्मिक प्रस्तुत गरिएको छ । नेपाली बैंकिङ क्षेत्रले परम्परागत बैंकिङ अभ्यासमा नयाँ आयाम थप्दै आफूलाई परिवर्तित रूपमा प्रस्तुत गरिराखेका छन् तर मूलभूत रूपमा शोषणको स्वरूप मात्र परिवर्तन भएको छ भन्ने कुरालाई ज्ञवाली जीको ‘साहु’ कविताले प्रष्ट पारेको छ ।


    करिब १० वर्ष अघि एक स्थानीय संस्थागत स्मारिकामा छापिएको सो कविताको स्क्रिन सट समेत उपलब्ध गराएर मलाई सो कविता आम पाठक समक्ष पु¥याउन सहयोग गर्नु भएकोमा म उहाँप्रति आभार व्यक्त गर्न चाहन्छु ।
    यस्तो छ ‘साहु’ शीर्षकको कविता


    उहिले
    बाजेका पाला
    मेरा बा का पनि पाला
    जुन साहुहरू हुन्थे
    गर गहना राखेर
    घर जग्गा डिक राखेर
    आसामी लाउँथे ।
    त्यसो गर्दा
    त्यस खाले कागज पत्र बनाउँदा
    उनीहरू केही अतिरिक्त पैसा लिन्थे
    त्यसलाई उनीहरू ‘ठेकी’ भन्थे ।
    ती साहुहरू
    आसामीले भाकामा पैसा तिरेन भने
    आसामीसँग त्यस्तै अर्कौ अतिरिक्त पैसा लिन्थे ।
    त्यति खेर रेला-देला पैसा हुँदैनथ्यो


    त्यस कारण
    श्रमको रूपमा अतिरिक्त काम लिन्थे
    त्यसलाई उनीहरू ‘बेठी’ भन्थे ।
    त्यस्तै
    आसामीले भाका रिन तिरेन भने
    ब्याजलाई साउँमा जोड्थे
    अनि
    ब्याजको पनि ब्याज लिन्थे
    त्यसलाई उनीहरू ‘स्याज’ भन्थे ।
    अहिले,
    हाम्रा पाला पनि
    साहूहरू छन् ।
    गर–गहना अडना राखेर
    घरजग्गा डिक राखेर
    आसामी अगाउँछन् ।


    त्यसो गर्दा,
    त्यस खाले कागज बनाउँदा
    यिनीहरू पनि अतिरिक्त पैसा लिन्छन् ।
    फरक यत्ति हो कि
    यिनीहरू ‘ठेकी’ भनेर होइन
    सेवा शुल्क भनेर लिन्छन् ।
    आजका साहूहरू पनि
    आसामीले मौकामा पैसा तिरेन भने
    आसामीसँग त्यस्तै अर्कौ अतिरिक्त पैसा लिन्छन् ।
    रेला-देला पैसा छन्
    त्यस कारण
    यिनीहरूश्रमको ‘बेठी’ नलिएर
    नगदै ‘हर्जना’ लिन्छन्


    त्यस्तै,
    आजका साहूहरू पनि
    आसामीले मौकामा रिन तिर्न सकेन भने
    ब्याजलाई साउँमा जोड्छन्
    अनि ब्याजको पनि ब्याज लिन्छन् ।
    फरक यत्ति हो कि
    उनीहरू ब्याजको व्याजलाई स्याज भन्थे
    यिनीहरू चाहीँ पुँजीकरण भन्छन् ।

    कूल मिलाएर भन्नु पर्दा यत्ति फरक हो कि
    उतिखेरका–
    ‘ठेकी’ लिने
    ‘बेठी’ लिने
    ब्याजको स्याज लिने साहूहरू
    फटाहा मानिन्थ्ये, दुर्जन मानिन्थे ।
    अहिलेका —
    ‘ठेकी’को सट्टा सेवा शुल्क लिने
    ‘बेठी’को सट्टा हर्जना लिने
    स्याजको सट्टा पूँजीकरण गर्ने साहुहरू
    सभ्य, सज्जन ‘बैंकर्स’ मानिन्छन् ।
    समीक्षा
    वर्तमान भूमण्डलीकृत विश्वमा वित्तीय पुँजीले विश्वलाई आफ्नो प्रभावमा पारिराखेको छ । नवउदारवादले विश्वमा वस्तु उत्पादनबाट भन्दा पनि वित्तीय पुँजीको अत्यधिक प्रयोगबाट नाफा केन्द्रित गर्ने, त्यो नाफाबाट नीतिगत रूपमा राजनीतिलाई आफ्नो नियन्त्रणमा राख्ने र त्यो गर्ने वैधानिक साधनको रूपमा बैंकिङ क्षेत्रलाई प्रयोग गर्ने नीति व्यापक रूपमा प्रयोग भइराखेको छ ।
    यसको निम्ति आईएमएफ र वल्र्डबैंकलाई अगाडि सारिएको छ । असमानता मापक संस्था ‘अक्सफाम’ को पछिल्लो रिपोर्टअनुसार विश्वका ५ जना धनाढ्यको सम्पत्ति विगत २ वर्षमा ६१ करोड डलरबाट बढेर १३० करोड डलर पुगेको छ । उता विगत २ वर्षमा ८० करोड कामदारको आम्दानी २३० करोड डलरले घट्न पुगेको छ ।


    ३ जना धनाढ्य अष्ट्रेलियनहरूको आम्दानी प्रतिघण्टा १५ लाख डलर छ भने ५० लाख मानिसहरू कठीन आर्थिक संकटबाट गुज्रिरहेका छन् । अतः वित्तीय पुँजीवादले निम्त्याउने भनेको गरिबी र असमानता नै हो । यो अवस्था नेपालमा पनि छ । विकृत पुँजीवाद र त्यसले निम्त्याउने क्रोनि क्यापिटलिजम र दलाल पुँजीवादले नेपालको नीति निर्माण तहसम्म कति बलियो प्रभाव पारेको रहेछ भन्ने कुरा विद्युत महसुलकाण्ड, यति, ओम्निलगायतका काण्डहरूबाट प्रष्ट हुन्छ ।संरचनागत रूपमा बैंकिङ क्षेत्रलाई प्रशस्त नाफामा लैजान सकिने गरी नीति नियम र निर्देशनहरू संसारभरी नै जारी गरिन्छ । जनताको बचतबाट चल्ने भएको कारण बैंकहरू सुरक्षित रहनु पर्छ नै त्यहाँसम्म त ठीक छ तर बचतकर्ता वा ऋणीको आर्थिक रूपान्तरणमा भयो । कि बैंकहरूको मात्र भयो भन्ने प्रश्न निकै पेचिलो बनेको छ । बैंकिङ क्षेत्रको साथै उत्पादनमुलक क्षेत्र हुँदै समग्र अर्थतन्त्रको आर्थिक वृद्धिले समग्र अर्थतन्त्रमा सकारात्मक भाव सम्प्रेषण गर्दछ ।


    अत्यधिक बैंकहरू र केही सीमित व्यापारिक घरानाहरूको मात्र उत्थानबाट नेपालमा नवपुँजीवादले दह्रो जरा गाडेको संकेत मिल्दछ । तर यहाँ नेर सम्झनु पर्ने कुरा के छ भने नेपाल एक समाजवाद उन्मुख देश हो । जबकी नवउदारवाद र समाजवाद उन्मुखताबीच कहीँ कतै मिलन बिन्दु देखिँदैन ।


    प्रस्तुत कविताले नेपालका आधुनिक बैंकहरू राणाकालीन साहूकारहरूको पछिल्लो संस्करण हो भनेको छ । मुखिया र जिमुवालहरू राणा सरकारका कर संकलक थिए । तर उनीहरूले जनताबाट तोकिए बमोजिमका कर उठाएर सरकारमा दाखिला गरेवापत निश्चित पारिश्रमिक तोकिनुको कारण उनीहरू धनाढ्यमा रूपान्तरण हुँदै गए । आफ्नो नगद रकम जनतालाई सापटी दिए बापत ठेकी, बेठी, ब्याज र स्याज उठाउँदै जाँदा जिमुवाल र मुखियाहरूको आर्थिक हैसियत निकै माथि हुन पुग्यो भने गरिब जनताहरू झन्झन् गरिब हुँदै गए । यसैकारण राणाशासन निकै अलोकप्रिय भयो ।


    तर, त्यसरी नै कर्जा सापटी दिए बापत ठेकी, बेठी र स्याज (सेवा शुल्क, हर्जाना, पुँजीकरण) खाने आधुनिक बैंकहरू कसरी सज्जन भए भन्ने प्रश्न ज्ञवाली जी को हो । यसको जवाफ त नेपाल राष्ट्र बैंक र नीति निर्माताहरूले नै दिन सक्लान् तर यो विश्वव्यापी आधुनिक बैंकिङ प्रणालीसँग जोडिएर आएको विषय हो ।एक सामान्य नागरिकले पनि शोषणको नयाँ स्वरूपको रूपमा प्रश्न उठाउन सक्ने गरी बनेको बैंकिङ तथा वित्तिय संरचनालाई अझ बढी रोजगारी, व्यवसाय विस्तार, उत्पादनमा प्रोत्साहन, तालिम तथा अनुसन्धानतर्फ उन्मुख गर्न सकियो भने कालान्तरमा यस्ता प्रश्नहरूले स्वतः जवाफ पाउने छन् भन्न सकिन्छ ।
    (त्रिभूवन विश्वविद्यालयका उप–प्राध्यापक बैकुण्ठ पाण्डे राजनीतिक अर्थशास्त्रमा विद्यावारिधी गरिरहेका छन् ।)

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij